पर्यटक नआउँदा हस्तकलाका सामग्रीको बिक्री घट्दो «

पर्यटक नआउँदा हस्तकलाका सामग्रीको बिक्री घट्दो

पछिल्लो डेढ वर्षदेखि विदेशी पर्यटक आउने क्रम रोकिएसँगै नेपालमा हस्तकलाका सामग्रीको बिक्री निकै घटेको छ । कोरोना महामारीका कारण २०७६ चैतयता पर्यटक आगमन नगण्य छ । कोभिड महामारीका सुरुवाती महिना शून्यजस्तै रहेको पर्यटक आगमन त्यसयता पनि उल्लेख्य बढ्न सकेको छैन । यसको असर पर्यटन क्षेत्रमा मात्र नभई हस्तकलाका क्षेत्रमा पनि परेको छ ।
व्यवसायीहरुका अनुसार नेपाली हस्तकलाका उत्पादनको खपत आन्तरिक बजारमा निकै कम छ भने विदेशी पर्यटकले ठूलो परिमाणमा खरिद गर्ने गरेका थिए । नेपाल हस्तकला महासंघका अनुसार महामारीसँगै हस्तकलाका सामग्रीको निकासी घटेको छ भने आन्तरिक बजारमा खपत शून्यजस्तै छ । “पर्यटक नआउँदा आन्तरिक बजारमा हस्तकलाको व्यापार नै छैन,” पाटनका हस्तकला व्यवसायी अम्बरनारायण शाक्य भन्छन्, “यही हिसाबले पर्यटक नआउने हो भने हस्तकला व्यवसाय नै संकटमा पर्न सक्छ ।” उनका अनुसार पछिल्लो डेढ वर्षयता पाटन क्षेत्रमा हस्तकलाका सामग्री निर्माण र उत्पादन नै हुन छोडेको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकले पनि हस्तकलाका सामग्रीको निकासी घटेको देखाएको छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०७५-०७६ मा कूल ७९ करोड २० लाख रुपैयाँको हस्तकलाका सामग्री निकासी भएकोमा २०७६-०७७ मा भने ५७ करोड ३३ लाखमा सीमित भएको छ । गत आर्थिक वर्ष (२०७७-०७८) मा हस्तकलाको निकासी त्योभन्दा पनि कमजोर रह्यो । केन्द्रको तथ्यांकमा गत आवमा कूल ५५ करोड ४९ लाख रुपैयाँ बराबरको निकासी रहेको उल्लेख छ । यसरी पछिल्ला दुई आर्थिक वर्षमा हस्तकलाको बजार कमजोर बन्दै गएको देखिएको छ । यसले निकासीको मुख्य सम्भावना बोकेको हस्तकला क्षेत्र निराश बन्दै गएको ललितपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णलाल महर्जन बताउँछन् । स्वदेशमै खपत बढाउन सके हस्तकलाको बजार अहिलेको संकटमा टिकाउन सकिने र भोलिका दिनमा निर्यातका लागि आधार तयार गर्न सकिने उनको भनाइ छ ।
हस्तकलाका सामग्री पर्यटकले खरिद गर्ने गरे पनि कति परिमाणमा बिक्री हुन्थ्यो भन्ने तथ्यांक कुनै पनि निकायसँग छैन । यद्यपि व्यवसायीहरुको अनुमानमा नेपाल आउने पर्यटकले विदेश निकासी हुने हस्तकलाको अनुपातमा ५० प्रतिशतभन्दा बढी आफैं खरिद गर्ने गरेका थिए । हस्तकलाको अर्को मुख्य बजार मानिएको विदेशमा हुने मेला–महोत्सव समेत नहुँदा यस क्षेत्रमा संकट थपिएको छ ।
नेपाल हस्तकला महासंघका पूर्वअध्यक्ष धर्मराज शाक्य सरकारले हस्तकलाको विकासका लागि कुनै नीति ल्याउन नसक्दा पहिलेदेखि नै यो क्षेत्रबाट राज्यले अपेक्षित लाभ लिन नसकेको बताउँछन् । यसले गर्दा गाउँ–गाउँमा रहेका सीप र उत्पादन प्रवद्र्धन हुन नसकेको उनको भनाइ छ । “नेपालमा विभिन्न जातजाति छन् । उनीहरूको आफ्नै जातीय मौलिक हस्तकला छन्, तिनीहरूको सीप प्रवद्र्धन पनि उत्तिकै जरुरी छ,” उनी भन्छन् । उनका अनुसार यस क्षेत्रमा लगानीको पनि समस्या छ । यस्तै, बैंक तथा वित्तीय संस्थाले उद्योग प्रवद्र्धन र रोजगारी सिर्जनामा लगानी कम गरेकाले सरकारले नीतिगत सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको शाक्य बताउँछन् । पछिल्लो समय नेपाली उद्यमीलाई कच्चा पदार्थको निकै समस्या हुँदै गएकाले यसमा पनि ध्यान दिनु उत्तिकै आवश्यक रहेको उनको भनाइ थयो ।

प्रतिक्रिया दिनुहोस्