३८ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरण

पूर्वएआईजी गोविन्द निरौलासहित ४८ जनाले पाए सफाइ
विराटनगर-सुन तस्करी र मोरङको उर्लाबारीका युवाका सनम शाक्य हत्याकाण्डमा चूडामणि उप्रेती (गोरे)सहित ६ जनालाई जिल्ला अदालत मोरङले जन्मकैदको फैसला सुनाएको छ ।
त्यस्तै नेपाल प्रहरीका पूर्वएआईजी गोविन्द निरौलासहित प्रहरी अधिकारीहरुले सफाई पाएका छन् । शाक्य हत्या र ३८ क्वीन्टल सुन तस्करी प्रकरणबारे जिल्ला अदालत मोरङले मंगलबार फैसला सुनाएको छ ।जिल्ला अदालत मोरङमा २०७५ वैशाख १९ गते ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर गरेको थियो । मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार ५६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी छ ।
अदालतले दिएको फैसला अनुसार सुन तस्करीमा संलग्न भनिएका ४८ जनाले सफाइ पाएका छन् भने ८ जनालाई दोषी ठहर गरिएको छ । अपहरण तथा शरीर बन्धकमा पनि गोरे मात्र दोषी ठहर भएका छन् । अन्यले सफाइ पाएका छन् ।हत्यामा जन्मकैद पाउनेहरूमा गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । थप दुई जनालाई तीन वर्ष र ६ महिना कैद सजाय सुनाइएको अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए ।
हत्या र तस्करीको आरोपमा ७७ जना प्रतिवादीमध्ये पक्राउ परेका ८ जनालाई मात्रै दोषी ठहर गरिएको र फरार २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ ।सफाइ पाउने प्रहरी अधिकारीमा पूर्वएआईजी गोविन्दनिरौला, एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल छन् ।त्यस्तै, प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाएका छन् ।
गोरेको समूहले दुबईबाट तस्करी गरेर २०७४ साल माघ ९ गते साढे ३३ किलो सुन काठमाडौं ल्याएकोमा उक्त सुन गायब भएपछि त्यसको खोजी गर्ने क्रममा २०७४ फागुन १८ गते सनमको हत्या भएको थियो । सुन तस्करको भरिया रहेका सनमको हत्यामा गोरेको प्रत्यक्ष संलग्नता रहेको भिडियो पनि सार्वजनिक भएको थियो ।हत्यापछि भारततर्फ सनको शव लैजाने प्रयास गरिरहेको अवस्थामा प्रहरीले विराटनगरबाट बा १२ च ५९६३ नम्बरको स्कोरपिओमा शव बरामद गरेको थियो । त्यतिबेला गोरका चालक एवं सहयोगीहरू मोहन काफ्ले, टेकराज मल्ल ठकुरी तथा कृष्ण भनिने नरेन्द्र कार्की पक्राउ गरेका थिए । सो प्रकरणको अनुसन्धान गर्ने क्रममा प्रहरीले विभिन्न मितिमा ३८ क्विन्टल सुन तस्करी भएको तथ्य फेला पारेको थियो ।