खाद्यले शुक्रबारदेखि खसीबोका बिक्री गर्ने «

खाद्यले शुक्रबारदेखि खसीबोका बिक्री गर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी शुक्रबारदेखि खसीबोकाको बिक्री सुरु गर्ने भएको छ ।
कम्पनीले यस वर्षको दसैंका लागि २ हजार खसीबोका काठमाडौंमा ल्याउने तयारी गरेको छ । गत वर्ष एक हजार वटा खसीबोका र एक हजार वटा च्याङ्ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष २ हजार वटा खसीबोका मात्रै बिक्री वितरण गर्न लागेको हो । कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दसैंमा खसीबोका र च्याङग्रा बिक्री गर्दै आएको छ । तर, यस वर्ष च्याङ्ग्रा नपाइएको र पाइएको पनि मूल्य अत्याधिक बढेको भन्दै कम्पनीले च्याङ्ग्रा बिक्री नगर्ने बताएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी बागमती प्रदेश कार्यालयकी सूचना अधिकृत शर्मिला न्यौपानेले घटस्थापना पछि २२ गतेदेखि राजधानीमा खसीबोका बिक्री वितरण सुरु गर्ने बताइन् । कम्पनीले दाङको तुलसीपुरबाट ८ सय वटा र हेटौंडाबाट १२ सय वटा खसीबोका ल्याउने तयारी गरेको पनि उनले बताइन् । कम्पनीले विगतमा नीजि क्षेत्रले बेच्ने बजार मूल्यभन्दा प्रति किलो १० रुपैयाँ मूल्य घटाएर खसी बोका बिक्री गर्ने न्यौपानले जानकारी दिइन् ।
कम्पनीले माग धान्न भन्दा पनि बजार मूल्य नियन्त्रणका लागि विगतमा झैं यसपटक पनि खसीबोका बिक्री गर्न लागेको बताएको छ । दसैंका बेला काठमाडौं उपत्यकामा खसीबोकाको ११ लाख किलोभन्दा बढी मासु खपत हुने अनुमान छ ।
चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि कम्पनीले सहुलियत पसल पनि सञ्चालनमा ल्याएको छ । कम्पनीले ३९ जिल्लाका ४३ आउटलेटबाट दैनिक उपभोग्य खाद्य सामग्रीहरुमा ५ देखि १० रुपैयाँसम्म छुट दिएर बिक्री वितरण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्