सुस्ताएको अर्थतन्त्र चलायमान हुने आशा «

सुस्ताएको अर्थतन्त्र चलायमान हुने आशा

नेपाली समाजमा परापूर्वकालदेखि चाडपर्वको सांस्कृतिक तथा सामाजिकबाहेक आर्थिक महत्व पनि रहेको पाइन्छ । तत्कालीन समयमा हालको जस्तो व्यवस्थित बजारको विकास नभइसकेका कारण चाडपर्वका अवसरमा आर्थिक गतिविधि बढ्ने गथ्र्यो । त्यसैले वर्षभरि कुनै पनि चाडपर्वका अवसरमा मेला तथा बजार पनि चल्थ्यो । तर, समाज विकासका क्रममा व्यापार व्यवस्थित हुन थाल्यो । साना–साना उद्योगहरू केही समयसँगै हराए, केहीले समयानुकूल विस्तार गर्दै गएका कारण औद्योगीकरणमा टेवा पुग्दै गयो । तापनि विसं २०४० को दशकसम्म किनमेल गर्न पनि नागरिकले चाडपर्व कुरेर बस्ने चलन थियो । तर, बिस्तारै बजारले व्यवस्थित रूप लिन थालेपछि तथा नागरिकको क्रयशक्ति पनि बढ्न थालेपछि वर्षैभर किनमेल हुने वातावरण बन्न पुगेको हो । त्यसैले पनि चाडपर्वसँग नेपालीको सांस्कृतिक तथा सामाजिकसँगै आर्थिक साइनो पनि जोडिएको छ । चाडपर्वमध्ये पनि दसैंदेखि तिहार तथा छठसम्म नेपालमा मुलुकभर मनाइने लामो चाडपर्वको समय मानिन्छ । त्यसैले उक्त समय आर्थिक गतिविधि पनि अन्य समयमा भन्दा बढी हुन्छन् ।
तर, पछिल्ला दुई वर्षका दसैं, तिहार तथा छठको समयमा कोरोना कहरका कारण धेरै आवतजावत तथा आर्थिक क्रियाकलापमा बन्देज लागेको थियो । स्वास्थ्य सतर्कताका कारण सरकारले पनि आवतजावत गर्न तथा चाडपर्व मनाउँदा भीड नगर्न अनुरोध गरेका कारण नेपालीहरूले विगतमा झैं खुलेर चाडपर्व मनाउने वातावरण बनेको थिएन, जसका कारण अर्थतन्त्र पनि शिथिल नै थियो । तर, यसपटक भने कोरोना कहरविरुद्धको खोपको पहुँच बढेको तथा खोपकै प्रभावकारिताका कारण कोरोनाको दोस्रो लहरदेखि यसको संक्रमण नियन्त्रण हुने लक्षण देखिएकाले सुस्ताएको अर्थतन्त्रलाई गति प्रदान गर्ने अपेक्षा गरिएको छ ।
यस पटकको दसैं, तिहार, छठजस्ता चाडपर्वमा हुने व्यापार–व्यवसायले आर्थिक गतिविधिमा टेवा पु¥याउने भएकाले अर्थतन्त्र उकालो लाग्ने अनुमान छ । किनकि कोरोना कहरको पहिलो लहरमा त्रस्त रहेको नेपाली समाज दोस्रो लहरपछि खोप आएसँगै अलिकति ढुक्क देखिएको छ । त्यसैका कारण पनि यसपटकको चाडपर्वमा खाद्यका साथै गैरखाद्य वस्तुको कारोबार पनि बढ्ने अपेक्षा छ । यसरी व्यापार बढ्दा अर्थतन्त्रमा टेवा पुग्ने आकलन गरिएको हो । कोरोना संक्रमण पूर्ण रूपमा नरोकिए पनि सरकारले पनि आर्थिक क्रियाकलापहरू सुचारु गरेको तथा बजारमा पनि चहलपहल देखिन थालेको छ । नेपालमा वर्षभरि हुने उपभोगको ४० प्रतिशत दसैं, तिहार तथा छठको अवसरमा उपभोग हुने मानिन्छ । व्यापारी तथा अर्थविद्हरूका अनुसार चाडपर्वको यस करिब दुई महिनामा बाँकी १० महिनामा हुनेभन्दा धेरै उपभोग हुने गर्छ । केन्द्रीय तथ्यांक विभागका अनुसार गत आर्थिक वर्ष २०७७-०७८ मा निजी क्षेत्रको उपभोग १९ खर्ब थियो ।
त्यसको ४० प्रतिशत अर्थात् साढे ७ खर्ब रुपैयाँमा घरेलु उत्पादनलाई घटाउँदा साढे ५ देखि ६ खर्बसम्मको व्यापार भएको अनुमान गर्न सकिन्छ । तर, त्यसमा घरकै उत्पादन घटाउँदा पनि यस पटकको चाडपर्वले अर्थतन्त्रमा २ देखि ३ खर्बको योगदान दिने आकलन गर्न सकिन्छ । करिब दुई वर्षदेखि बन्द रहेका यातायातको सञ्चालन, पर्यटकीय गन्तव्यहरूमा पनि चहलपहल तथा बजारमा पनि क्रियाकलाप बढेका कारण यसपटक आर्थिक गतिविधिमा राम्रै टेवा पुग्ने अनुमान गरिएको हो । वास्तवमा नेपालका चाडपर्वले उपभोगलाई ह्वात्तै बढाउने कारण पनि अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने आकलन गरिएको हो । तर, स्वास्थ्य सुरक्षा तथा सतर्कताका साथ चाडपर्व मनाउन सके कोरोना संक्रमणबाट पनि बच्न सकिन्छ र शिथिल अर्थतन्त्रलाई पनि त्राण दिन सकिन्छ । यस पटकको चाडपर्वअघि गाडी तथा मोटरसाइकलको व्यापार पनि राम्रै भएका कारण डेढ वर्षदेखि खुम्चिएर बसेको अर्थतन्त्रमा केही रौनक ल्याउने देखिन्छ । जसका कारण सरकारको राजस्वमा पनि राम्रो योगदान हुन्छ, तर बजारमा माग बढेका कारण आयातमा अचाक्ली वृद्धि भई व्यापार घाटा झन् बढ्ने खतरा भने छ ।

प्रतिक्रिया दिनुहोस्