चिसो र चरन अभावले मौरी मर्न थाले «

चिसो र चरन अभावले मौरी मर्न थाले

जुम्ला-चन्दननाथ नगरपालिका–३ का रामकृष्ण बुढ्थापा जुम्लाका एक वरिष्ठ, मौरीपालक किसान हुन् । उनले गाउँभन्दा झण्डै एक घण्टाको पैदल दूरीमा पर्ने रडिखल्ला जंगलमा विगत २२ वर्षभन्दा पहिलेदेखि मौरीपालन गर्दै आएका छन् । उनको त्यो पुख्र्यौली पेसा पनि हो । राजनीतिमा पनि सक्रिय बुढ्थापा अहिले राजनीति छोडेर मौरीपालनमै व्यस्त छन् ।
मुख्य आयस्रोतका रूपमा विगतदेखि गर्दै आएको मौरीपालन हाल अत्यधिक चिसोका कारण मर्दै गएको प्रति दुःख व्यक्त गरे । गत वर्ष झण्डै १ सय ५० मौरीका घार थिए । उनले भने, “अहिले जम्माजम्मी, ७९ वटामात्रै घार छन् । बर्सेनि हिउँदको सयममा चिसो बढ्ने र तापक्रम व्यवस्थापनका कुनै मेसो नपाउँदा मौरी मर्दै गएको उनले बताए । मौरीको दुरावस्था हेर्दा म निकै चिन्तित छु, यो वर्ष झण्डै, २३ लाख बढी आम्दानीको लक्ष्य लिएका थिए । चिसो र चरन अभावले मौरी मर्दै गए पनि बाँकीको सुरक्षामा जुटेको मौरीपालक किसान तथा पत्रकार सरोज शाहीले बताए ।
मौरी क्रमशः मर्दैछन् । जुम्लाका सिंजा, पान सय, चौधबिस र बजार क्षेत्रका सयौ, मौरीपालक किसान यति बेला चिन्तित छन् । हिमपातले कतै हर्ष त कतै विष्मात ल्याएको मौरीपालक किसानको दुःखेसो छ । डेढ सातादेखि जुम्लामा भइरहेको हिमपात तथा मौसम बदलीका कारण मौरीको आहारा नपुग्दा मर्न थालेको मौरीपालक कृर्षक कैलो बुढाले बताए ।
उनले भने, “मौरीविज्ञले चिसोबाट बचाउन र कृत्रिम आहराको व्यवस्थापनमा ध्यान दिन भने पनि, चिसोले आफू जोगिनै धौ भएपछि, मौरी मर्न थालेको उनको भनाइ छ । मौरीपालक किसान, बुढा र बुढ्थापा त उदाहरणमात्रै हुन् । यतिबेला जुम्लाका सयौ किसानका मौरी धमाधम मर्न थालेको गुनासो आइरहेको छ । पहिले पुसमा हिउँ पथ्र्योे र माघदेखि मौरीका लागि उपयुक्त वातावरण हुन्थ्यो । तर अहिले जलवायु परिवर्तनले गर्दा, हिमपात हुने कुनै निश्चित नभएपछि त्यसको असर मौरीपालन व्यवसायमा परेको कर्णाली मौरीपालन सहकारी संस्था लिमिटेडका अध्यक्ष शिवलाल डाँगीले बताए । उनका अनुसार मौरी बचाउने कुनै उपाय नभएपछि जुम्लाका किसानले लाखांैको घाटा बेहोरेका छन् । जिल्लाका ३० हजार मौरी घारमध्ये ९० प्रतिशत घार नष्ट भएका छन् । अहिले जुम्लाको न्यूनतम तापक्रम माइनस ८ डिग्री सेल्सियस छ ।

चिसो र चरन अभाव मुख्य समस्या
चिसोले मौरी मर्न थालेपछि तीन साताअघि मौरी किसान र मौरी विज्ञबीच छलफल चलाइएको थियो । चिसो कारण हिउँदको समयमा ५० प्रतिशतले मौरी घट्ने विज्ञहरूको दाबी छ । अत्यधिक चिसो, कृत्रिम आहाराको कमी र चरण क्षेत्रको अभावन जुम्लामा मौरी मर्नुको मुख्य कारण रहेको मौरीविज्ञ केशरकुमार शाहीले बताए ।
हिउँदमा चिसो हुने र मौरीलाई बस्न, गुम्सीलो तातो कोठा नभएको, चिसोसँग जुध्नसक्ने कृत्रिम आहाराको व्यवस्थापन गर्न नसक्दा मौरी मर्न थालेको विज्ञ टोलीको दाबी छ । चिसोबाट बच्न व्यवस्थित घार पनि नभएको मौरी विज्ञको टोलीले अनुगमनका क्रममा बताएका थिए भने, सेतो चिनीको अव्यस्थित उत्खनन्ले गर्दा पाटन क्षेत्रका सबै फूल मासिए भने बाह्रमासे फूल फुल्ने अवस्था नभएपछि व्यवसाय संकटमा परेको उनको भनाइ छ ।
उनीहरूले घारमा भालुको आक्रमण, अज्ञात रोग, सरसफाइ, तापक्रम व्यवस्थापनको अभावले मौरीपालन व्यवसाय संकटमा परेको उल्लेख गरे । घार व्यवस्थापन र चरन क्षेत्रको व्यवस्थापनमा विशेष ध्यान दिन सुझाव दिए । सुलसुले किराको संकक्रमणले जुम्लाको मौरीलाई समस्या भएको देखिन्छ । तालिम प्राप्त किसानले जैविक विषादी तयारी नियन्त्रण गर्न समेत आग्रह गरे ।
र कृत्रित आहार व्यवस्थापन तथा कृत्रिम रानीमौरी उत्पादनमा ध्यान नदिए, ‘एपि सेराना’ जातको मौरीबाट जिल्लाले कमाएको पहिचानसमेत गुम्ने खतरा रहेको उल्लेख गरे । विशेषगरी सरसफाइ, कृत्रिम आहारा र तापक्रम व्यवस्थापन गरेमात्रै मौरी मर्ने समस्या रोकिनसक्ने मौरी विज्ञ शाहीले बताए । मौरी विज्ञले उपाए सिकाउँदा पनि किसान गम्भीर नहुँदा मौरी मरेको कृषि ज्ञान केन्द्रका प्रमुख डा. तपनबहादुर शाहले बताए ।

 

प्रतिक्रिया दिनुहोस्