सदरमुकाममै बसपार्क नहुँदा समस्या

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा बढ्दो सवारी चापका कारण पैदल यात्री र आम सर्वसाधारणको आवतजावतमा समस्या भएको छ ।
सवारीसाधन व्यवस्थापनका लागि जिल्लामै बसपार्क नहुँदा सडक छेउको पार्किङले सर्वसाधारणलाई समस्या भएको हो । जिल्ला सदरमुकाम मुसिकोटमा बसपार्क नहुँदा वर्षेनि बढ्दै गएको सवारी चाप र अव्यवस्थित पार्किङका कारण सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । सडकछेउमै सानादेखि ठूला सवारीसाधन पार्किङ गरेर राख्दा काम विशेषले घरबाहिर हिँंडेका पैदलयात्रीलाई ज्यान जोगाउनै मुस्किल भएको छ ।
साँघुरो सडकमै गरिने पार्किङ र त्यसमै दिनुहँ सवारीसाधनको ओहोरदोहोरले विद्यार्थी, साना बालबालिका, वृद्धवृद्धा र बिरामी बढी मारमा परेको स्थानीय रामबहादुर ओलीको भनाइ छ । दाङ, सल्यान हुँदै रुकुमसम्मको सडक यातायात जोडिएको डेढ दशक बढी समय बितिसक्दा पनि जिल्लामा हालसम्म बसपार्क निर्माण हुन सकेको छैन । सल्लेस्थित भेरी भन्ने स्थानमा निर्माण गर्ने भनिएको बसपार्कको कामसमत अलपत्र अवस्थामा छ । तर मुसिकोट नगरपालिकाका उपप्रमुख प्रेमकुमारी केसीले जिल्लाको पार्किङ समस्यालाई अन्त्य गर्न छिट्टै बसपार्क निर्माणको कामलाई सुरु गरिने बताइन् । रुकुम पश्चिममा बसपार्क नहुँदा लामो समयदेखि बागबजार, पातुखोला, मठ र सल्लेलगायतको मुख्य सडक छेउ हाल सवारीसाधनको पार्किङस्थल बन्दै आइरहेको छ ।
बसपार्क व्यवस्थापनका लागि सदरमुकाम मुसिकोटमा सहरी विकास तथा भवन विभागले यसअघि नै ५२ करोड १२ लाख लागतमा व्यवस्थित मलसहितको बसपार्क निर्माण गर्नेगरी डीपीआर गरिसकेको छ । तर भौगोलिक समस्यालगायत विविध कारण देखाउँदै हालसम्म बसपार्क निर्माणको काम सुरु हुन सकेको छैन ।