उपत्यकामा १० प्रतिशत ट्याक्सी नवीकरण नगरी सञ्चालन

काठमाडौं उपत्यकामा १० प्रतिशत अर्थात् करिब एक हजार ट्याक्सी नवीकरण नगरी सञ्चालनमा रहेको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । विभागका अनुसार उपत्यकामा १० हजार ट्याक्सी रहेकोमा अझै एक हजार नवीकरण नगरी सञ्चालनमा छन् ।
दर्ता भई सञ्चालन भएका ट्याक्सीले अनिवार्य रूपमा एक÷एक वर्षमा नापतौल विभागमा नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । विभागका अनुसार आठदेखि नौ हजार ट्याक्सी भने नवीकरण गरेर नियमित रूपमा सञ्चालनमा छन् ।
विभागका निरीक्षक कमल ओझाले उपत्यकामा सञ्चालन भएका १० प्रतिशत ट्याक्सी नवीकरण नगरी सञ्चालन गर्ने गरेको उनले जानकारी दिए । समयमा नवीकरण नगर्ने ट्याक्सीलाई कारबाही गरिएको विभागले जानकारी दिएको छ ।
एक वर्षभित्र नवीकरण गर्ने ट्याक्सीलाई एक सय रुपैयाँ र एकदेखि दुई वर्षसम्म नवीकरण गर्नेलाई २५० रुपैयाँ जरिवाना गर्ने गरेको उनले जानकारी दिए । नवीकरण नगर्नेलाई विभागले जरिवाना लगाउने, समयमा चेकजाँच नगर्ने, मिटर बिगार्ने, यात्रुलाई ठग्ने ट्याक्सीलाई कारबाहीका लागि जिल्ला अदालतमा मुद्दा दायर गर्ने गरेको विभागले जानकारी दिएको छ । यो वर्ष पाँच वटा ट्याक्सीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ ।
ट्याक्सीको सिल तोडेर मिटर बिगार्नेलाई तीन वर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था गरिएको छ । यस्तै यात्रु ठगी गर्ने ट्याक्सी चालकलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । पाँच वर्षसम्म मिटर चेकजाँच नगरिकन चलाउने ट्याक्सीलाई खारेज गरिने विभागले जानकारी दिएको छ । एउटाले ट्याक्सी किनेर अर्काेलाई चलाउन दिने र उसले लामो समयसम्म चलाउने तर, नवीकरण नगर्दा समस्या आउने गरेको छ ।
ट्याक्सीले मिटरअनुसार यात्रुबाट शुल्क लिनुपर्ने व्यवस्था भए पनि कतिपयले बीचबाटोमा मिटरको सिल बिगारेर ठग्ने गरेको उपभोक्ताको गुनासो छ । मिटरमा जान नमान्ने र मनपरी ढंगले शुल्क उठाउने गरेको समेत यात्रुको गुनासो छ । समयमै पुग्नका लागि धेरैजसो मानिस ट्याक्सी चढ्ने गर्छन । ट्याक्सीले भनेको समयमा नजाने, बीचबाटोमै छोडदिने, मनपरी भाडा लिने गरेको यात्रुको गुनासो छ । ट्याक्सी व्यवसायीले भने कोभिडका कारणले व्यवसाय सञ्चालन नहुँदा किस्ता तिर्न समस्या परेको बताएका छन् । कोभिडको संक्रमण नियन्त्रण गर्नका लागि गरिएको लामो समय निषेधाज्ञाको बेला पूर्णरूपमा सवारीसाधन बन्द भएको र खुला हुँदा पनि यात्रुहरू चढ्न नमान्ने गरेको व्यवसायीको गुनासो छ ।