नेपालगन्जलाई देशकै उत्कृष्ट नगर बनाउनेछौं «

नेपालगन्जलाई देशकै उत्कृष्ट नगर बनाउनेछौं

२० वर्षको अन्तरालपछि भएको स्थानीय निर्वाचनमा विजयी भएर डा. धवलशमशेर राणाले एकपटक पुनः नेपालगन्ज उपमहानगरपालिकाको मेयर बन्ने अवसर पाएका छन् । २० वर्षअघि २०५४ सालमा भएको निर्वाचनमा उनी नेपालगन्ज नगरपालिकाको मेयर निर्वाचित भएका थिए । त्यतिबेला र अहिले दुईवटा मात्र फरक छन् । २० वर्षअघि उनी एमालेबाट मेयरमा निर्वाचित भएका थिए भने अहिले उनी राप्रपाबाट निर्वाचित भएका हुन् । त्यति बेला उनी नगरपालिकाका मेयर बनेका थिए भने अहिले उपमहानगरपालिकाका मेयर बनेका छन् । जनप्रतिनिधिको अभावमा नगरहरूको विकास हुन नसकेको बताउने उनी २० वर्षअघि छोडेकै ठाउँबाट नेपालगन्जको विकास सुरु गरेको बताउँछन् । नेपालगन्जलाई नेपालकै उत्कृष्ट नमुना सहर बनाउने प्रतिबद्धताका साथ निर्वाचनमा विजयी बनेका मेयर राणा सोही उद्देश्यका साथ काम गरिरहेको बताउँछन् । उनले आफ्नो कार्यकालमा नेपालगन्जलाई उत्कृष्ट नगरका रूपमा विकास गर्ने आफ्नो प्रमुख प्राथमिकता रहेको जनाएका छन् । पहिलो नगरपरिषद्ले सोतर्फ काम सुरु पनि गरिसकेको बताउने पश्चिम नेपालकै सबैभन्दा ठूलो सहर नेपालगन्ज उपमहानगरका मेयर डा. धवलशमशेर राणासँग कारोबारका नेपालगन्जस्थित संवाददाताले गरेको कुराकानीको सार:

मेयरका रूपमा तपाईंका प्राथमिकता के–के हुन् ?
नेपालगन्ज यस क्षेत्रकै सबैभन्दा ठूलो र पुरानो ऐतिहासिक नगर हो । यो नगरले बर्षौ  देखि पश्चिम नेपालको शिक्षा, स्वास्थ्यलगायतका सबै आवश्यकता पूरा गर्दै आएको छ, तर यो नगरको अवस्थामा भने कुनै खासै फरक आउन सकेको छैन । यहाँ विकासका धेरै सम्भावना भए पनि यो नगरको विकास राम्रो तरिकाले हुन सकेको छैन । २० वर्षअघि म यो नगरको मेयर हुँदा मैले नै धेरै विकास–निर्माणको सुरुवात गरेको थिएँ । तर, त्यसपछि निर्वाचन नहुँदा ती विकास–निर्माणका योजनाहरू अगाडि बढ्न सकेनन् । बर्षौदेखि विकास–निर्माणमा पछाडि परेको यो नगरको विकासलाई अगाडि बढाउने मेरो पहिलो प्राथमिकता हुनेछ । नगरका अधिकांश भित्री सडक जीर्ण रहेकाले ती सडकको पुनर्निर्माण र मर्मत–सम्भार, नगरको सरसफाइ, विभिन्न पार्क निर्माण, भौतिक संरचना निर्माण र सुशासन मेरो प्राथमिकतामा छन् ।

नेपालगन्जलाई कस्तो उपमहानगर बनाउने तपाईंको योजना छ ?
नेपालगन्ज वर्षौंदेखि यस क्षेत्रको प्रमुख केन्द्र हो । यस नगरलाई सोही रूपमा विकसित गरेर लैजाने मेरो योजना छ । यो सहरलाई व्यवस्थित र विस्तार गर्न ठूलो चुनौती थियो, तर नगरवासीको सहयोगमा नगरका विभिन्न स्थानको विस्तारको काम अगाडि बढेको छ भने विकासका योजनाहरू पनि टेन्डर प्रक्रियामा पुगेका छन् । मलगायत उपमहानगरका जनप्रतिनिधिहरू निर्वाचित भएको धेरै समय बितेको छैन, तर पनि विकास–निर्माणका प्रक्रियाहरू अगाडि बढेका छन् । नगरका विभिन्न भित्री सडक र गल्लीहरूको पुनर्निर्माण तथा नालाहरूको निर्माणका लागि टेन्डर आह्वान गरिएको छ । अबको केही महिनाभित्र नगरका धेरै भित्री गल्लीहरू व्यवस्थित हुनेछन् । अधिकांश क्षेत्रमा पानी जम्ने समस्या समाधान हुनेछ । सदरलाइन विस्तारदेखि बसपार्क रोडलगायत नगरका अन्य सडकहरू फराकिला पारिँदै छन् । ती सबै काम पूरा भए भने साँच्चिकै नेपालगन्जको मुहार फेरिनेछ । मेरो र मसँगै निर्वाचित भएका सबै जनप्रतिनिधको एउटै चाहना छ, नेपालगन्जलाई देशकै नमुना र उत्कृष्ट नगर बनाउने । हामी सोही दिशातर्फ अगाडि बढिरहेका छौं ।

यो सहरको विकास–निर्माण , सरसफाइ र ट्राफिक व्यवस्थापनमा निकै चुनौतीहरू छन् भनिन्छ नि ?
यो सहर नेपालकै एक सबैभन्दा पुरानो र ऐतिहासिक सहर हो । यसको विकास क्रमशः आवश्यकताअनुसार आफै अगाडि बढेको देखिन्छ । कुनै ठोस प्लानिङ गरेर यो नगर बनाइएको होइन, त्यसैले यहाँको विकास निर्माण, सरसफाइ र ट्राफिक व्यवस्थापन आफैंमा ठूलो चुनौती छ । विगतमा भएको द्वन्द्व र बढ्दै गएको सहरी मोहका कारण पछिल्ला केही वर्षमा धेरै ठूलो संख्यामा बसाइँसराइ गरेर विभिन्न जिल्लाबाट मानिसहरू यहाँ आएका छन् । सोही कारणले नेपालगन्जको जनसंख्या छोटो समयमा धेरै वृद्धि भएको छ । छोटो समयमै जनघनत्व धेरै वृद्धि भएका कारण धेरै ठाउँको विकास–निर्माण एकै पटक गर्नुपर्ने अवस्था आएकाले पनि सो कार्य चुनौतीपूर्ण बनेको छ । अर्कातर्फ २० वर्षभन्दा बढी समयसम्म जनप्रतिनिधि नहुँदा नगरको विकास नै हुन नसक्दा पनि एकैपटक जनआकांक्षा धेरै भएकाले पनि चुनौती धेरै बढेको छ । जनप्रतिनिधिको अभावमा सरसफाइमा पनि निकै प्रभाव परेको थियो । नगरवासीलाई सरसफाइमा सहभागी गराउन नसक्दा फोहोर व्यवस्थापन सबैभन्दा ठूलो समस्या बनेको थियो । यस्तै सडकपेटी मिचेर पसल लगाउने, जहाँ पायो त्यहाँ सवारी साधन पार्किङ गर्ने र साँघुरो सडकमा समेत वन वेको व्यवस्था नहुँदा ट्राफिक व्यवस्थापन झनै ठूलो चुनौती बनेको थियो । तर, हामीहरू विजयी भएर आएपछि यी सबै समस्या समाधानका लागि धेरै पहल र सकारात्मक सुरुवातहरू भएका छन् । अब बिस्तारै सबै कुरा लाइनमा आउनेछन् ।

देश संघीयतामा गएपछि नेपालगन्जको महत्व कम हुँदै गएको छ भन्नेहरूसँग कत्तिको सहमत हुनुहुन्छ ?
म त्यो भनाइसँग अलिकति पनि सहमत छैन । यो नगर मध्यपश्चिम र सुदूरपश्चिमको प्रमुख सहर हो । यसलाई कसैले नकार्न सक्दैन । केही समययता आएर नेपालगन्जले शिक्षा, स्वास्थ्य र पर्यटनको क्षेत्रमा ठूलो फड्को मारेको छ । मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटक आगमनको कारणले यो नगर पर्यटनको हब बन्दै गएको छ । त्यसैले यहाँ धेरै ठूला–ठूला होटल सञ्चालनमा आइसकेका छन् भने केही अन्य होटल पनि निर्माणाधीन छन् । शिक्षातर्फ कुरा गर्दा यहाँ धेरै स्कुल–कलेज सञ्चालनमा आइसकेका छन् भने केही ठूला कलेजहरू खुल्ने क्रममा छन् । स्वास्थ्यको क्षेत्रमा पनि सुदूर र मध्यपश्चिम दुवै क्षेत्रका सबैभन्दा ठूला र विशेषज्ञसहितका अस्पतालहरू नेपालगन्जमै छन् । त्यसैले संघीयतामा गएपछि नेपालगन्जको महत्व घटेको छैन, बरु बढेकै छ, अहिले त यो नगर प्रदेश नम्बर ५, ६ र ७ को प्रमुख नगर बनेको छ । तर, नेपालगन्जलाई प्रादेशिक राजधानी वा आर्थिक केन्द्र बनाउने विषयमा भने यो सहरप्रति केही अन्याय भएको छ । सबै राम्रा र आवश्यक पूर्वाधारहरू यहाँ हुँदाहुँदै पनि यसलाई राजधानी नबनाइनु यो सहरप्रति ठूलो अन्याय हो । शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग र व्यापार गरी पाँचवटा कुरामा जोड दिएर यो सहरको विकास गर्नेतर्फ मेरो विशेष ध्यान केन्द्रित हुनेछ । नेपालगन्जलाई एक समृद्ध आर्थिक महानगर बनाउनेतर्फ हामीले उद्योग वाणिज्य संघसँग मिलेर काम गर्नेछौं ।

पर्यटकीय दृष्टिकोणले नेपालगन्ज धेरै पछाडि छ नि ?
यो नगर यस क्षेत्रकै सबैभन्दा ठूलो नगर भए पनि पर्यटकीय हिसाबले अरूभन्दा अहिले यो पछाडि नै छ । यसमा म सहमत छु । तर, मैले नै २० वर्षअघि नेपालगन्जमा वाटरपार्क, रानीतलाउ, महेन्द्र पार्क, चिडियाघरजस्ता पर्यटकीय केन्द्र बनाएको थिएँ । त्यति बेला रानीतलाउ र चिडियाघर निकै लोकप्रिय पनि थिए । तर, हामीले छाडेपछि सबै भताभुंग भयो । २० वर्ष कर्मचारीले स्थानीय निकाय सञ्चालन गर्दा उनीहरूको बेवास्ताका कारण नगरमा रहेका करिब–करिब सबै पर्यटकीय क्षेत्र जीर्ण बने । मर्मत–सम्भार र सञ्चालनमा पटक्कै ध्यान दिइएन । अब फेरि मलगायत हामी आएका छौं, यी सबैलाई तीन–चार महिनाभित्रमा पूर्ण रूपमा सञ्चालनमा ल्याउँछु । अहिले दुईवटा ठूल्ठूला वाटरपार्क बनाइरहेको छु । यो दुवै एक वर्षभित्रै सञ्चालनमा आउनेछन् । नेपालगन्जलाई बालमैत्री नगर बनाउन धेरै ठाउँमा बालउद्यानहरू निर्माण गरिनेछन् । यस्तै अन्य थुप्रै मनोरञ्जनस्थल पनि बनाउने मेरो योजना छ ।

बसपार्क निर्माण सुस्त गतिमा छ भने ल्यान्डफिल साइट निर्माणको पनि त्यही हालत छ, अधिकांश सडक जीर्ण छन्, काम कहिले सुरु हुन्छ ?
हो, बसपार्कको काम हामीले सोचे र योजना गरेजति अगाडि बढ्न सकेको छैन । अब म यसमा आफैं कस्सिएर लागेको छु । ठेकेदारलाई फकाउने हो, धम्क्याउने हो, जे गरेर भए पनि आठ–नौ महिनामा काम पूरा गराउने मेरो योजना छ । हामीले धेरै प्रयास गर्दा पनि निर्धारित समयमा काम पूरा नभएकोमा दुःख लागेको छ । एकातिर फोहोर फाल्ने ठाउँ नभएरै नगरको फेहोर व्यवस्थापनमा ठूलो समस्या देखिएको छ भने अर्कातिर विभिन्न कारणले ल्यान्डफिल साइटको काम पनि पटक–पटक अवरुद्ध हुने गरेको छ । सो कामलाई पनि तीव्र पार्न लगाउनेछु । रह्यो जीर्ण सडकको कुरा, यसपटक नगरका धेरै सडक मर्मत–सुधार र पुनर्निर्माण हुन गइरहेका छन् । केही दिनपछि धमाधम सडक निर्माण र मर्मत–सम्भारको काम सुरु हुँदै छ । सडक विस्तारका लागि मिचेर बनाइएका घर भत्काउने काम भइरहेको छ । न्युरोड र सदरलाइनको सडक निर्माण अबको केही समयभित्रै सुरु हुनेछ । यसका साथसाथै नगरका अधिकांश भित्री गल्ली र सडक निर्माणको टेन्डर प्रक्रिया शुरु भइसकेकाले पनि छिटै निर्माण प्रक्रियामा जाने निश्चित छ । अबको केही वर्षभित्र साँच्चिकै नेपालगन्ज धेरै तरिकाले फेरिनेछ ।

तपाईं स्थानीय सरकारको प्रमुख पनि भएकाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा के गर्ने योजना छ ?
अहिलेको स्थानीय तह नै स्थानीय सरकार पनि भएकाले स्थानीय तहमाथि धेरै जिम्मेवारी थपिएका छन् । पहिले हामी विकास–निर्माणमा मात्र बढी केन्द्रित हुने गरेका थियौं भने अहिले त स्थानीय तह सरकार पनि भएकाले सबै काम यहींबाट गर्नुपर्ने व्यवस्था छ । त्यसैले सबै कुराको चाँजोपाँजो मिलाउनुपर्ने हुँदा पनि स्थानीय तहले तीव्र रूपमा काम गर्न समस्या छ । हामीले धेरै कुरा मिलाइसकेका छौं । एकातिर विकास–निर्माण, सरसफाइ र अन्य भौतिक पूर्वाधार निर्माणमा हाम्रो ध्यान केन्द्रित छ भने अर्कातिर यो उपमहानगरलाई यस क्षेत्रकै प्रमुख शैक्षिक, स्वास्थ्य तथा आर्थिक हब बनाउने हाम्रो लक्ष्य छ । नगरभित्र रहेका शैक्षिक निकाय, अस्पतालहरू र विभिन्न उद्योगलाई फस्टाउने, उनीहरूको स्तरोन्नति गर्ने र ती सबैबाट बढीभन्दा बढी जनताले फाइदा लिन सकून् भन्ने मनसायका साथ विभिन्न योजनाहरू बनाइएको छ ।

यस क्षेत्रकै सबैभन्दा ठूलो राँझा विमानस्थलको स्तरोन्नतिका लागि के योजना छन् ?
यो प्रश्न धेरै गम्भीर र महत्वपूर्ण छ । नेपालगन्जस्थित विमानस्थलले बर्षौ देखि मध्य र सुदूरपश्चिमलाई जोड्ने काम गर्दै आएको छ । पछिल्लो समयमा आएर यहाँ ठूला–ठूला जहाज आउन थालेका छन् । पहाडी र हिमाली जिल्लाका लागि पनि उडानहरू बढ्दै गएका छन् । त्यसमा झनै मानसरोवर जाने भारतीय धार्मिक पर्यटकले त यो विमानस्थललाई निकै व्यस्त बनाइदिएको छ । जहाज, उडान र यात्रु सबैमा अत्यधिक वृद्धि भए पनि विमानस्थल भने पुरानै अवस्थाको छ । यसैले यो विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने माग हामीले वर्षांैदेखि गर्दै आएका हौं । यसको स्तरोन्नति गर्नु अति आवश्यक छ । जहाज र यात्रुको चाप बढ्दै गएकाले हालको पूर्वाधारले थेग्न सक्ने अवस्था अब छैन । विमानस्थलको स्तरोन्नतिलाई उपमहानगरले आफ्नो योजनामा समावेश गरेको छ, तर त्यसका लागि केन्द्रीय सरकार र अन्य दातृ निकायको पनि सहयोग उत्तिकै आवश्यक छ । हामीले सहयोग प्राप्तिका लागि पनि पहल गरिरहेका छौं ।

तपार्इंको कार्यकाल सकिँदा पाँच वर्षपछि कस्तो नेपालगन्ज बनाएर छोड्ने परिकल्पना गर्नुभएको छ ?
नेपालगन्जलाई देशकै सबैभन्दा उत्कृष्ट, व्यवस्थित, शान्त र सुन्दर सहर बनाउने हाम्रो परिकल्पना छ । त्यसका साथै आर्थिक दृष्टिले पनि यो सहरलाई यस क्षेत्रकै प्रमुख केन्द्र बनाउने हाम्रो योजना छ । हरियो, सफा र व्यवस्थित सहर बनाएर पाँच वर्षपछि आउने अर्को स्थानीय सरकारलाई नेपालगन्ज जिम्मा लगाउने सोच हामीले बनाएका छौं । त्यसका लागि यहाँका सबै बुद्धिजीवी, नगरवासी, पत्रकार, उद्योगी व्यवसायी, राजनीतिक दल, सांसद तथा अन्य स्वदेशी-विदेशी दातृ निकायको सहयोगको अपेक्षा पनि गरेका छौं ।

 

प्रतिक्रिया दिनुहोस्