बजारमा तरलता अभावको दोहोरिइरहने चक्र «

बजारमा तरलता अभावको दोहोरिइरहने चक्र

राष्ट्र बैंकले अन्य मौद्रिक औजारमार्फत पनि बजारमा तरलता बढाउन आवश्यक छ ।

नेपालका बैंक तथा वित्तीय संस्थामा तरलता अभाव दोहोरिइरहने गरेको छ । हरेक वर्ष कुनै न कुनै त्रैमासमा तरलता अभाव देखिने गरेको धेरै वर्ष भइसकेको छ । यसरी नियमित रूपमा तरलता अभाव देखिन थालेपछि नेपाल राष्ट्र बैंकले पनि यसका लागि समाधानको उपाय गर्नुपर्ने हो । हुन त राष्ट्र बैंकले पछिल्ला साताहरूमा नियमित रिपो जारी गरेर भए पनि तत्कालका लागि तरलता अभाव हुन नदिने कोसिस गरिरहेको छ । तर, रिपो जारी गरेर राष्ट्र बैंकले अल्पकालीन रूपमा बैंक तथा वित्तीय संस्थामा तरलता अभाव हुन नदिने कोसिस गर्दागर्दै पनि यसले बैंक तथा वित्तीय संस्थालाई सहजतापूर्वक कर्जा विस्तार गर्न मद्दत गर्न भने सकेको छैन । कोरोना कहरका कारण शिथिल भएको अर्थतन्त्र बिस्तारै चलायमान हुन थाल्दा बजारमा कर्जाको माग पनि बढेको छ । हाल चाडपर्वको महिना परेका कारण कर्जाको माग केही कम भए पनि चाडपर्व सकिनासाथ कर्जाको माग झन् बढ्ने परिप्रेक्ष्यमा बैंक तथा वित्तीय संस्थाहरूमा असोजको दोस्रो साता अझै ऋणयोग्य तरलता अभावको अवस्था नै छ । हुन त पछिल्लो एक सातामा वाणिज्य बैंकहरूमा ३८ अर्ब निक्षेप थपिएको छ । असोज लागेसँगै कर्मचारीहरूको दसैं भत्ताको भुक्तानी र बजारमा चहलपहलसमेत बढेपछि निक्षेप बढेको हो । तर, त्यसैगरी कर्जाको माग पनि बढिरहेका कारण तरलता अभाव कायमै रहने देखिन्छ । किनकि निक्षेप वृद्धि भएसँगै बैंकहरूको लगानी पनि उच्च दरले वृद्धि हुने क्रम जारी छ । असोज पहिलो साता वाणिज्य बैंकहरूको कर्जा ३१ अर्ब वृद्धि भएकोमा दोस्रो साता ३९ अर्बले विस्तार भएको छ । कोरोना कहरका कारण शिथिल भएका व्यवसायहरूको पुनरुत्थान तथा विस्तारका कारण बजारमा कर्जाको माग बढ्नु स्वाभाविक हो । चालू आर्थिक वर्षमा मात्र बैंकहरूले २ खर्ब २१ अर्ब कर्जा विस्तार गरिसकेका छन् । तर, यस अवधिमा बैंकहरूको निक्षेप १७ अर्बले मात्र बढेको छ । चालू आर्थिक वर्षको पहिलो महिना साउनमै ७८ अर्ब निक्षेप घटेकोमा असोजको दोस्रो सातासम्म आइपुग्दा बैंकहरूको निक्षेप असार मसान्तकै स्थितिमा पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाको भनाइमा राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकहरूमा पुँजी, कर्जा र निक्षेप (सीसीडी) अनुपात हटाएर कर्जा र निक्षेपको अनुपात कायम गरेपछि बैंकहरूको कर्जा दिने क्षमता घटेर तरलताको अभाव भएको हो । तर, केन्द्रीय बैंक यो तर्क मान्न तयार छैन । केन्द्रीय बैंकले सीसीडी अनुपात हटाए तापनि कर्जा निक्षेप अनुपात बढाएका कारण तरलता अभाव नहुने बताउँदै आएको छ । विभिन्न मौद्रिक उपकरणमार्फत तरलता व्यवस्थापनमा लागिरहेको राष्ट्र बैंकका लागि पनि यो परीक्षा नै हो । राष्ट्र बैंकले मूलतः तरलता कम हुनुमा घट्दो रेमिट्यान्स आय, उच्च आयात वृद्धिलाई कारक मानेको छ । पर्यटनसम्बन्धी गतिविधिहरूमा गिरावटका कारण सेवा आय तथा रेमिट्यान्स आय पनि घटेको तथा आयातको उच्च वृद्धिका कारण मुलुकको विदेशी विनियम सञ्चितिमा समेत दबाब बढेको छ, जसका कारण राष्ट्र बैंकले नगदमा डलर सटहीमा कडाइ गर्न थालिसकेको छ भने आयातमा पनि नियन्त्रण गर्न खोजेको छ । चाडपर्वमा बैंकबाट निक्षेप झिक्ने क्रम पनि बढ्ने र पैसा आफंैसँग राख्ने भएकाले केही दबाब भए तापनि दसैंपछि बिस्तारै अवस्था सहज हुने राष्ट्र बैंकको तर्क बैंक तथा वित्तीय संस्था मान्न तयार छैनन् । उनीहरू राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत परिवर्तन गरेको नीतिकै कारण तरलता अभाव बढेको मान्दछन् । साथै, व्यावसायिक गतिविधिहरू सामान्य स्थितिमा फर्किरहेका कारण कर्जाको माग अझ बढ्ने प्रक्षेपण छ । यसैबीच राजनीतिक अस्थिरताले चालू आर्थिक वर्षका लागि दुई पटक बजेट ल्याइए पनि बजेट कार्यान्वयनमा ढिलाइ भएका कारण पनि तरलता अभाव चर्कने देखिन्छ । तसर्थ राष्ट्र बैंकले अन्य मौद्रिक औजारमार्फत पनि बजारमा तरलता बढाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्