कांग्रेसका तीन नेताबीच महाधिवेशन केन्द्रित छलफल

सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष तहका नेताहरुले नै मन्त्रीपरिषदलाई तत्काल पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिन सुरु गरेका छन् ।
कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहले पार्टी, सरकार र सत्तारुढ गठबन्धनबीचको विश्वसनीयतामै ह्रास आएको निष्कर्ष निकाल्दै तत्काल मन्त्रीपरिषदलाई पूर्णता दिन पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई दबाब दिएका हुन् ।
उपसभापति निधिको नयाँ बानेश्वरस्थित निवासमा सोमबार बसेको तीन नेताहरुको बैठकले सत्तारुढ गठबन्धन दलका नेताहरुलाई पनि विभिन्न कारण देखाएर मन्त्रीपरिषदलाई पूर्णता दिने काममा ढिलाई नगर्न सचेत गराएको छ । सरकार र गठबन्धन दलको विश्वसनीयतामाथि नै प्रश्न उठिसकेकाले छिटोभन्दा छिटो मन्त्रीपरिषदलाई पूर्णता दिन सरकारलाई आग्रह गरिएको उपसभापति निधिले जानकारी दिए ।
नेताहरुबीच १४ औं महाधिवेशनमा पार्टी पदाधिकारीहरुमा साझा उम्मेदवारी दिने विषयमा पनि छलफल सुरु भएको छ । त्यसैगरी बैठकले क्रियाशील सदस्यतासम्बन्धि बाँकी ४ जिल्लाको विवाद छिटो टुंगो लगाएर पार्टीको वडा अधिवेशन, पालिका अधिवेशन र जिल्ला अधिवेशन समयमै सक्न पनि पार्टी सभापति शेरबहादुर देउवासँग माग गरेको छ । पार्टीको १४ औं महाधिवेशनमा साझा धारणा बनाएर जाने र पदाधिकारीमा साझा उम्मेदवारी दिने विषयमा पनि छलफल सुरु गरिएको उपसभापति निधिले जानकारी दिए ।
नेपाली कांग्रेसको बारा, रौतहट, सप्तरी र रसुवा जिल्लामा अझै पार्टीको क्रियाशील सदस्यतासम्बन्धि विवाद टुंगो लागेको छैन । त्यसमा पनि नेताहरुले चिन्ता व्यक्त गरेका छन् । पार्टीको महाधिवेशन नै प्रभावित हुने गरी अझै क्रियाशिल सदस्यता सम्बन्धि विवाद टुंगो लागि नसकेकोमा पनि आफूहरुले चिन्ता व्यक्त गर्दै छिटो टुंगो लगाउन नेतृत्वको ध्यानाकर्षण गराइएको उपसभापति निधिले बताए ।
उपसभापति निधिले पार्टीको आसन्न १४ औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने महामन्त्री कोइराला र नेता सिंहले पनि सभापति बन्ने आकांक्षा राखेका छन् । तर उपसभापति निधिले आफूहरु बीच पार्टीको नेतृत्व र नीतिका विषयमा साझा धारणा बनाएर अघि बढ्ने गरी छलफल भइरहेको र त्यो सकारात्मक दिशामा अघि बढिरहेको दावी गरे ।