लुम्बिनीमा चहलपहल बढ्यो

कोरोना संक्रमणको जोखिमसँगै बन्द भएका धार्मिक आस्थाका केन्द्र विस्तारै खुल्न थालेका छन् । बौद्धमार्गीहरूको आस्था र श्रद्धाको केन्द्र रहेको लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटकको विस्तारै चहलपहल सुरु भएको छ ।
गत साउनदेखि नै लुम्बिनी क्षेत्र खुला गरिए पनि नेपाल सरकारले अनअराइभल भिसा खुला नगरेको कारण नेपाल बाहिरका पर्यटक आउन सकेका थिएनन् । अहिले आन्तरिक पर्यटकका साथै विदेशी पर्यटक आउन थालेका छन् । लुम्बिनी विकास कोषको सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी भ्रमणमा आउने पर्यटककोे संख्या अहिले न्युन भए पनि नेपाल सरकारले अनअराइभल भिसा दिन सुरु गरेकाले अब पर्यटकको आगमन बढ्ने विस्वास गरे । नेपाल सरकारले तय गरेको स्वास्थ्य मापदण्ड पालना गराउने गरी भ्रमणमा आउनेको व्यवस्थापन गरिने सदस्य सचिव शाक्यले बताए ।
उनले भने, “कोरोना संक्रमण कम भएपछि नेपाल सरकारले निषेधाज्ञालाई खुकुलो बनाएर मठमन्दिर खोल्न क्रम सुरु भएको छ । हामीले पनि साउन महिनादेखि लुम्बिनी खुला राखेका छौं । मन्दिर खुला भएसँगै धार्मिक पर्यटनका लागि आन्तरिक पर्यटक आउन सुरु भएको छ । कोरोना संक्रमण कम भए पनि संक्रमणको जोखिम कायमै भएकाले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गराउने गरेका छौं । मायादेवी मन्दिरमा प्रवेश गर्दा मास्क अनिवार्य गरेका छौं । आन्तिरिक पर्यटन आउन सुरु भए पनि पहिलाको तुलनामा धेरै कम संख्यामा आइरहनुभएको छ र यसलार्ई गति दिनुपर्छ । नेपाल सरकारले अनअराइभल भिसा दिन सुरु गरिसकेको छ, दसैं, तिहारजस्ता चाडपर्व पनि आएकाले आन्तरिक तथा बाह्य पर्यट बढ्नेछन् ।”
लुम्बिनी विकाश कोषले विश्व पर्यटन दिवशको दिन लुम्बिनी क्षेत्र खुला रहेको सन्देश विश्वभरि पठाएको जानकारी दिएको छ । लुम्बिनीलाई कोरोना संक्रमणको जोखिमबाट मुक्त गराउँदै पर्यटकलाई आकर्षित गर्नका लागि कोषले कोरोना विकास निर्माण, सरसफाइ र मर्मत सम्भारको काम निरन्तर रूपमा गरिरहेको सदस्य सचिव शाक्यले बताए ।
कोषले अहिले नहर पोखरीमा पानी राख्ने, बगैंचाहरूको मर्मत तथा सरसफाइको काम गरिरहेको छ । पर्यटकलाई आकर्षित गर्न लुम्बिनी विकास कोषमात्र नभई यहाँका होटल व्यवसायी पनि काम गर्नुपर्नेछ । पर्यटकका लागि होटल व्यवसायी र लुम्बिनी विकास कोषको संयुक्त कार्यक्रम प्याकेज आउन सकेमा कोरोनाले थलिएको व्यवसाय माथि उठ्न समय लाग्दैन ।