दसैंपछि १८ वर्षमुनिका बालबालिकालाई पनि

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैंलगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् ।
कान्ति बाल अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आइतबार आयोजित कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले १८ वर्षमुनिका बालबालिकाका लागि कोरोना विरुद्धको एक करोड खोप आउने सुनिश्चित भइसकेको बताए । उनले यसका लागि ४० लाख मोडेर्ना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिएको ताए। उनले भने, ‘मोडेर्ना ४० लाख र फाइजर ६० लाख खोपको खरिद गर्ने व्यवस्था सुनिश्चित भइसकेको छ । दसैंलगत्तै १ लाख फाइजर खोप आउने त्यसपछि फागुनसम्ममा पटकपटक गरेर फाइजर र मोडेर्ना आएर बालबच्चाका लागि पनि खोपको व्यवस्थापन हुनेछ । क्रमिक रुपमा देशभर खोप लगाइने जानकारी गराउन चाहन्छु ।’
राज्यमन्त्री श्रेष्ठले सरकारले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको बताए । उनले भने, ‘तीनै तहको अस्पतालको व्यवस्थापकीय पक्षलाई सुधार्न नीति बनाउने तयारी भइरहेको छ ।’ यस्तै सरकारले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउन विशेष चासो दिइरहेको पनि उनले बताए । कार्यक्रममा बुद्धिस्ट चु जी च्यारिटी फाउन्डेसनले ४१ करोड ४८ लाख ४९ हजार ३०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री कान्ति बाल अस्पताललाई हस्तान्तरण गरेको थियो ।