गैरीबारीमा खसीबोका खरिद बिक्री बढ्यो «

गैरीबारीमा खसीबोका खरिद बिक्री बढ्यो

भरतपुर – चितवनका पहाडी भेगमा व्यावसायिक बाख्रापालन बढेको छ । स्थानीयले मनग्य आम्दानी गरेका छन् । बाख्राको पकेट क्षेत्रका रुपमा चिनिएको कालिका नगरपालिकाको देविटार, गैरीवारी, अजिंगरे, चिसापानी, भर्लाबारीलगायतका गाउँ छन् ।दशैंका लागि खसीबोका लिन आउनेहरुले एकै पटक धेरै बाख्रा खरिद गर्ने सजिलो थलो बनेको छ ।
गैरीबारीमा रहेको लगनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाको संकलन केन्द्रमा बाख्रा किनबेच बढेको छ । सहकारीका व्यवस्थापक जुना लामाले यसपालीको दशैमा १ हजार १ सय वटा खसीबोका बेच्ने लक्ष्य रहेको बताइन् । “वर्षभरी करिब २ हजार बेच्छौँ, आधा दशैं मा बिक्रि हुन्छ”, उनले भनिन्, “साउनयतामात्रै ५ सय वटा बेचिसक्यौँ ।” सहकारीले किसानका खोरबाट बाख्रा खरिद गरेर ल्याएर व्यवसायी तथा ग्राहकलाई बेच्दै आएको छ । जिउँदो २० केजीसम्मकोलाई ५ सय ५० रुपैयाँ र त्यो माथिको तौल भएकालाई ५ सय ७० रुपैयाँ प्रतिकेजीमा बिक्रि हुदै आएको छ । बाख्रापालनबाट सजिलै आम्दानी देखेपछि सिमान्तकृत समुदाय पनि व्यावसायिक पालनमा अग्रसर बढेको छ ।
अजिंगरेकी उमा चेपाङको करिब ५ कट्टठाको पाखोबारी छ । वर्षभरी खान पुग्ने धान पनि फल्दैन । अहिले उनको खोरमा १० बाख्रा छन् । “नुन, तेल किन्ने पैसा पनि हुन्थेन”, उनी भन्छिन्, “अहिले वर्षमा १ लाख कमाइ हुन्छ ।” त्यही गाउँका नरेन्द्र चेपाङ ३ वर्ष यता बाख्रापालनमा छन् । ६ जनाको परिवारको मुख्य आयस्रोतनै बाख्रा हो । “३६ वटा बाख्रा छन्, पाखाबारीमा चराउँछौँ”, उनी भन्छन्, “लगानी खासै छैन, आम्दानी देख्दा खुसी छु ।” उनले हेफर इन्टरनेसन नेपाल संस्थामार्फत ३ वटा बाख्रा उपहार पाएका थिए । तीनै बाख्रा हुर्काएर कमाउन थालेका हुन् ।
कालिका–८ का नरजंग चेपाङ ऋण खोजेर मलेसिया कमाउन पुगे । ३ वर्षजति बसेर फर्केका उनको खोरमा १७ बाख्रा छन् । यसपाली ४ वटा खसी बेचे । “विदेश जादाको ऋण बल्लबल्ल तिरियो”, उनी सम्झन्छन्, “अहिले घरकै बाख्राबाट कमाई हुन थालेको छ ।” देविटारका ४४ वर्षीय दलबहादुर राना मगर १० वर्ष विदेश बसेर अहिले बाख्रापालनमा छन् । गत दशैं मा १० वटा खसी बेचेका उनले यसपाली २ खसी बेच्दैछन् । “विदेशको कमाईले १ विघा जग्गा जोडेँ, त्यही जग्गामा बाख्रापालन गर्छु”, उनी भन्छन्, “उन्नत जातका बाख्रा पाल्ने सोचमा छु ।”
देविटारकै खिरबहादुर मगर २०६४ सालदेखि बाख्रापालनमा छन् । खोरमा ३३ बाख्रा छन् । गत दसंैमा ३३ वटा बेचेका उनले यसपाली ८ वटा बेचिसके । “सुरुमा ३ वटा उपहारको बाख्रा पाएँ, त्यहीबाट अहिले वर्षमा ६–७ लाख कमाई हुन्छ”, उनी भन्छन्, “कमाउन विदेश जानुनपर्ने रहेछ ।” बाख्राकै कमाईबाट उनले छोराछोरीलाई उच्चशिक्षा दिए ।
लगनशील सामाजिक उद्यमी महिला सहकारी संस्था अध्यक्ष छमिकुमारी राना मगरले ५२ वटा समूह बनाएर बचत तथा व्यावसायिक प्रवद्र्धनको काम गर्दै आएको बताइन् । “धान, मकै, कोदो लगाउन छाडेर धेरै किसान बाख्रापालनमा सक्रिय छन्”, उनी भन्छिन्, “जति उत्पादन भएपनि बजारीकरणमा समस्या छैन, सहकारीले खरिद गरेर बेच्दै आएको छ ।” किसानको दैलोमै पुगेर खसीबोका संकलन केन्द्रमा ल्याउन बोलेरो गाडीनै खरिद गरेको छ । “किसानले ग्राहक खोज्नैपर्दैन, बेच्न योग्य भएको खबर भएपछि सहकारीनै लिन पुग्छ”, उनले भनिन्, “प्रतिकेजी १० रुपैयाँमात्रै संस्थाले राख्छ, अरु सबै रकम किसानलेनै पाउँछन्, बिचौलिया समस्या पनि हटेको छ ।” सहकारीले मासिक बचेत गरेर किसानलाई आवश्यक पुँजीको पनि व्यवस्था मिलाउँदै आएको छ । मल, विउविजन, किराना पसलसमेत सञ्चालन गरेर किसानलाई सघाउँदै आएको छ । २० देखि ५ लाखसम्म विना धितो कर्जा दिँदै आएको छ ।
दसंैमा मासु अभाव नहुने
खसीबोका मासु व्यवसायी संघ चितवनले दशैंमा १० हजार खसीबोका खपत हुने जनाएको छ । संघका अध्यक्ष उद्वव तिम्सिनाका अनुसार प्रत्येक मासु पसलमा दशैंको अवधिमा ५ देखि ८ वटासम्म खसीबोका खपत हुनेछन् । “लकडाउन खुलेपछि मासिक ६ हजार खसी खपत भए, पसलमा ३ वटासम्म खसी बिक्री भए”, उनी भन्छन्, “यो दशैंमा १० हजार खपत हुन्छन् भन्ने आशमा छौं, गत दसंैमा मुस्किलले ५ हजारमात्रै खपत थियो ।” कोभिड–१९ का कारण कैयन मासु व्यवसायी पलायन भएको उनले बताए । गाउँघरमा समूह मिलेर खसीबोका काट्ने क्रम बढेकाले मासु पसलमा खपत हुने अनुमान गर्नै कठिन भएको बताए । “मासु पसलमामात्रै खसीबोकाको किनबेच छैन, घर, समूहगत रुपमा कारोबार भैरहेका छन्”, उनले भने, “गत वर्षभन्दा केही सुधारको अपेक्षामा छौं ।” गाउँमा बाख्रापालन बढेकाले यसपालीको दसंैमा मासु अभाव नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्