वस्तुको मूल्य सस्तो वा महँगो कसरी थाहा पाउने «

वस्तुको मूल्य सस्तो वा महँगो कसरी थाहा पाउने

एक उद्योगीले एउटा नयाँ खेलौना बनायो । खेलौनाको लागत मूल्य १ सय रुपैयाँ प-यो । उसले उपभोक्ता मूल्य ३ सय रुपैयाँ राखेर बिक्रीका लागि बजारमा पठायो । बिक्री केन्द्रहरू सीमित राख्यो । मानिसहरूले फाट्टफुट्ट मात्र त्यो खेलौना किने ।
एक वर्षपछि उसले बिक्री केन्द्रहरू जताततै फैलायो । मूल्य ३ सय रुपैयाँ नै कायम राख्यो । खेलौना भने खासै बढी बिक्री भएन । तर, धेरै मानिसले खेलौना र त्यसको मूल्यबारे जानकारी पाए । त्यसपछि उद्योगीले क्रमशः खेलौनाको मूल्य २ सय ९० रुपैयाँ, २ सय ८० रुपैयाँ हुँदै घटाउँदै गयो । मानिसहरूले सस्तोमा पाइयो भन्दै किन्न थाले । खेलौनाको मूल्य २ सय रुपैयाँमा झर्दासम्म प्रायः सबै व्यक्तिको हातमा उसका खेलौना परे ।
त्यही समय अर्को उद्योगीले पनि नयाँ खालको खेलौना बनाएको थियो । उसको लागत मूल्य पनि १ सय रुपैयाँ नै थियो । उसले उपभोक्ता मूल्य १ सय ५० रुपैयाँ तोकेर बजारमा बिक्रीका लागि पठाएको थियो । दुई–तीन वर्ष बित्दासम्म पनि उसको खेलौना खासै बिक्री भएन ।
उपभोक्ताहरूले सस्तो वस्तु पायो भने धेरै किन्छन् । तर, वस्तुको मूल्य कति भए सस्तो र कति भए महँगो हुन्छ ? महँगो र सस्तो भनेको सापेक्षित कुरा हो । उपभोक्तालाई अन्य वस्तुको मूल्य थाहा छैन भने कुनै एक वस्तु सस्तो वा महँगो भन्न सक्दैन । एउटा वस्तुको मूल्य १ सय रुपैयाँ छ । त्यो वस्तुको मूल्य १ महिनाअघि १ सय ५० रुपैयाँ थियो भने उपभोक्तालाई सस्तो लाग्छ । यदि त्यही वस्तुको मूल्य ८० रुपैयाँ छ, तर एक महिनापहिले त्यसको मूल्य ७० रुपैयाँ थियो भने उपभोक्तालाई महँगो लाग्छ ।
त्यसैगरी एउटा ‘क’ वस्तुको मूल्य १ सय रुपैयाँ छ । त्यस्तै उपयोगिता भएको अर्थात् त्यसको सट्टामा प्रयोग गर्न सकिने अर्को वस्तुको मूल्य ९० रुपैयाँ छ । अब उपभोक्तालाई त्यो ‘क’ वस्तुको मूल्य महँगो लाग्छ । यदि ‘क’ वस्तुको मूल्य १ सय रुपैयाँ नै छ र त्यो अर्को वस्तुको मूल्य १ सय १० रुपैयाँ छ भने उपभोक्तालाई ‘क’ वस्तु सस्तो लाग्छ ।
सट्टामा प्रयोग गर्न सकिने वस्तु सबैका लागि एउटै हुँदैन । मानौं, लौका ६० रुपैयाँ र घिरौंला ५० रुपैयाँ केजी छ । दुवै तरकारीको अपेक्षित उपयोगिता बराबर भएका व्यक्तिका लागि लौका महँगो हो । तर, डाक्टरले घिरौंलाभन्दा लौकाको तरकारी ५० प्रतिशत लाभप्रद भनेको व्यक्तिका लागि लौका सस्तो हुन्छ । किनकि उसले लौकाबाट प्राप्त गर्ने उपयोगिता ५० प्रतिशत बढी छ भने मूल्य २० प्रतिशत मात्र बढी छ ।
त्यसैले कुनै पनि वस्तु आफैंमा सस्तो वा महँगो हुँदैन । त्यो उपभोक्तालाई मनमा लाग्ने मात्र हो । त्यही वस्तुको विगतको मूल्यको तुलना वा त्यसको सट्टामा प्रयोग गर्न सकिने अर्को वस्तुको मूल्यसँग तुलना गर्दा मात्र सस्तो–महँगो लाग्छ ।
सस्तो वा महँगो लाग्ने अर्को अवस्था पनि हुन्छ । हाते ट्याक्टरको मूल्य १ लाख रुपैयाँ छ । हल गोरुको मूल्य २० हजार रुपैयाँ छ । दुवैको काम जोत्ने हो । कुन महँगो ? मूल्य मात्र हेर्दा त ट्याक्टर महँगो देखिन्छ । तर, वास्तवमा यो व्यक्तिपिच्छे फरक हुन्छ ।
गोरुलाई वर्षैभरि खुवाएर पाल्नुपर्छ । ट्याक्टरलाई जोत्ने बेला मात्र डिजेल हाले पुग्छ । ट्याक्टरले केही घण्टामा जोतिसक्छ । त्यही खेत जोत्न गोरुलाई केही दिन लाग्छ । ट्याक्टरले जोत्ने हो भने किसानको धेरै दिन उब्रिन्छ । ती उब्रेका दिनमा उसले अरू काम गरेर आम्दानी गर्न सक्छ । यस्तो अवस्थामा गोरु महँगो पर्न जान्छ ।
खाली समयमा अन्य काम गरेर आर्जन गर्ने अवस्था छैन । गोरुका लागि आवश्यक खाना किन्नु पर्दैन । गोरुको मल बिक्री हुन्छ । गोरुलाई वर लगाएर किसानले आम्दानी गर्छ । गोरु किन्ने पैसा किसानसँग छ । ट्याक्टर किन्न २० प्रतिशत ब्याजमा ऋण लिनुपर्छ । यस्तो अवस्थामा गोरु सस्तो पर्न जान्छ ।
माथिका भौतिक उपयोगिताका उदाहरण हुन् । वस्तु महँगो वा सस्तो मानसिक उपयोगिताको आधारमा पनि तय हुन्छ । एक युवतीलाई बिहे पार्टीमा जानु छ । पसलमा उनलाई ५ हजार रुपैयाँको एक र ७ हजार रुपैयाँको दोस्रो सारी देखाइयो । उनलाई ७ हजार रुपैयाँको सारी सस्तो लाग्ने अवस्था पनि हुन सक्छ ।
ती युवतीको मनको आवश्यकता आफ्नो मान–प्रतिष्ठा होस् भन्ने छ । ५ हजार रुपैयाँको सारीको तुलनामा ७ हजार रुपैयाँको सारी लगाउँदा आफ्नो मान ५० प्रतिशत बढ्छ भने उनलाई त्यही सस्तो हुन्छ । मूल्य ४० प्रतिशत बढाउँदा मान ५० प्रतिशत बढ्नेवाला छ ।
सस्तो र महँगो भन्ने कुरा आफ्नो क्रयशक्तिले पनि प्रभाव पार्छ । ‘क’ भन्ने व्यक्तिको आम्दानी आधारभूत न्यूनतम खान–लगाउन पुग्ने मात्र छ । उसलाई एक महिनाअघिको तुलनामा ५० प्रतिशत मूल्य घटे पनि खेलौंना महँगो नै हुन्छ । उसका लागि दाल, चामल, नुन, तरकारी, लुगाजस्ता वस्तु कुनै महँगा र कुनै सस्ता तथा कहिले महँगा र कहिले सस्ता हुन्छन् । तर, अरू वस्तु जहिले पनि जे पनि महँगा मात्र हुन्छन् ।
यसरी हेर्दा कुनै पनि वस्तु महँगो वा सस्तो भन्ने हुँदैन । त्यसको उपभोग गर्ने व्यक्तिको क्रयशक्ति, उसको आवश्यकता, त्यसबाट सम्बन्धित व्यक्तिले प्राप्त गर्ने अपेक्षा गरेको भौतिक र मनोवैज्ञानिक उपयोगिता, त्यही वस्तुको विगतको मूल्य र भविष्यमा हुन सक्ने सम्भावित मूल्य तथा सट्टामा प्रयोग गर्न सकिने अन्य वस्तुको मूल्यका आधारमा कुनै पनि वस्तु सस्तो या महँगो हुन जान्छ ।

प्रतिक्रिया दिनुहोस्