पुनर्वासले हामीलाई बुढेसकालमा टुहुरा बनायो «

पुनर्वासले हामीलाई बुढेसकालमा टुहुरा बनायो


झापाको दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा लिलाधर आचार्य एक्लै बस्छन् । ७५ वर्षीय आचार्य २०४५ सालमा शिविर आइपुगेका थिए ।
नेपाल लखेटिएपछि दाताले बनाइदिएको छाप्रो र राहतको भरमा बस्दै आएका आचार्यका छोराछोरी सन् २००८ देखि तेस्रो देश पुनर्वास सुरु भएसँगै अमेरिका गए । आचार्य दम्पती भने भुटान फर्कन पाउने आशमा शिविरमा नै बसे ।
भुटान फर्कने आश मरेको भन्दै लिलाधरकी श्रीमती पनि छोराछोरीको साथमा ६ वर्षअघि अमेरिका गइन् । उनका दुई भाइ छोरा, पाँच बहिनी छोरी र श्रीमती यतिबेला अमेरिकामा छन् । लिलाधरलाई भने अमेरिकाको मोहले छुन नसकेको बताउँछन् । “मलाई अझै पनि भुटान फर्कन मन छ, नपाए नेपालमा नै मर्छु,” उनले भने, “म अमेरिका जान नमाने पछि मलाई थाहा नै नदिई मेरी श्रीमतीलाई छोराछोरीले लगे । अहिले यो बुढेसकालमा शिविरमा एक्लै छु ।”
सिंगो परिवार अमेरिका पुगेपछि शिविरमा बस्दै आएका आचार्यलाई परिवारिक विखण्डनले नराम्ररी पिरोलेको छ । “छोराछोरी त गए श्रीमतीलाई मेरै साथमा छोडिदिएको भए बुढेसकालको सहारा हुने थियो । आचार्य तेस्रो देश पुनर्वास कार्यक्रमले परिवारसँग बिछोडिनु परेको बताउँछन् । हाम्रो परिवार किन फुटाइयो ?” उनी प्रश्न गर्छन् । भुटानको सर्वाङमा १२ बिगा जग्गा रहेको बताउँदै न्यौपाने अझै पनि भुटान फर्कने आश नमरेको सुनाउँछन् ।
८३ वर्षीय धनबाहदुर गुरुङ पनि देश फर्कने आशमा तेस्रो देश पुनर्वास भएनन् । तीन भाइ छोरा र चारजना छोराछोरी अमेरिका, अष्टे«लिया छन् । “मेरो श्रीमतीको मृत्यु शिविरमा नै भयो,” राई भन्छन्, “अहिले छोराछोरीको सहारा आवश्यक छ । म जस्तालाई हेर्ने मान्छे कोही छैन । यो बुढेसकालमा टुहुरा भयौं ।”
राई दमका रोगी छन् । शिविरका नागरिकले पाउँदै आएको स्वास्थ्य बिमा कटौती गरेपछि उनलाई औषधि गर्न समस्या हुने गरेको छ । दुई महिना अघिदेखि शरणार्थी शिविरमा बसोबास गर्ने ८० वर्षमाथि तथा असक्त, असहाय वृद्धवृद्धालाई अमेरिकामा रहेको इन्ट्रानेसनल होम केयर एण्ड सपोर्ट फाउन्डेसनले मासिक पाँच हजार रुपैयाँ भत्ता वितरण थालेको छ । फाउन्डेसनले दिएको भत्ताले बिहान बेलुकाको छाक टार्न भने सहज भएको उनले बताए ।
भुटानी शरणार्थी तेस्रो देश पुनर्वास सुरु भएसँगै परिवारका सदस्यहरू फरक–फरक मुलुक पुगे । न्यौपाने र राईको जस्तो सिंगो परिवार बिछोडिएपछि शिविरमा अहिले वृद्धवृद्धा मात्र रहेका छन् । कतिपय भुटान नै फर्कने सोच बनाएर तेस्रो देश पुनर्वास भएनन् भने कतिपय उमेर नमिलेर र विभिन्न रोगका कारण शिविरमा नै रहेका छन् ।
शिविरमा अहिले सात हजार जना रहेको शिविर व्यवस्थापन समितिका दिलिप राईले बताए । उनीहरू आफ्नो देश, आफ्नो शैली, आफ्नो परिवेश छोडेदेखि दाताको भरमा जीविकोपार्जन गर्दै आएका छन् । राईका अनुसार दातृ निकायले कोभिड सहयोगवापत तीन महिनाको अवधिमा प्रतिव्यक्ति तीन हजार रुपैयाँ सहयोग गर्दै आएको । स्वास्थ्य बिमा कटौती हुँदा, वृद्धवृद्धा, सुत्केरी महिला र कोरोना संक्रमित मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्