तेक्वान्दो संघका राणाको निरन्तरता

भैरहवा – नेपाल तेक्वान्दो संघको अध्यक्षमा प्रकाशशमशेर राणाले नै निरन्तरता पाएका छन्
संघको लुम्बिनी प्रदेशको भैरहवामा शनिबार भएको चौथो अघिवेशनबाट राणा सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन् ।
राणाले २०७० सालदेखि लगातार संघको नेतृत्व गर्दै आएका छन् । २०७० मा झापाको बितामोर्डमा भएको दोस्रो अधिवेशनबाट उहा पहिलो पटक अध्यक्षमा निर्वाचित भएका थिए । अधिबेशनले उपाध्यक्षमा सञ्जीव रेग्मी, हरिश्वर पोखरेल र नन्दुकुमार राई निर्विरोध निर्वाचित गरेको छ ।
उपाध्यक्षका अर्का उम्मेदवार भोजबहादुर शाहले अन्तिम समयमा नाम फिर्ता लिएपछि रेग्मी, पोखरेल र राई सर्वसम्मत भएका हुन् । यसैगरी महासचिवमा दीपराज गुरुङ र कोषाध्यक्षमा कासिममिया धोबी निर्वाचित हुँदा सदस्यहरुमा कुमार लामा घिसिङ, साम्राज्यविक्रम पाण्डे, सुमन पराजुली, नन्दा बस्याल, रवि थापा, राम गिरी, दीपेन्द्र चन्द ठकुरी, मदन केसी, गुरुप्रसाद गौतम, मणिराज विष्ट र कोसिस खड्का निर्बाचित भए ।
चौथो अधिवेशनको उद्घाटन संघीय सांसद प्रमोद यादवले गर्दै तेक्वान्दो देशलाई सर्वाधिक पदक दिलाउने खेल भएको बताउँदै राज्यले विशेष प्राथमिकतामा राख्नुपर्ने बताए । कार्यक्रममा संबिधान सभा सदस्य इस्तियाक अहमद खान, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्ले, नेपाल ओलम्पिक कमिटीका सदस्य रमेश शिवाकोटी, राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका महासचिव फणिन्द्र पौडेललगायतले चौथो अधिवेशन सफलता र नयाँ पदाधिकारीको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै तेक्वान्दो खेलको विकासमा ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा इन्जिनियर सञ्जीव रेग्मी र कासिममिया धोबीलाई ‘एनटीए प्रेसिडेन्ट’ अवार्ड प्रदान गरिएको थियो । यसैगरी अर्पण पराजुलीलाई ‘एनटीए हिरोज’, दीपेन्द्रबहादुर नेपालीलाई ‘एनटीए इन्स्ट्रक्टर’ र गोपाल राईलाई ‘मास्टर्स’ अवार्ड प्रदान गरिएको थियो । पराजुलीलाई नगद ३० हजार, राईलाई १५ हजार र नेपालीलाई १५ हजार नगद पुरस्कार पनि प्रदान गरिएको थियो । यस्तै रोसिद खान, दीपेन्द्रमान श्रेष्ठ र सञ्जय बजिमयलाई प्रसंशापत्र सम्मानित गरिएको थियो ।
अधिवेशनमा ५६ जिल्ला संघका अध्यक्ष, सात प्रदेशका अध्यक्षलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागिता थियो । निर्बाचित अध्यक्ष राणाले खेलकुद विकास ऐन अनुसार सात प्रदेश गठन भइसकेको र आगामी मंसिरभित्र प्रदेश संघको अधिवेशन सम्पन्न गरी नेतृत्व चयन गर्ने जानकारी दिए ।