Logo

स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्न पुनः आह्वान

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोरोनाको जोखिम कायमै रहेको उल्लेख गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्न नागरिकहरूलाई पुनः आह्वान गरेको छ ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले रुपन्देहीमा कोरोनाको जोखिम कायमै रहेको भन्दै त्यसबाट बच्नका लागि स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णपालना गर्न सबै नागरिकलाई पुनः आह्वान गरेका हुन् । २ दिनअघि भारतसँग जोडिएको बेलहिया सीमा नाका सूचारु भएसँगै कोरोनाको जोखिम झनै बढेर जाने देखिएपछि स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी त्यसको जोखिमबाट बच्न नागरिकलाई आह्वान गरेको छ ।
प्रमुख जिल्ला अधिकारी तिवारीले भने, ‘नेपाल सरकारको निर्णय बमोजिम अन्तर्राष्ट्रिय सीमा नाका खोली सकेको अवस्था छ । सीमा नाका खुलेपछि यात्रुहरूको आवातजावत बढेको अवस्था छ । र रुपन्देही जिल्लामा कोरोना जोखिमको अवस्था अहिले पनि कायमै रहेको अवस्था छ । दैनिक २५ देखि ४० जना संक्रमितहरूको संख्या बढि रहेको छ भने सोही अनुपातमा निको हुनेहरूको संख्या पनि रहेको छ । यो जोखिमलाई काम गर्नका लागि हामीले सीमा नाकाहरूमा स्वास्थ्य जाँचको समेत व्यवस्था गरेका छौं । र सबै नागरिकलाई यसबाट बच्न स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न पनि आह्वान गरिएको छ ।’
यता स्थानीय व्यवसायीहरूले भने बेलहिया सीमा नाका खुलेसँगै आफूहरूको व्यवसाय बढेर जाने विश्वास व्यक्त गरेका छन् । स्थानीय पर्यटन व्यवसायी रवी पौडेलले सीमा नाका खुलेसँगै भारतीय पर्यटकहरूको चहल पहल सुरु भएको भन्दै त्यसले आफूहरूको व्यवसायलाई अघि बढाउन राहत दिएको प्रतिक्रिया दिए । स्थानीय व्यापारीहरूले सीमा नाका खुलेपछि आफूहरूको व्यापार राम्रो भएर जाने अपेक्षा गर्दै तस्करी नियन्त्रण गर्न भने सरकारसँग माग गरेका छन् ।
सरकारले २ दिन अघि सीमा नाका खुलाउने औपचारिक निर्णय गरेसँगै रुपन्देही बेलहिया नाका पनि खुलेको हो । सो नाका खुलेपछि त्यहाँका स्थानीय व्यापारीहरूले कोरोनाले थला पारेको आफूहरूको व्यवसाय अव फष्टायर जाने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्