चाडपर्वमा बजार चलायमान हुँदै «

चाडपर्वमा बजार चलायमान हुँदै

चाडपर्व नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको भीडभाड लाग्ने गरेको छ । अन्य समयको तुलनामा चाडपर्वका बेला सबैले लत्ताकपडा, जुत्ताचप्पल, खाद्यान्नलगायतका दैनिक उपभोग्य सामानदेखि अन्य सामानहरू खरिद गर्ने भएकाले पनि ग्राहकको बढी भीडभाड लाग्ने गर्छ । चाडपर्वमा उपभोक्तालाई सहुलियत दिनका लागि सरकारी संस्थानमार्फत सुपथ पसल सञ्चालन भइरहेका छन् । सुपथ पसलमार्फत चिनी प्रतिकेजीमा ५ रुपैयाँ, नुन प्रतिकेजीमा २ रुपैयाँ, चामल प्रतिकेजीमा ५ रुपैयाँ, गेडागुडी र खसीबोका प्रतिकेजीमा १० रुपैयाँ छुट दिइएको छ ।
छुट पसल निश्चित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेसनको बिक्री केन्द्रमा मात्र भएकाले पनि सामान खरिद गर्न आउन कठिन भएको उपभोक्ताको गुनासो छ । सरकारी संस्थानसँगै निजी व्यावसायिक महलहरूले पनि दसैंलाई लक्षित गरेर विभिन्न अफर योजना सञ्चालनमा ल्याएका छन् । चाडपर्वमा किनमेल बढी हुने हुँदा उपभोक्ता ठगी हुन सक्ने भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसहितका सरोकारवाला निकायले अनुगमन तीव्र रूपमा अगाडि बढाएका छन् । सामानको किनमेल बढी हुने भएकाले व्यवसायीले कृत्रिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि, कमसल सामान, म्याद नाघेका सामान बिक्री हुन सक्ने भन्दै बजार अनुगमनको काम प्रभावकारी रूपमा अगाडि बढाइरहेको सरकारको दाबी छ । बजारमा सामानको आपूर्ति अवस्था कसरी भइरहेको छ, मूल्यको अवस्था के छ, उपभोक्ताले सहजै ढंगले सामान पाइरहेका छन् कि छैनन् लगायतका समग्र बजारको अवस्था के छ भनेर सरोकारवाला व्यक्तिसँग कारोबारले गरेको कुराकानीको सार :

उपभोक्ता ठगी रोक्न विभागले अनुगमन प्रभावकारी बनाएको छ
शिवराज सेढाईं
निर्देशक
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग

चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको किनमेल पनि बढी हुने गर्छ । बजारमा अत्यावश्यक वस्तुको नियमित रूपमा आपूर्ति भइरहेकाले अभाव छैन । बढी किनबेच हुने ठाउँमा उपभोक्ता ठगिने सम्भावना पनि बढी हुने भएकाले विभागले दैनिक ६ वटा टोलीद्वारा फरक–फरक क्षेत्रमा अनुगमन गरिरहेको छ । दसैंमा बढी बिक्री हुने लत्ताकपडा, खाद्यान्न, माछामासु, फलफूल तथा टिकट काउन्टरको अनुगमनलाई बढी केन्द्रित गरेका छौं । उपभोक्ताको गुनासो, उजुरीका आधारमा पनि कतिपय ठाउँमा अनुगमन गरिरहेका छौं । अनुगमन क्रममा वस्तुको मूल्य र गुणस्तरको विषयमा बढी गुनासो आएको छ । दसैंमा व्यापार बढी हुने भएकाले व्यवसायीले कमसल, म्याद नाघेको सामान बिक्री गर्न सक्ने भएकाले पनि अनुगमनलाई सक्रिय बनाएका छौं । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, पशुसेवा विभाग, औषधि व्यवस्था विभाग तथा प्रहरी र उपभोक्ता अधिकारकर्मीसँग सहकार्य गरेर बजार अनुगमनलाई थप प्रभावकारी बनाएका छौं । अनुगमनका क्रममा कैफियत भेटिएमा कारबाही गरेका छौं । नेपालीहरूको महान् चाड दसैंमा बजारमा कारोबार पनि बढी हुने गर्छ । कारोबार बढी हुँदा भीडभाड बढी हुने गर्छ । बढी कारोबार हुने ठाउँमा वस्तुको मूल्य, गुणस्तर, नापतौलमा ठगी हुनसक्ने आशंकामा बजार अनुगमनलाई त्यसैतर्फ केन्द्रित गरेका छौं । दसैं, तिहार र छठसम्म जुन–जुन वस्तु तथा सेवाको कारोबार बढी हुन्छ त्यस क्षेत्रमा अनुगमनलाई केन्द्रित बनाएका छौं । दसैंमा बढी बिक्री हुने खाद्यान्न, लत्ताकपडा, मासु, फलफूल, मिठाई पसलमा अनुगमन गरिरहेका छौं । जुन ठाउँ किनमेल गर्नेको बढी भीडभाड हुने ठूला पसलमा बढी केन्द्रित छ । बजारमा वस्तुहरूको उपलब्धतामा कुनै समस्या छैन । आपूर्ति व्यवस्था सुचारु रहेको छ । मूल्य तत्कालभन्दा पनि सन् २०२० को डिसेम्बर र २०२१ को जनवरीदेखि नै मूल्य घट्दा कम घट्ने र बढ्दा ह्वात्तै बढ्न भएको छ । विशेषगरी खाद्यान्न, खाने तेलमा भएको मूल्य बढ्ने भएको छ । यसको लागत बिल, प्रज्ञापनपत्र, भर्पाई, लागत भेरिफाई गर्ने कागजपत्रहरू अध्ययन गरिरहेका छौं । अस्वाभाविक मूल्य बढाउनेलाई कारबाही पनि गरिरहेका छौं । दुई साताअघिदेखि नै बजारमा चहलपहल बढी हुँदा व्यवसायीले उपभोक्ता ठग्न सक्ने भएकाले पनि दैनिक ६ वटा टोलीले विभिन्न क्षेत्रमा गएर अनुगमन गरिरहेका छौं । अनुगमनका क्रममा वस्तुको मूल्य र गुणस्तरमा उपभोक्ता गुनासो बढी आएकाले अनुगमन पनि त्यसैतिर बढी केन्द्रित गरेका छौं । चाडपर्वको बेला अस्वाभाविक मूल्य लिने, कमसल सामान बिक्री गर्ने, म्याद नाघेका सामान बिक्री गर्ने, कृत्रिम अभाव गराएर कालोबजारी गर्नेलाई तत्काल कारबाही गर्छौं । विभागले कसुरअनुसार ५ हजारदेखि ३ लाखसम्म जरिवाना गर्ने गर्छ । उपत्यकामा बढी भीडभाड भएकाले बजार अनुगमनलाई बढी नै जोड दिइएको छ । साथै उपत्यका बाहिरी जिल्लामा पनि जिल्ला प्रशासन कार्यालयले स्थानीय निकायको सहयोगमा अनुगमन गरिरहेको छ । अनुगमन नियमित रूपमा हुने गर्छ, तर चाडपर्वमा बजारमा चहलपहल बढी हुने भएकाले विशेष रूपमा अनुगमन हुने गर्छ ।

यसपालि दसैंमा व्यापार बढ्न सकेन
नरेश कटुवाल
अध्यक्ष
राष्ट्रिय व्यवसायी महासंघ

बजारमा १० दिनसम्म होलसेल पसलमा सामानको बिक्री राम्रो भएको थियो । गत शनिबारदेखि होलसेल पसलमा व्यापार कम हुन थालेको छ । तीजको बेला व्यापार धेरै हुने भएकाले त्यति बेलादेखि नै दसैंलाई लक्षित गरेर सामान ल्याउने गर्छौं । अहिले होलसेलबाट खुद्रा बजारमा सामान जाने काम सकिएको छ । खुद्रा बजारमा व्यापार बढ्नुपर्ने हो, तर त्यस्तो व्यापार बढ्न सकेको छैन । अघिल्ला वर्ष घटस्थापनाको एक–दुई दिनअघिदेखि नै खुद्रा बजारमा सामान खरिद–बिक्री गर्नेको धेरै नै भीडभाड लाग्ने गरेको थियो, तर अहिले पनि बजार सुनसान छ । व्यापार पनि धेरै नै बढ्ने गथ्र्यो, तर यो वर्ष पनि खासै व्यापार बढ्न सकेको छैन । अब चार–पाँच दिनभित्रमा व्यापार राम्रो भयो, नत्र यसपालि व्यापार बढ्ने देखिँदैन । दसैंको बेला व्यापार धेरै नै बढ्नुपर्ने हो, तर यो वर्ष सामान पनि पर्याप्त मात्रामा आइसकेको छैन । कोभिडको असर अझै पनि कायम रहेकाले व्यापार बढ्न सकेको छैन । कोभिडको कारणले गर्दा धेरै जनाको रोजगारी गुमेकाले पनि अत्यावश्यक वस्तुबाहेक अन्य सामान खरिद गर्ने ग्राहक छैनन् । व्यापार बढ्न नसकेकाले बैंकको ब्याज, घरभाडा, किस्ता तिर्न नपुग्ने हो कि भन्ने चिन्ता थपिएको छ । अन्य महिनाको तुलनामा असोज लागेपछि व्यापार भएको छ, तर यो समयमा जति व्यापार हुनुपर्ने हो त्यति हुन सकेको छैन । दसैंको बेला ७५ देखि ८० प्रतिशत व्यापार हुने गर्छ । अहिले आफूले ल्याएको सामानमध्ये ७५ प्रतिशत सामान गयो भने पनि व्यापार भएको मान्नुपर्छ । विभिन्न कारणले गर्दा व्यापार बढ्न सकेको छैन । त्यसको एउटा प्रमुख कारणका रूपमा भन्सार पनि रहेको छ । दसैंलाई लक्षित गरेर मगाएका सामान समयमा भन्सार पास नहुँदा नाकामै रोकिएको कारणले गर्दा पनि बजारमा सामानको अभाव भएकाले व्यापार बढ्न सकेको छैन । कोभिडले धेरै नै असर पारेको छ । यो वर्ष धेरै व्यापार नहुनुको कारण धेरै जनाको रोजगारी गुम्नु पनि हो । कोभिडको कारणले धेरैले व्यवसाय चलाउन नसकेर पलायनसमेत भएका छन् । लामो समयदेखि नाकामा रोकिएका सामान क्रमिक रूपमा आउन सुरु भएको छ । तर, पनि दसैंलाई भनेर ल्याइएका सामान समयमा आउन सकेन भने लगत्तै चिसो मौसम सुरु भएकाले थन्काएर राख्नुपर्ने हुन्छ । रेडिमेट, जुत्ताचप्पल, कस्मेटिक, लत्ताकपडाजस्ता सामान अझै आउन बाँकी रहेका छ । दसैंको बेला न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी, भृकुटीमण्डप, लगनखेललगायतका बजारमा धेरै नै कारोबार हुने गरेको थियो । अन्य महिनाको तुलनामा कारोबार बढे पनि दसैंमा जति हुनुपर्ने हो, त्यति हुन सकेको छैन । घटस्थापनादेखि धेरै मानिसहरू दसैं मान्न घर जाने भएकाले घर जानुअगाडि नै सामान किन्ने गर्छन् ।

उपभोक्ता मूल्य, गुणस्तर र नापतौलमा बढी ठगिन्छन्
माधव तिमिल्सेना
अध्यक्ष
उपभोक्ता अधिकार अनुसन्धान मञ्च

चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको किनमेल बढी हुने गर्छ । खरिद–बिक्री बढी हुने हुँदा व्यवसायीले कमसल सामान, म्याद नाघेको र बढी मूल्यमा सामान बिक्री गर्ने हुँदा उपभोक्ता पनि सचेत हुनुपर्छ । यति बेला कृत्रिम अभाव गरेर कालोबजारी हुनसक्ने भएकाले सरकारले पनि प्रभावकारी ढंगले बजार अनुगमन गर्नुपर्छ । चाडपर्वका बेला बजारमा चहलपहल बढी हुने हुँदा व्यवसायीले ठग्न सक्ने हुन्छन् । यसतर्फ नियमनकारी निकायसँगै उपभोक्ता स्वयम् पनि सचेत बन्नुपर्छ । दसैंतिहारमा बढी खपत हुने दाल, चामल, तरकारी, तेलमा मूल्य बढ्दै छ भनेर बजारमा व्यवसायीले अनर्गल हल्लाहरू फैलाएर उपभोक्ताहरूलाई आतंकित पार्ने काम गरिएको छ । त्यसलाई नियन्त्रण गर्नका लागि सरोकारवाला निकायले बजार अनुगमनलाई तीव्रता दिन अतिआवश्यक छ । बजारमा कृत्रिम अभावको हल्ला फैलाएर मूल्य बढाउन खोजिएको छ । अहिले कृषि, पशु, यातायात व्यवस्था विभाग सबैभन्दा बढी जिम्मेवार बन्नुपर्ने देखिन्छ । बजार व्यवस्थापन गर्न र आपूर्ति व्यवस्थापन गर्नका लागि सरकारसँग दीर्घकालीन सोच छैन । भन्सारमा अझै पनि सामान रोकिएर बसेका छन् । दसैंलाई लक्षित गरेर व्यवसायीले अर्डर गरेका सामान समयमा भन्सार पास नहुँदा बजारमा आउन नसक्दा बजारमा अभाव हुने गर्छ । रोकिएका सामानलाई जतिसक्दो छिटो पास गराउनका लागि भन्सार विभागले विशेष ध्यान दिनुपर्छ । आपूर्तिमा समस्या हुनासाथ बजारमा सामानको अभाव हुने गर्छ । चाडपर्वमा उपभोक्ताले सामान बढी खरिद गर्ने भएकाले कमसल, म्याद नाघेको, सडेगलेका सामान बिक्री गरेर व्यवसायीले ठग्न सक्ने भएकाले पनि बजार अनुगमनको कामलाई प्रभावकारी ढंगले अगाडि बढाउनुपर्छ । विशेषगरी खाद्यान्न, लत्ताकपडा, सवारी साधनको टिकटमा मनपरी मूल्य लिई उपभोक्ता ठगिने गर्छन । दसैंको बेला सबै घरमा जाने भएकाले व्यवसायीले सवारी भाडामा मनपरि मूल्य लिएर उपभोक्ता ठगी हुने सम्भावना धेरै हुन्छ । बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर र नापतौलमा उपभोक्ता ठगिन सक्ने भएकाले पनि त्यसतर्फ नियमनकारी निकायले विशेष ध्यान दिनुपर्छ । साथै विभिन्न व्यावसायिक महलले दसैंको अफर भनेर कमसल सामान पनि दिने गर्छ । चिट्ठाको नाममा पनि ठगी हुने गर्छ । त्यसतर्फ पनि नियमनकारी निकायको ध्यान जानु अति आवश्यक छ ।
अहिले उपभोक्ता अधिकारवादी संघसंस्थाहरू सरकारको सहयोगीका रूपमा रहेका छौं । उपभोक्तावादी संस्थालाई कानुनले पन्छाएको महसुस गरेका छौं । सरोकारवाला निकायबीच छलफल गरेर कानुन ल्याउँदा पनि अहिले पूर्ण रूपमा कानुन कार्यान्वयन नहुँदा बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउन सकिएको छैन । उपभोक्तामैत्री, बजारमा हुने विभिन्न खालका विभेदहरूलाई अन्त्य गर्न सकिएको छैन, जसले गर्दा पनि हामीले कानुनमा असहमति जनाउँदै आएका छौं ।
उपभोक्ता संरक्षण ऐनलाई छाता कानुनका रूपमा विकास गर्नुपर्छ । यस कानुनले उपभोक्तासम्बन्धी सबै कानुनलाई एकीकृत रूपमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमन गर्ने गरी एउटा फोकल विभागको रूपमा निर्माण गर्नुपर्छ भनेर सुझाव दिएका थियौं, ती कुराहरू कार्यान्वयन हुन सकेनन् । बजारमा मूल्य निर्धारणको धेरै तह भएकाले उपभोक्ता ठगिइरहेका छन् ।

बजारमा खाने तेलबाहेक अन्य सामानको मूल्य बढेको छैन
दुर्गाराज श्रेष्ठ
उपाध्यक्ष
नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेश

बजारमा आपूर्ति व्यवस्था सहज छ । नियमित रूपमा सामानको आपूर्ति भएकाले बजारमा अभाव छैन । चाडपर्वको बेला बढी खपत हुने हुनाले विगतका वर्षहरूमा चाडपर्वको बेला व्यापार राम्रै हुने गरेको थियो । यो वर्ष खासै व्यापार राम्रो हुन सकेको छैन । मान्छेको चहलपहल बढे पनि खरिद–बिक्री भने त्यति उत्साजनक भएको छैन । मानिससँग आम्दानी नभएकाले अत्याश्यक वस्तुबाहेकका सामान खरिद गर्दैन, जसको कारणले गर्दा पनि व्यापार बढ्न सकेको छैन । खाद्यान्नसँगै दसैंमा लत्ताकपडा बढी बिक्री हुने गर्छ । लत्ताकपडामा अलिअलि चहलपहल बढे पनि अन्य सामानमा त्यस्तो उत्साह छैन । कोभिडको असर अझै पनि कायम रहेको अवस्था छ । व्यवसायीलाई असोजको महिनामै बैंकको ब्याज तिर्नुपर्ने समय भएकाले व्यवसायीहरूलाई मूल्य बढाएर नाफा खानेभन्दा पनि भएको सामान बेचेर रकम कसरी संकलन गर्ने भन्ने अवस्थामा छौं । बजारमा मूल्य वृद्धि भयो, कालोबजारी भयो भन्ने कुरा आएको छ, जुन गलत हो । केही एकाध व्यवसायीले मूल्य बढाएका होलान्, तर समग्रमा बजारमा मूल्य बढेको छैन । अहिले व्यवसायीलाई नगदकै समस्या छ । केरुङ नाकामा अझै पनि भन्सार पास नहुँदा पर्याप्त सामान बजारमा आउन सकेका छैन । त्यसले लत्ताकपडालाई असर गर्छ, खाद्यान्नलाई असर गर्दैन । वीरगन्ज, भैरहवा र विराटनगर नाकामा अवरोध भएमात्र दैनिक उपभोग्य सामानमा असर गर्छ । बजारमा खाने तेलबाहेक अन्य वस्तुको मूल्य बढेको छैन । एक वर्षको अवधिमा खाने तेलमा ४० देखि ५० प्रतिशत मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमै तेलको मूल्य बढेर त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । केराउ र रातो दालको मूल्य बढेको छ । त्योबाहेकका अन्य दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छैन । चिनीको मूल्य पनि खासै बढेको छैन । खाने तेलबाहेक समग्रमा मूल्य वृद्धि भएको छैन । अहिले मिडियाले गर्दा बजारमा समस्या भएको छ । एउटा व्यवसायीले प्रतिकेजी ८० रुपैयाँमा बिक्री गरिरहेको चिनी मूल्य बढ्यो भनेर सामाचार आएपछि बढाएर ९५ मा बेच्ने गर्छ । बजारमा मूल्य नबढे पनि अस्वाभाविक मूल्य वृद्धि भनेर समाचार बाहिर आएपछि व्यवसायीले पनि आफैं बढाउने गर्छन् । सरकारले व्यवसायीलाई ठग्यो भन्ने र व्यवसायीले अनुगमनका नाममा आतंकित पारियो भन्ने– एकअर्काेलाई दोषारोपण गर्ने काम भइरहेको छ । समग्रमा भन्दा अहिले बजारमा सामानको आपूर्ति व्यवस्था सहज छ । व्यापार त्यति उत्साहप्रद छैन र मूल्य पनि अन्य सामानमा बढेको छैन ।

प्रतिक्रिया दिनुहोस्