वन क्षेत्रमा निजी लगानी बढाउन आवश्यक «

वन क्षेत्रमा निजी लगानी बढाउन आवश्यक

वनबाट रोजगारी अभिवृद्धि गराउन वनमा निजी क्षेत्रको लगानी बढाउन आवश्यक रहेको सरोकारवालाले बताएका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै सरोकारवालाले वन क्षेत्रमा निजी लगानी बढाएमात्रै रोजगारी अभिवृद्धि हुने बताएका हुन् ।
वनमा निजी लगानीको सुनिश्चितता नभएकाले गर्दा निजी क्षेत्रको लगानी आकर्षण गर्न नसकिएको उनीहरूको गुनासो छ । नेपाल वनपैदावार उद्योग व्यवसायी महासंघका अध्यक्ष श्याम ढकालले निजी क्षेत्रले दक्ष जनशक्ति उत्पादन गर्न सकेमा रोजगारमा पनि वृद्धि गर्न सकिने बताए । “काठजन्य उद्योगमा काम गर्ने भारतका नागरिक बढी छन्, यहाँ दक्ष जनशक्ति अभाव छ,” उनी भन्छन्, “काठ उद्योगमा निजी क्षेत्रबाट मात्रै ५ लाखलाई रोजगारी दिन सकिन्छ ।”
उनले वनमा निजी लगानी बढाउनका लागि लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले लिन नसकेको भन्दै गुनासो गरे । “जबसम्म निजी क्षेत्रको लगानीको सुरक्षा हुँदैन, तबसम्म लगानी र रोजगारी बढाउन सकिँदैन,” उनले भने, “दक्ष जनशक्ति निर्माण गरेर विदेशबाट आयात हुने फर्निचर सामान नेपालमा नै निर्माण गर्न सकिन्छ ।”
महासंघका पूर्वअध्यक्ष कपिल अधिकारीले निजी क्षेत्रबाट धेरैलाई रोजागरी दिने सम्भावना रहेको भन्दै वन पैदावारको दिगो व्यवस्थापन हुन जरुरी रहेको बताए । “वनबाट रोजागारी बढाउन स्वदेशी कच्चा पदार्थमा आधारित वन उद्यम स्थापना गर्न आवश्यक छ,” उनले भने ।
निजी वन मासंघका महासचिव होमप्रसाद घिमिरेले काठजन्य वन पैदावारबाट रोजगारी बढाउन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्