विदुर नगरपालिकामा गंगटे बाल उद्यान निर्माण

विदुर नगरपालिकाको ‘एक वडा एक पार्क’ अवधारणाअनुसार वडा नम्बर ५ निबुवाडाँडामा गंगटे बाल उद्यान तथा शान्ति पार्क निर्माण गरिएको छ ।
पार्कको बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डेले एक कार्यक्रमका बीच सोमबार उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा मन्त्री पाण्डेले वनजंगलमा भौतिक संरचना निर्माण गर्नसकेमा पर्यटकलाई भुलाउने गतिलो गन्तव्यस्थल बनाउन सकिने बताए । पार्कको संरक्षण गर्ने जिम्मेवारी वडा, नगरपालिका या प्रदेश सरकार भनेर तोक्दा समस्या निम्तन सक्ने भन्दै मन्त्री पाण्डेले पार्कबाटै आम्दानी हुने स्रोत जुटाउन सकेमा संरक्षण गर्न र थप संरचना निर्माण गर्न सहज हुने बताएका छन् ।
यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनालीले खाली रहेको सार्वजनिक जमिनको सदुपयोग गरेर आर्थिक पक्षलाई सबल बनाउने सम्भावना प्रचुर रहेकाले प्रदेश सरकार त्यसमा केन्द्रित रहेको बताए । उत्पादनको क्षेत्रमा लगानी गरे मात्र समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थकता दिन सकिने उनको भनाइ छ । नीति नियम र योजना बनाउँदा उत्पादन, उद्योग र रोजगारलाई विशेष प्राथमिकता दिनुपर्नेमा मन्त्री मैनालीको जोड छ ।
बागमती प्रदेश सरकार र विदुर नगरपालिकाको समपूरक बजेटमार्फत करिब एक करोड ५० लाख रुपैयाँमा पार्क निर्माण गरिएको हो । विदुर नगरपालिकाको १३ वटै वडामा एक÷एक वटा पार्क निर्माण गर्ने योजना भएता पनि वडा नम्बर ५ नगरपालिकाको केन्द्र विन्दुको रूपमा रहेकाले विशेष प्राथमिकतामा गंगटे बाल उद्यान तथा शान्ति पार्क परेको मेयर सञ्जु पण्डितले बताए । उक्त पार्कलाई मिनि चिडियाखानाको रूपमा विकसित गर्ने लक्ष्य रहेको मेयर पण्डितको भनाइ छ ।
पार्कलाई झनै व्यस्थित बनाउन कम्पाउण्ड बनाउनु आवश्यक रहेको वडा नम्बर ५ का वडाध्यक्ष शिव चित्रकारले बताए । पार्कलाई अझै आकर्षित बनाउन भ्यू टावर, स्वीमिङ पुल, विभिन्न खेलस्थलको व्यवस्था गर्नलाई नगरपालिका र प्रदेश सरकारलाई वडाध्यक्ष चित्रकारले ध्यानाकर्षण गराएका छन् । पार्कमा हेलिप्याड, पानीको फोहोरा, खुल्ला व्यायामशाला, बालबालिकाका लागि खेल्ने पिङ, विश्रामस्थललगायतको संरचना निर्माण गरिएको छ ।