नियमित बजार अनुगमन र शान्ति सुरक्षा चुस्त : सरोकारवाला «

नियमित बजार अनुगमन र शान्ति सुरक्षा चुस्त : सरोकारवाला


दसैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्र पारिएको सरोकारवाला निकायहरुले बताएका छन् ।
आइतवार तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको ‘बजार अनुगमन र शान्ति सुरक्षाको अवस्था विषयक चेतनामूलक अन्तरक्रिया कार्यक्रम’ मा सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले चाडपर्व लक्षित बजार अनुगमन प्रभावकारी बनाएको र शान्ति सुरक्षालाई चुस्त, दुरुस्त बनाएको बताएका हुन् ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले वाणिज्य विभागको जनशक्ति कम भएका कारणले अनुगमनलाई प्रभावकारी बनाउन नसकेको बताए । उपभोक्ताको हित र अधिकारलाई राजनीतिक नेतृत्वले प्राथमिकता दिन नसकेको उनले बताए । स्थानीय जनप्रतिनिधिलाई बजार अनुगमनको जिम्मेवारी दिँदा प्रभावकारी रुपमा बजार अनुगमन हुन नसकेको उनले उल्लेख गरे ।
नेपाल आयल निगमका उपकार्यकारी निर्देशक सुशील भट्टराईले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको आपूर्ति सहज रुपमा हुने बताए । पेट्रोलियम पदार्थको माग अनुसार आपूर्ति गर्न निगम सक्षम रहेको उनको भनाइ छ । गुणस्तर र परिणामको सन्दर्भमा कुनै गुनासो भए निगमलाई जानकारी गराउन पनि उनले आग्रह गरे ।
महानगरीय प्रहरी प्रभाग उपत्यका प्रहरीका प्रवक्ता सुशीलसिंह राठौरले उपत्यकामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरेको बताए । उनले आर्थिक अपराध, चोरी, लुटपाट, ठगिलगायतका घटना नियन्त्रणका लागि उपत्यकामा थप ७ हजार ५०० भन्दा बढी प्रहरी परिचालन गरीएको बताए । व्यापारिक केन्द्रलाई प्रहरी निगरानीमा राखिएको उनले बताए । उपत्यकाका १३१ स्थानमा ट्राफिक प्रहरी राखिएको, ३९ ठाउँमा थप मोबाइल गस्ती राखिएको, ८० ठाउँमा पैदल गस्ती राखिएको, २८ ठाउँमा हेल्पडेस्क राखिएको पनि उनले जानकारी दिए । हाल उपत्यकाको शान्ति सुरक्षा सामान्य रहेको जनाउँदै ढुक्क भएर चाडपर्व मनाउन प्रवक्ता राठौरले आग्रह गरे ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निमित्त महानिर्देशक शिवराज सेढाइँले उपभोक्ता अधिकार र बजार अनुगमनमा सबै उत्तिकै जिम्मेवार हुनुपर्ने बताए । विभाग स्रोत अनुगमन र सूचनामा आधारित अनुगमनमा केन्द्रीत भएको उनले उल्लेख गरे । बजार अनुगमनका लागि विभागले ६ वटा टोली परिचालन गरी लत्ताकपडा, खाद्यान्न र मासुको मूल्य र गुणस्तरमा केन्द्रीत भएर बजार अनुगमन गरीरहेको उनले जानकारी दिए ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले सुरक्षा योजना बनाएर प्रशासन क्रियाशील भएको बताए । भीडभाड हुने ११ ठाउँमा हेल्प डेस्क राखिएको उनले बताए । जिल्ला प्रशासन कार्यालयले गुनासो सुन्ने अधिकारी तोकेको पनि उनले बताए । सिमानाकाको चेकजाँच र ट्राफिक सक्रियता बढाएको उनको भनाइ छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीबीच निरन्तर समन्वय रहेको पनि उनले बताए ।
ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले चाडपर्वमा सडक दुर्घटना हुने सन्दर्भलाई ख्याल गर्दै बाटोमा हुने खाल्डाखुल्डी पुर्न सहजीकरण गर्नका लागि बैठकहरु बसिरहेको बताए । बजार अनुगमनका लागि स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरिरहेको पनि उनको भनाइ छ । खाद्यान्न, लत्ता कपडा, मासुजन्य पद्धार्थमा केन्द्रीत भएर बजार अनुगमन गरिरहेको पनि उनले बताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना जोशी वैद्यले विभागले दाल, चामल, मसला, तेल, दुग्ध पदार्थलाई केन्द्रीत गरेर बजार अनुगमन गरिरहेको बताइन् । बिदाको दिनमा पनि निरन्तर अनुगमन र जाँचमा मातहतका निकायलाई परिचालित गरिरहेको उनले बताइन् ।
भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले प्रशासनले एकीकृत सुरक्षा रणनीति अन्र्तगत काम गरिरहेको बताइन् । १८ वटा गाडी, २० वटा मोटरसाइकलमा नियमित रुपमा गस्ती अनुगमन गरिरहेको उनले बताइन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णबहादुर राउतले मुख्य सचिव नेतृत्वको केन्द्रीय अनुगमन समितिले निरन्तर बैठक बसे संयुक्त बजार अनुगमन, भीड व्यवस्थापन, आवागमनमा सहजता बनाउने विषयमा विभिन्न निर्णय गरी सम्बन्धित मन्त्रालयमा पठाएको र मन्त्रालय मातहतबाट काम भइरहेको बताए । उनले तीनै तहको सरकारले अनुगमनको काम गर्नुपर्नेमा जोड दिए । बजारलाई अनुशासित बनाउनका लागि प्रविधिको प्रयोग गरेर अनुगमनलाई जोड दिन सम्बन्धित निकायलाई उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्