साहस ऊर्जाको आईपीओ बाँडफाँट

साहस ऊर्जाले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआएबिएल एस क्यापिटलको कार्यालयमा आइतबार आइपीओ बाँडफाँट गरिएको हो ।
कम्पनीको आईपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ११ हजार ९९६ जनाको आवेदन रद्द भएको र बाँकी २३ लाख ८३ हजार ४६० योग्य आवेदकमध्ये छ लाख ४४ हजार आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।
कम्पनीले सर्वसाधारणलाई गत असोज ६ देखि १० गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ७० करोड बराबरको ७० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।
निष्कासन गरिएको ७० लाख कित्ता सेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको थियो । तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो ।
कम्पनीले हाल सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका र थुलुङदूधकोसी गाउँपालिकामा कूल ८६ मेगावाट क्षमताको सोलु खोला (दूधकोसी) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।