प्रदूषण कर हट्यो, घरबहाल कर बढ्यो «

प्रदूषण कर हट्यो, घरबहाल कर बढ्यो

इलाम- स्थानीवासीको चर्को विरो पछि इलाम नगरपालिकाले लिँदै आएको अतिरिक्त प्रदूषण कर अब हटाउने भएको छ । इलाम नगरपालिकाको बुधबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाभित्रका पम्पबाट पेट्रोलियम पदार्थमा लिइँदै आएको अतिरिक्त कर हटाउने निर्णय गरेको हो ।
संघीय सरकारले यसअघि नै यो कर हटाउन पत्र पठाए पनि इलाम नगरपालिकाले वास्ता गरेको थिएन । संघीय अर्थ मन्त्रालयमार्फत नै यो कर उठाउन आदेश आएपछि उठाउन थालिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । नगरपालिकाले गत भदौ ७ गतेबाट प्रतिलिटर इन्धनबाट ५० पैसा प्रदूषण नियन्त्रण कर लिँदै आएको थियो । अव फागुन १ गतेबाट कर नलिने इलाम नगरपालिकाका प्रमुख बस्नेतले वताए । उनका अनुसार प्रतिलिटर ५० पैसाका उठाइएको र उठेको रकमबाट ३१ प्रतिशत नगरपालिकाले खर्च गर्ने र बाँकी १९ प्रतिशत संघीय अर्थ मन्त्रालयमा पठाइँदै आइएको थियो ।
हालसम्म अर्थात करिव पाँच महिनाको अवधिमा अतिरिक्त शुल्कमार्फत ५ लाख रूपैयाँ संकलन भएको बताइएको छ । जिल्लावासीले प्रदूषण कर सवारी खरिद गर्दा नै तिरिसकेकाले इलाम नगरपालिकाबाट लिँदै आइएको कर हटाउन माग गर्दै आएका थिए । इलाम नगरपालिकामा दुई वटा इन्धन बिक्री गर्ने पम्प छन् ।
त्यस्तै नगरकार्यपालिकाको बैठकले घरबहाल कर बढाउने निर्णय गरेको छ । हालसम्म इलाम नगरपालिकाले घरबहाल कर ७ प्रतिशत लिँदै आएको थियो । आगामी आर्थिक वर्षबाट घरबहाल कर १० प्रतिशत लिइने नगरप्रमुख महेश बस्नेतले जानकारी दिए । प्रदेश सरकारबाट नै न्यूनतम १० प्रतिशत घरबहाल कर उठाउनु भनेर आदेश आएपछि कर बढाउन लागिएको प्रमुख बस्नेतको भनाइ छ । उनले घरबहाल कर १२ प्रतिशतसम्म लिन पाउने प्रावधान रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्