विमान चार्टर्ड गरेर मनाङमा पर्यटक «

विमान चार्टर्ड गरेर मनाङमा पर्यटक


हिमाली जिल्ला मनाङमा विमान चार्टर्ड गरेर पर्यटकहरू पुगेका छन् । जिल्लाको हुम्डे विमानस्थलमा विमान अवतरण गरी दुईजना इजरायलीसहित २९ जना पर्यटक मनाङ पुगेका हुन् ।
गत असार १ गते आएको बाढीपहिरोका कारण सडक सञ्जाल अवरुद्ध भएपछि चार्टर्ड विमानमार्फत स्वदेशी तथा विदेशी पर्यटक मनाङ पुगेका हुन् । मास्टर हिमालयन नामक संस्थाले समिट एयरको विमान चार्टर्ड गरी स्वदेशी तथा विदेशी पर्यटकलाई मनाङको हुम्डे पु¥याएको हो ।
बिहीबार पोखरादेखि दुई पटकसम्म उडान भरेर २९ जना पर्यटक हुम्डे पुगेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । विमान चार्टर्ड गरेर गएका पर्यटकमध्ये ६ जना अपांगता भएका व्यक्ति भएको जानकारीमा आएको प्रजिअ लामिछानेले बताए । टोलिमा पर्यटकसहित ४० जना पथप्रदर्शक तथा सहयोगी पनि रहेका छन् ।
हुम्डे एरपोर्टमा अवतरण गरेका पर्यटकले पदयात्रा गरी पाँच हजार ४१६ मिटर उचाइमा रहेको थोराङ्ला पास गरी मुक्तिनाथ हुँदै अन्नपूर्ण पदमार्गको यात्रा पूरा गर्ने भएका छन् । शारीरिक रुपमा अपांगता भएका पर्यटकले ह्विलचियरमार्फत थ्रोङलापास गर्नेसमेत बताइएको छ ।
विमान चार्टर्ड भएसँगै हुम्डे एयरपोर्टमा दुई वर्षपछि विमान अवतरण भएको छ । दुई वर्षअघि पर्यटन वर्षलाई लक्षित गर्दै गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्रीसहितको टोलीले परीक्षण उडान गरेको थियो । तत्कालीन समयमा उडान निरन्तरता दिने भनिए पनि त्यसयता मनाङमा कुनै पनि विमानले उडान भर्न सकेको थिएन ।
विश्वप्रशिद्ध अन्नपूर्ण पदमार्गमा पर्ने मनाङको हुम्डे विमानस्थलमा नेपाल वायुसेवा निगमले मनाङ–पोखरा र पोखरा–मनाङको उडान भर्न २०३९ साल असोजबाट सुरु गरेको हो । आठ वर्षअघि हुम्डे विमानस्थललाई स्तरोन्नति गरी कालोपत्रेसमेत भएको छ । मनाङमा सडक सञ्जाल जोडिनुअघि जिल्लामा रहेका कर्मचारी, शिक्षक, व्यवसायीलगायत पर्यटकहरूले हवाईसेवा प्रयोग गर्ने गरेका थिए ।
नेपाल नागरिक उड्डयान प्राधिकरणमा धेरै पटक उडानका लागि अनुरोध गर्दा पनि उडानलाई निरन्तरता दिन सकेको थिएन । समुद्रि सतहदेखि ११ हजार १४५ फिट उचाइमा रहेको हुम्डे विमानस्थलमा तत्कालीन समयमा हप्ताको दुई पटक उडान भर्दै आएको थियो । मनाङमा मोटर पुगेपछि यात्रु अभावका कारण विमानस्थल बन्द भएको अनुमान गरिएको छ । मनाङको सडक यात्रा पनि सजिलो नभएकाले विमान सुचारु गर्न अति नै आवश्यक रहेको मनाङका स्थानीयले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्