पूर्वाधार निर्माणमा राजनीति हावी भयो : पूर्वाधारविज्ञ «

पूर्वाधार निर्माणमा राजनीति हावी भयो : पूर्वाधारविज्ञ

Discussion Series-5 ‘Infrastructure Reporting: Media’s Role in Shaping the Narrative. PC: SEJON

नेपालमा आधाभन्दा धेरै पूर्वाधार परियोजना नियमित योजनाभन्दा बाहिरबाटै बजेटमा पर्ने गरेको पूर्वाधार विज्ञहरूले टिप्पणी गरेका छन् । विज्ञहरुले पूर्वाधार निर्माणमा चरम राजनीति मिसिँदा योजनाभन्दा बाहिरका आयोजना छनोट भइरहेको उनीहरूको भनाइ छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) र पोलिसी इन्टरप्रेनरर्स इन्क (पीईआई) को संयुक्त आयोजनामा सोमबार राजधानीमा भएको ‘इन्फ्रास्ट्रक्चर रिपोर्टिङः मिडियाज् रोल इन सेपिङ द न्यारेटिभ’ विषयक अन्तरक्रियामा पूर्वाधार विज्ञ कमल पाण्डेले पूर्वाधार निर्माणमा राजनीति घुस्दा समयमै योजना सम्पन्न हुन नसकेको बताए ।
“हामीले ८औं आवधिक योजनादेखि हेर्ने हो भने अहिलेसम्म भएका सबै योजनामा पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ राखेका छौं । बजेटमा पनि प्रत्येक वर्ष प्राथमिकता दिएकै छौं तर योजना गरिएभन्दा बाहिरबाट आएका आयोजना प्राथमिकतामा परिरहेका छन्,” उनले भने ।
उनले ८औं योजनादेखि हालसम्मका आवधिक योजनामा उल्लेख गरिएभन्दा बाहिरबाट मात्रै ६० प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणका योजना थपिएको टिप्पणी गरे । राजनीतिज्ञहरूले सम्भाव्यताको अध्ययन, बजेटको सुनिश्चितता तथा उपयोगिता बिनै योजना थोपरिरहेको समेत उनले आरोप लगाए । पाण्डेले पूर्वाधार निर्माणलाई पहुँच, अन्तरआबद्धता र आर्थिक वृद्धिसँग जोडेर हेर्नुपर्ने भन्दै अर्थतन्त्रमा यसको योगदान बढाउनुपर्नेमा जोड दिए ।
“अहिले पूर्वाधार क्षेत्रको योगदान अर्थतन्त्रमा ९.५ प्रतिशत छ, यसलाई बढाएर १२ देखि १५ प्रतिशत बनाउनु जरुरी छ,” उनले भने, “तर पूर्वाधार निर्माणमा छुट्याइएको बजेट नै खर्च गर्न नसकेको अवस्था छ ।”
“अहिले फार्म टु मार्केटको कन्सेप्ट परिवर्तन भएको छ । समयसँगै खर्च पनि बचत गर्नुपर्ने अवस्था छ । तर पूर्वाधारको निर्माणको सुस्तताका कारण अन्तरआबद्धता हुन नसकेको र यसको असर आर्थिक वृद्धिमा परिरहेको छ,” उनले थपे ।
“बजेटमै हेर्न सक्छौं, कतिपय आयोजना हचुवाको भरमा राखिएका छन्, स्रोतको सुनिश्चितता नै छैन, यस्तो अवस्थामा विदेशी दातृ निकायको भर पर्नुको विकल्प छैन,” उनले भने ।
पूर्वसचिव कृष्ण ज्ञवालीले मुलुकमा पूर्वाधार नीति नै नभएको बताए । “क्षेत्रगत रुपमा केही नीति नभएका होइनन्, तर, समग्र पूर्वाधार क्षेत्रलाई मार्गनिर्देशन गर्ने नीति अभाव छ, जसले गर्दा पूर्वाधार निर्माणले गति लिन सकेको छैन,” उनले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्