कृषि उत्पादन र बजारीकरणमा गैरआवासीय नेपालीको चासो «

कृषि उत्पादन र बजारीकरणमा गैरआवासीय नेपालीको चासो

हेटौंडा-नेपालको कृषि उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु-याउन गैरआवासीय नेपाली संघ (एनआरएन)ले तदारुकता देखाएको छ । बर्सेनी खर्बौ रूपैयाँका कृषि उत्पादन विदेशबाट ल्याउनुपर्ने बाध्यताको अन्त्य गराउन भन्दै कृषिको बजारीकरण र उत्पादनमा संघअन्तर्गतको कृषि प्रवद्र्धन समिति लागि परेको हो ।
कृषि प्रवद्र्धन समितिले मुना कृषि बजारको वृहत अवधारणा तयार गरी प्रदेश सरकारसँग छलफल सुरु गरेको छ । कृषि उत्पादन, प्रशोधन, वितरण र खपतसम्मको दीर्घकालीन सोच राखेर अघि बढेकोमा कृषि मन्त्रालय, प्रदेश मन्त्रालय, स्थानीय संघ संस्था र सहकारीसँग सम्झौता गरी कृषि उत्पादन र बजारीकरण एकसाथ अघि बढाउने बताइएको छ । एनआरएनले विभिन्न विदेशी तथा स्वदेशी व्यक्ति तथा संस्थाबाट लगानी जुटाएर कृषि प्रशोधन केन्द्र, कृषि उपज संकलन केन्द्र तथा सहायक संकलन केन्द्र स्थापना गर्ने सोच बनाएको समिति संयोजक युवराज गुरुङले जानकारी दिए । समितिले तयार पारेको अवधारणापत्रमाथि बिहीबार प्रदेश नम्बर ३ को भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सरोकारवालाबीच छलफलसमेत भएको छ ।
पहिलो चरणमा काठमाडौंमा कृषि प्रशोधन केन्द्र स्थापना गरिनेछ । त्यसैगरी राम्रो कृषि उत्पादन हुने क्षेत्र छनोट गरी ५ वटा संकलन केन्द्र र ५ वटा सहायक संकलन केन्द्र स्थापना गर्ने लक्ष्य राखिएको छ । कृषि प्रशोधन केन्द्र स्थापना गर्न काठमाडौंमा कृषि मन्त्रालयसँग जग्गाको माग गरिएको पनि गुरुङले बताए । उपयोगितामा नभएको जग्गा न्यूनतम भाडामा उपलब्ध गराउन समितिले माग गरिसकेको छ ।
अग्र्यानिक र गुणस्तरीय कृषि उत्पादनमा कृषकलाई प्रोत्साहित गर्दै उत्पादित कृषि उपजलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने योजना एनआरएनले अघि सारेको छ । कृषि उत्पादन तथा बजारीकरणका लागि लगानी गर्ने क्षेत्रको विस्तृत विवरण तयार गरी एनआरएनको सञ्जालबाट लगानी ल्याइने जनाइएको छ । कृषि उत्पादनको प्रवद्र्धन गर्न सकिए किसानको हालको आयमा वृद्धि भई कृषि क्षेत्रको कुल गार्हस्थ आयमा उल्लेख्य सुधार हुने अपेक्षा लिइएको छ । एनआरएनको अवधारणाअनुसार निर्माण हुने कृषि बजारीकरण तथा उत्पादन कार्यक्रममा आमनेपाली कृषक, कृषक समूह, सहकारी तथा अन्य संघसंस्था र व्यक्ति विशेषले पनि लगानी गर्न पाउने व्यवस्था गर्न लागिएको छ ।
कृषि उत्पादनको राम्रो मूल्य पाउने साथै कृषिमा बिचौलियाको अन्त्य गर्न एनआरएनको कृषि उत्पादन र बजारीकरण कार्यक्रम प्रभावकारी हुने कृषि प्रवद्र्धन समिति संयोजक गुरुङले बताए । गण्डकी प्रदेश र ३ नम्बर प्रदेशमा अवधारणापत्रमाथि छलफल भइसकेको छ । अन्य प्रदेशमा छलफल सक्याएर लगानी जुटाउने र अबको केही महिनाभित्र अवधारणा अनुसार काम सुरु हुने उनले बताए ।
अवधारणापत्रमाथिको छलफलमा बोल्दै प्रदेश ३ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले एनआरएनले ल्याएको अवधारणाको प्रशंसा गर्दै त्यसलाई मूर्तरूप दिन लाग्नुपर्नेमा जोड दिए । अग्र्यानिक खेती प्रवद्र्धन गर्न तथा सामूहिक खेतीमा लगानी गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ थियो । गैरआवासीय नेपालीहरूले विदेशमा सिकेको सीपको स्वदेशमै सदुपयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्