धनगढीमा चाडपर्वको किनमेल महँगो «

धनगढीमा चाडपर्वको किनमेल महँगो


दसैं नजिकिएको बेला धनगढीमा किनमेल गर्नेको ग्राहकहरुको भिडभाड बढेको छ । सामान्य समय भन्दा चाडपर्वको बेला ग्राहक संख्या बढ्नुका साथै बजार भाउ पनि बढेको छ ।
खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा, खाने तेललगायतका दैनिक उपभोग्य वस्तुको बजार भाउ बढेको स्थानीय व्यवसायीले जनाएका छन् । वाणिज्य कार्यालय कैलालीका प्रमुख ललितप्रसाद पन्तले दैनिक उपभोग्य वस्तुहरु (दाल, गेडागुडी, चामल, पिठो, चिनी, मसला, फलफूल लगायत) मा १० देखि २० रुपैयाँ मूल्य वृद्धि भएको भेटिएको बताए । उनले दैनिक बजार अनुगमन गरिरहेको बताउँदै तत्काललाई खाद्य पसलको अनुगमन गरिरहेको बताए ।
सोमबार धनगढी चौराहाका ८ वटा पसलमा अनुगमन गर्दा तीन वटा पसलमा मिति सकिएका सामान बरामद गरिएको उनले बताए । उनले हालसम्म पाँच जना व्यवसायीलाई जरिवाना गरी ६० हजार रुपैयाँ राजस्व असुल भएको बताए । उनले उद्योगहरुबाटै मूल्य वृद्धि भएको भएकाले मूल्य वृद्धि नियन्त्रण गर्न केन्द्रबाट नै पहल गरिनु पर्ने बताए ।
धनगढी स्थानीय श्यामराज जोशीले लत्ताकपडा र भाँडाकुडाको भाउसमेत अचाक्ली बढेको बताए । उनले अघिल्ला वर्षको १५ सयदेखि दुई हजारमा पाइने जिन्स पाइन्ट यस वर्ष २५ सयमा किन्न परेको बताए । उनले प्रशासनले नियमित बजार अनुगमन गरेपनि मूल्य नियन्त्रणको काम नगर्दा सर्वसाधारणले महंगोमा परिरहेको बताए ।
उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय उपाध्यक्ष धनपति ढुंगेलले खाद्यान्न, लत्ताकपडा र फलफूलको मूल्य अचाक्ली बढेको बताए । उनले कोभिड १९ का कारण उपभोक्ताको क्रयशक्ति घटेको बेला बजारमा विश्वास गर्न नसकिने किसिमले मूल्य वृद्धि भएको बताए । “राजनीतिकस्तरबाट मूल्य वृद्धि नियन्त्रण हुन सकेको छैन” उनले भने, “क्रय शक्ति घटेको बेला अचाक्ली मूल्य वृद्धि हुँदा उपभोक्ताको मानसिक स्वास्थ्यमा समेत समस्या पैदा भएको छ ।”
व्यवसायीहरुले सामानको मूल्य वृद्धि गर्नुका साथै खाद्यान्नमा मिसावट र डेट एक्सपायर सामान बिक्री गर्ने सम्भावना पनि दसैं तिहारको सामान किनमेल गर्ने भिडाभाडमै बढी हुने गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले मिसावट भएको र डेट एक्सपायर भएको सामान अनुगमन टोलीले जफट गरी नष्ट गरिरहेको बताए । उनले दैनिक ५ देखि ७ वटा पसलको अनुगमन गर्दै अनियमित ढंगले पसल सञ्चालन गर्नेलाई जरीवाना समेत गरिरहेको बताए ।

उपमहानगरपालिकाको अनुगमन समिति बेखबर
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (ञ) ले स्थानीय बजार अनुगमन तथा व्यवस्थापनको जिम्मेवारी स्थानीय पालिकालाई दिएको छ । ऐन अनुसार बजार मूल्य नियन्त्रण गर्ने र बजार अगनुमन तथा व्यवस्थापन गर्ने जिम्मेवारी पाएको धनगढी उपमहानगरपालिकाले अनुगमनमा चासो देखाएको छैन ।
धनगढी उमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले अनुगमन भएको विषयमा आफूलाई जानकारी नरहेको बताए । उनले जिल्ला प्रशासन कार्यालयले गर्ने अनुगमनमै प्रतिनिधि पठाएर अनुगमन भइरहेको बताएपनि सो अनुगमन टोलीमा धनगढी उपमहानगरपालिकाको प्रतिनिधि सहभागी छैनन् ।
धनगढी उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखाका अधिकृत योगेन्द्रबहादुर चन्दले तत्काल आफूले अनुगमनको विषयमा जानकारी दिन नसक्ने बताए । उपभोक्ता हित संरक्षण मञ्चका सुदूरपश्चिम प्रदेश सचिव भोजराज जोशीले धनगढी उपमहानगरपालिकाले बजार अनुगमन गरेको विषयमा आफूलाई जानकारी नरहेको बताए ।
उपभोक्ता अधिकार मञ्च कैलालीका अध्यक्ष हरि रेग्मीले बजारमा व्यवसायीहरुले मनोमानी रुपमा मूल्य वृद्धि गरिरहेको बताउँदै सरकारी निकायले अनुगमन गर्न नसकेको बताए । उनले सरकारी निकायले अनुगमन एकलौटी रुपमा गर्ने गरेको र मूल्य नियन्त्रणमा ध्यान नदिएको आरोप लगाए ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गठन भएको बजार अनुगमन समितिमा वाणिज्य कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, कैलाली उद्योग वाणिज्य संघ र उपभोक्ता हित संरक्षण मञ्च सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्