पोखरामा पनि काटियो इन्टरनेटका तार «

पोखरामा पनि काटियो इन्टरनेटका तार


नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण शाखाले पोखरा क्षेत्रमा अत्यावश्यक सेवा इन्टरनेटको तार काट्न सुरु गरेको छ । केन्द्रको निर्देशनअनुसार आफूहरूले पोखरा क्षेत्रमा सांकेतिक रूपमा केही स्थानमा इन्टरनेटका तार काटिएको नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण शाखाका प्रमुख ऋषिकुमार बरनवालले बताए ।
प्राधिकरणले पोखराका नौ ठाउँमा सेवा प्रदायक केही कम्पनीको इन्टरनेट सेवाको तार काटिदिएको उनले दाबी गरे । उनका अनुसार वल्र्ड लिंक, भायानेट, पोखरा इन्टरनेटलगायतका इन्टरनेटका तार काटिएको छ । अधिकांश केबलमा ट्रयाक नहुँदा कससन इन्टरनेट कम्पनीको तार हो भनेर पहिचान गर्नसमेत कठिन भएको उनले जनाए । पोखरा महानगरपालिका–६ लेकसाइडको डिहिकोपाटन, लालुपाते मार्ग, पोखरा १५ को टुटुङगा, ढुंगेसाँघु , पोखरा १७ को पार्दी विरौटा, छोरेपाटन, महतगौडा, डेबिड फल्सलगायतको क्षेत्रमा संचालन भएको इन्टरनेट सेवा हाल सांकेतिक रूपमा मात्र काटिएको प्रमुख बरनवालले बताए । अस्पताल, स्कुललगायतका अत्यावश्यक कार्यालयमा संचालन भएको उक्त सेवालाई हाल कुनै तार नकाटिएको उनले जनाए ।
केन्द्रमा वार्ता जारी रहे पनि केन्द्रको निर्देशन आएमा पुनः आफूहरूले बाध्य भएर अन्य ठाँउमा इन्टरनेट सेवाको तार काट्न बाध्य हुने प्रमुख बरनवालले चेतावनी दिए । उनका अनुसार इन्टरनेट प्रदायक अधिकांश कम्पनीहरूले महँगो शुल्क भएको भन्दै विगत २०७४ देखि अर्था तीन वर्षदेखि प्राधिकरणको पोलमा इन्टरनेट तार प्रयोग गरे वापतको शुल्कः तिरेका छैनन् । प्राधिकरणले सेवाप्रदायिक संस्थासंँग पोलमा तार प्रयोग गरेवापत प्रतिवर्ष प्रतिपोलको २ सय ५ रुपैयाँ शुल्क निर्धारण गरेको थियो यद्यपि पछि मूल्य वृद्धि भएको विषयमा व्यवसायीहरू सशंकित हुँदै शुल्क तिर्न छाडेका थिए । करिब तीन सय प्रतिशत मूल्य वृद्धि गर्नु उचित निर्णय नभएको व्यवसायीको दाबी छ ।
एनटीसी, एनसेल र डिस होमले भने प्राविधिकरणलाई पोलको शुल्क तिर्ने घोषणा गरेकोले पोखरा क्षेत्रका उनीहरूको तार नकाटिएको उनले जनाए । पोखरा क्षेत्रमा करिब १३ वटा इन्टरनेट प्रदायक संस्था छन् ।
आफूहरूले वार्ता र छलफलबाट केही शुल्कः घटाएर प्राधिकरणलाई शुल्कः तिर्न तयार हुँदाहुँदै एकाएक अत्यावश्यक सेवालाई अवरुद्ध हुने गरी इन्टरनेटको तार काट्नु आमउपभोक्तालाई यसले प्रत्यक्ष प्रभाव परेको व्यवसायीले गुनासो गरेका छन् । वल्र्ड लिंकका यूसुफ श्रेष्ठले प्राधिकरणले अस्वाभाविक रूपमा पोलमा प्रयोग हुने तारवापतको शुल्कको मूल्य वृद्धि गरेर हाल एकाएक तार काटुन उचित निर्णय नभएको बताए । पुरानो मूल्यमा बाँकी रहेको बक्यौता रकम तिर्न आफूहरूले ताकेता गरेको उनले जनाए । अहिलेको अनलाइन प्रणालीबाट धेरैले शिक्षा हासिलसहित केहीको परीक्षासमेत सञ्चालन भएको अवस्थामा तार काट्नु गलत निर्णय भएको श्रेष्ठले जनाए । पोखरा क्षेत्रमा वल्र्ड लिंकको मात्र करिब ११ ठाँउमा तार काटिएको उनले जनाए ।
पोखरा इन्टरनेटका विजेस पालिखेले आफूहरूले घर जग्गा राखेर आम जनताको पहुँचमा इन्टरनेट सेवा पुराउने उद्देश्यले काम गरे पनि हाल प्राधिकरणले एकाएक इन्टरनेटको तार काटुन गलत निर्णय भएको बताए । प्राधिकरणको पोलमा तार प्रयोग गरेवापतको शुल्कः विस्तारै किस्तामा तिर्ने व्यवस्था मिलाउन माग गर्दै उनले आफूहरूले शुल्कः तिर्न तयार भएको अवस्थामा तार काटेर आमजनतालाई प्राधिकरणले सास्ती दिएको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्