Logo

सवस्टेसनको ठेक्का भारतीयलाइ

भारतमा विद्युत् आदानप्रदानका लागि महत्वपूर्ण मानिएको ढल्केवर सवस्टेसनको ठेक्का भारतीय कम्पनीले पाएको छ । नेपाल विद्युत् प्राधिकरणले ठेकेदार चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड (सीसीपीजी) सँग २ सय २० केभीका ढल्केबर सवस्टेसनको ठेक्का तोडेपछि भारतीय कम्पनी टेलमस इलेक्ट्रोनिक्स कम्पनीलाई दिएको हो ।
समयमै काम नगरी अनावश्यक शर्त ल्याएर ढिलाइ गरेपछि भदौ अन्तिम साता चिनियाँ कम्पनीसँगको सम्झौता तोडिएको थियो । टेण्डर आह्वान गरी सवस्टेसनको बाँकी काम सम्पन्न गर्नका लागि भारतीय कम्पनीलाई दिने निर्णय गरी काममा आउनका लागि सम्बन्धित कम्पनीलाई पत्र पठाएको नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजना प्रमुख राधेशरण महतोले जानकारी दिए । “प्राधिकरण व्यवस्थापनले निर्णय गरेर भारतीय कम्पनी टेलमसलाई पत्र पठाइसकेका छौं,” उनले भने, “आगामी १५ दिनभित्र ठेक्का सम्झौता गरेर चार महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौं ।”
करिब ९० प्रतिशत काम सकिएपछि चिनियाँ कम्पनीले ठेक्का तोडेपछि प्राधिकरणले दु्रतगतिमा ठेक्का दिने प्रक्रिया अघि बढाए पनि बल्ल ठेक्का सम्झौता हुने चरणमा पुगेको हो । हिउँदमा भारतबाट बिजुली ल्याउनका लागि ढल्केबर सवस्टेसन महत्वपूर्ण मानिन्छ । सन् २०११ मै नेपाल र भारतबीच १ सय ५० मेगावाट विद्युत् आयात गर्ने सम्झौता भएपनि ढल्केबर सवस्टेसन नहुँदा कार्यान्वयनमा आउन सकेको छैन भने तत्कालको विद्युत् अभाव पूरा गर्नका लागि हाल एक सय केभीका दुई अस्थायी ट्रान्सफर्मर राखेर १ सय ४५ मेगावाटसम्म विद्युत् आयात हुँदै आएको छ । मंसिरसम्म सबस्टेसन चार्ज गरेर भारतबाट २ सय ५० मेगावाटसम्म ल्याउने योजना प्राधिकरण भएपछि ढिलाइ भएपछि विद्युत् प्राधिकरणलाई विद्युत् आपूर्ति व्यवस्थापनमा समस्या छ ।
अघिल्लो वर्षको भदौमा तत्कालीन ऊर्जामन्त्री जर्नादन शर्माले चिनियाँ कम्पनीलाई मंसिरभित्र सम्पन्न गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । तर, हालसम्म पूरा हुन सकेको छैन । ठेक्का दिइएको भारतीय कम्पनीले समयमै काम गरेमा २०७५ वैशाखभित्र सवस्टेसन निर्माण पूरा हुनेछ । ढल्केबर सवस्टेसनका लागि आवश्यक सबै सामाग्रीहरू ल्याइसकेको आयोजनाले जनाएको छ ।
समयमै निर्माण गरेर हिउँदमै ढल्केबर सवस्टेसनमार्फत थप विद्युत् आयात गर्ने विद्युत् प्राधिकरणका लक्ष्य रहेपनि हिउँदभित्र भने सम्पन्न हुने अवस्था नेदेखिएको प्राधिकरणका एक अधिकारी बताउँछन् । “सकेसम्म ठेकेदारलाई तीन महिनाभित्रनै सम्पन्न गर्नका लागि अनुरोध गछौ तर समयमै सकिँदा पनि अहिलेको हिउँदभित्र सम्पन्न गरेर थप विजुली आउने सम्भावना नरहेकोले फागुन महिनामा विद्युत् व्यवस्थापन गर्न चुनौती थपिएको छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्