यु–१३ फुटबल युथ एकेडेमी स्थापना «

यु–१३ फुटबल युथ एकेडेमी स्थापना

Football.

नेपाली सेनाको विभागीय टीम त्रिभुवन आर्मी क्लब मातहत १३ वर्षमुनिका खेलाडी संलग्न रहने (यु–१३) फुटबल युथ एकेडेमी स्थापना भएको छ ।
प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा खेलाडीलाई फुटबल हस्तान्तरण गरी सेनाको पहिलो युथ एकेडेमी सञ्चालनमा आएको घोषणा गरे । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा सो एकेडेमी सञ्चालनमा आएको हो ।
त्रिभुवन आर्मी क्लबले एएफसी क्लब लाइसेन्स लिएपछि तेह्र वर्षमुनि र १८ वर्षमुनिका खेलाडीको टिम क्लब मातहत रहनुपर्ने प्रावधानअनुसार एकेडेमी स्थापना गरिएको हो । एकेडेमी स्थापना हुनुअघि मुलुकभरबाट पहिलो चरणमा १६६, दोस्रो चरणमा ७२ र तेस्रो चरणमा ४२ जना युथ खेलाडी छनोट गरिएको थियो । छनोट भएका ती खेलाडीलाई सुरक्षा निकायका तीन विभागीय टोलीमा १४–१४ जनाका दरले गोलाप्रथाद्वारा विभाजन गरिएको थियो । सेनाले १४ मध्ये अतिविपन्न युथ खेलाडीलाई सैनिक महाविद्यालयमा अध्यानार्थ पूरा छात्रवृत्ति प्रदान गरेको छ ।
त्रिभुवन आर्मी क्लबले खेलाडी उत्पादन गर्ने मुख्य स्रोतको रूपमा रहेको एकेडेमीलाई पूर्णता दिन देशभरका सैनिक विद्यालयबाट उत्कृृष्ट १५० खेलाडी एकीकृत गराई त्यसमध्येबाट ११ जना खेलाडी छनोट गरेको थियो । सेनाले अघिल्लो छनोटमा परेका १४ र पछि छानिएका ११ समेत गरी २५ युथलाई भदौ २७ गतेबाट प्रशिक्षण दिँदै आएको छ ।
एकेडेमी स्थापनाका अवसरमा आयोजित (अण्डर–१३) मैत्रीपूर्ण फुटबलमा नेपाली सेनाका उपसेनानी भरत खवासको कप्तानीमा सेतो–हरियो जर्सीमा रहेको टिमले सहसेनानी जर्ज प्रिन्स कार्कीको नेतृत्वमा सेतो–निलो जर्सीमा रहेको फुटबल टिमलाई शून्यका विरुद्ध एक गोलले पराजित ग-यो ।

कप्तान खवास टिमका १५ नम्बर जर्सीमा रहेका दक्ष लामाले प्रहार गरेको बललाई निकेश श्रेष्ठले रोक्ने क्रममा आत्मघाती गोल भएको थियो । सो अवसरमा खेलाडीलाई एन्फाद्वारा उपलब्ध गराइएको खेल सामग्री हस्तान्तरण गरियो । एकेडेमी घोषणा कार्यक्रममा प्रधानसेनापति शर्माले विलक्षणयुक्त प्रतिभावान खेलाडीद्वारा भएको खेल प्रदर्शनीबाट आफू ज्यादै प्रभावित भएको बताए ।
नेपाली सेना सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख एवं महासेनानी शशिकिरण रायमाझीले मुलुकको खेलकुद क्षेत्रको विकास र विस्तार गर्ने हेतुले तहगतरुपमा क्षमतावान र उत्कृष्ट खेलाडी तयार गर्ने क्रममा एकेडेमीको स्थापना भएको जानकारी दिए । प्रधानसेनापति शर्माको कमाण्ड मार्ग निर्देशनमा युथ एकेडेमी शीघ्र सञ्चालनमा घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्