धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त «

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद विवादमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
अध्यक्ष ढुंगानाले छोरी रेविका ढुंगानाको नाममा बुक बिल्डिङ प्रक्रियामार्फत साधारण सेयर जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद गरेको सार्वजनिक भएसँगै सरकारले उनलाई निलम्बन गरी छानबिन समिति गठन गरेको थियो ।
छानबिन समितिले अध्यक्ष ढुंगानाले पदीय मर्यादा विपरीत सेयर कारोबारमा संलग्न भएको र उनले पुँजी बजारको विकास विपरीत हुने गरी काम गरेको भन्दै बर्खास्त गर्न सुझाव दिएपछि सरकारले स्पष्टीकरण सोधेको थियो ।
सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले भने यसअघि नै राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्