जहाजमा कहिलेकाहीं समस्या देखिनु स्वाभाविक : उपसमिति «

जहाजमा कहिलेकाहीं समस्या देखिनु स्वाभाविक : उपसमिति


नागरिक उड्डयन सम्बन्धी समस्या र समाधान उपसमितिले हवाइजहाजमा देखिएका प्राविधिक समस्याका सम्बन्धमा छलफल गरेको छ ।
उपसमितिको बैठकले पछिल्लो समय हवाइजहाजमा देखिएका प्राविधिक समस्याहरुको बारेमा छलफल गरेको हो । छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले केही दिनअघि बुद्ध एयरमा देखिएको समस्या त्रुटिवश भएको बताए । उनले बुद्ध एयरमा भएको घटनाको अहिले अनुसन्धान भइरहेको पनि बताए । सहसचिव लामिछानेले विमान मिसिनबाट चल्ने भएकाले कहिलेकाँही केही समस्याहरु देखिनु स्वभाविक भएको तर्क गरे ।
“अस्ति बुद्ध एयरको जुन एउटा घटना भयो,अहिले हामी सबै त्यसको इन्भेष्टिगेशनको चरणमा छौं” उनले भने, “अनुसन्धान पूरा भएपछि भन्ने ठाउँ त भइ नै हाल्छ,अस्तिको घटना एउटा प्रिन्सीपल्ली हेर्दा दुर्घटना कसरी हुन्छ ? भन्ने कुरामा यो त जब इन्जिन स्टार्ट हुन्छ, तब घटनाहरु हुन शुरु हुन्छन्,त्यहाँ मिसिन हुन्छ, मान्छे हुन्छन्, आकाशमा, बादल लगायतका धेरै चिजहरुको सम्मिश्रण हुँदा,घटनाहरु हुने सम्भावना भइरहन्छ,कति घटनाहरु रेगुलेटरलाई पनि थाहा हुँदैन,कति कुराहरु पाइलटले मात्रै फेस गरेको हुन्छ र त्यत्तिकै पनि समाधान हुन्छ,कति अप्रेटरकोमा आउँछ, त्यहाँबाट समाधान हुन्छ, साना घटनाहरुलाई हामी इरर भन्छौँ, अस्तिको कुरा इरर हो ।”
छलफलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले प्राधिकरणले आफ्नो क्षेत्रबाट कतै पनि कमजोरी नगरेको बताए । उनले नागरिक उड्ययन प्राधिकरणलाई हित हुने गरेर राम्रो सुझाव आए सहजै स्वीकार गर्ने बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सहयोगी राजु श्रेष्ठले बुद्ध एयरको बारेमा अनुसन्धान भइरहेकोले केही भन्न नमिल्ने बताए । उनले जहाज किन्ने बेलामा हरेक जहाजको पार्टपूर्जा, ल्याण्डिङको आयु तोकेको हुने भन्दै त्यसै आधारमा रहेर छानबिन टोलीले अनुसन्धान गरिरहेको बताए । यति एयरलाइन्सका अप्रेसन्स म्यानेजर गोविन्द पौड्यालले हरेक विमान उड्नुअघि इन्जिनियरहरुले चेक गरेपछि मात्रै उड्ने भएकाले हालै भएको बुद्ध एयरको घटना अपवादमा भएको बताए ।
श्री एयरलाइन्सका अध्यक्ष सुधिर मित्तलले गाडीको जस्तै जहाजको पनि टेक्निकल समस्या आउने भएकोले हालै भएको बुद्ध एयरमा त्यही समस्या दोहिरिएको बताए । उनले सधैं आइरहनु ठूलो समस्या भएको तर कहिलेकाँही देखिनुलाई ठूलो समस्या भन्न नसकिने बताए । उनले १५ वर्षको इतिहासमा पहिलोपटक पाङ्ग्रा ननिस्किने समस्या आएको भन्दै यसै समस्यालाई लिएर दण्ड दिन नमिल्ने बताए ।
अध्यक्ष मित्तलले अन्तर्राष्ट्रिय स्तरमा हेर्दा पनि विगत ५ वर्ष यता नयाँ जहाज दुर्घटना र समस्या आइरहेको बताए ।
एथ्री २० नियोमा इतिहासमै सबैभन्दा धेरै उड्दा उड्दै जहाजको इन्जिन बन्द हुने समस्या आएको बताउँदै अध्यक्ष मित्तलले नियमन निकायले तोकेको भन्दा धेरै उडान भरेमा समस्या आइरहने बताए ।

प्रतिक्रिया दिनुहोस्