बैंकको ब्याजदरविरुद्ध रूपन्देहीका व्यवसायी «

बैंकको ब्याजदरविरुद्ध रूपन्देहीका व्यवसायी

रूपन्देहीका व्यवसायीले बैंक तथा वित्तीय संस्थाले लिने चर्को ब्याजदर नियन्त्रण गर्न माग गर्दै बिहीबार प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएका छन् । उद्योग व्यापार संगठन रूपन्देहीको अगुवाइमा व्यवसायीहरूले मुख्यमन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाएका हुन् । उनहरूले अघिल्लो साता विरोध प्रदर्शन गर्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखामा ज्ञापनपत्र बुझाएका थिए ।
उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष नारायण भण्डारीले बैंक तथा वित्तीय संस्थाले लिएको चर्को ब्याजदरको विरोधमा शुक्रबार भैरहवामा -याली प्रदर्शन गर्ने र राष्ट्र बैंकको सिद्धार्थनगर शाखामा धर्ना दिने बताए ।
ऋण दिने बेला ७-८ प्रतिशत ब्याजमा दिने तर दुई–चार महिनामै वृद्धि गरी १५-१६ प्रतिशत पु-याउने गरेको भन्दै व्यवसायीले आक्रोस व्यक्त गरेका छन् । रूपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारीले बैंकहरूले मनलागी काम गर्दा उद्योगी–व्यवसायी र सर्वसाधारणलाई मर्कामा परेको बताए । रूपन्देही उद्योग संघले बुटवलमा पत्रकार सम्मेलन गरी बैंक वित्तीय संस्थाका यस्ता काम तत्काल बन्द गर्न र बचतको ब्याज तथा ऋणको ब्याजको अन्तर कम गर्न माग गरेको छ । सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले महासंघले केन्द्रबाटै यस्ता कार्यको विरोधमा लबिङ गर्दै आएको भन्द उद्योगी व्यवसायीलाई सहज हुने वातावरण बनाउन माग गरे ।
सिद्धार्थ होटल एसोसियसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बैंकहरूले थाहै नदिइ लिएको कर्जाको पनि ब्याज बढाउने गरेको बताए । “हामी बैंकमा पुरानै ब्याजदरलाई आधारमानि ब्याज बुझाउन जाँदा बल्ल त्यहाँ ब्याज वृद्धि भएको थाहा पाउँछौं,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्