ज्येष्ठ नागरिकका गुनासाः‘निःशुल्क उपचारदेखि यातायात सेवा पाएनौं ’ «

ज्येष्ठ नागरिकका गुनासाः‘निःशुल्क उपचारदेखि यातायात सेवा पाएनौं ’

जुम्लाका ज्येष्ठ नागरिकहरूले सरोकारवालालाई गुनासै गुनासा गरेका छन् । नेपालको संविधानले व्यवस्था गरेका ज्येष्ठ नागरिकका हक अधिकार कार्यान्वयमा स्थानीय तह मौन रहेको उनीहरूको गुनासो छ । निःशुल्क स्वास्थ्य उपचार, यातायात सेवामा छुट, सहज बैंकिङ सेवा, निःशुल्क स्वास्थ्य उपचारदेखि बिमालगायतका कुनै पनि सेवा नपाएको ज्येष्ठ नागरिक संघ जुम्लाका अध्यक्ष तीर्थराज भारतीले गुनासो पोखे ।
उनले भने, “अस्पतालमा निःशुल्क उपचार, यातायातमा ५० प्रतिशत छुट, निःशुल्क स्वास्थ्य बिमालगायतका ज्येष्ठ नागरिकका अधिकार कुण्ठित छन् । समयमै सामाजिक सुरक्षा भत्ता पाउँदैछन् । सरोकारवाला ज्येष्ठ नागरिकप्रति मुकदर्शक छन् ।”
संघीयतापछि लक्षितवर्ग तथा ज्येष्ठ नागरिकका हक अधिकार कार्यान्वयनमा ढिलासुस्ती भइरहेकाले कुनै कार्यालयमा जाँदा मगन्तेजस्तो व्यवहार गर्ने गरेको समेत अध्यक्ष भारतीले दुखेसो गरे ।
ज्येष्ठ नागरिकहरूको सुरक्षा, सेवा सुविधा तथा हक अधिकार कार्यान्वयनका लागि जुम्लाका आठै स्थानीयतह मौन रहेको तातोपानीका ज्येष्ठ नागरिक दलबहादुर खड्काले बताए । उनका अनुसार उपचार गर्दा अस्पताल,यात्रा गर्दा गाडीमा, बैंकमालगायत सबै क्षेत्रमा ज्येष्ठ नागरिक हेला र अपहेलित भइरहेका छन् । दिवसका अवसरमा दोसल्ला, टोपी लगाइ दिएर हर्लिक्स दिएर औपचारिकता निभाउने र ज्येष्ठ नागरिकलाई व्यवहारमा हेला गर्ने गरेको अर्का ज्येष्ठ नागरिक दयादत्त हमालको गुनासो छ ।
प्रशासन, प्रहरी, नगरपालिका, गाउँपालिकादेखि विकासे कार्यालयका, अस्पतालका सेवादेखि सञ्चरनाहरू पनि ज्येष्ठ नागरिक मैत्री नभएको हमालको भनाई छ । खलंगामा बुधबार मानव अधिकार आयोगद्वारा आयोजित ज्येष्ठ नागरिकको अवस्था विषयक अन्तरक्रियामा जुम्लाका ज्येष्ठ नागरिकले सरोकारवालाई गुनासो गरे ।
कार्यक्रममा मानव अधिकार आयोग जुम्लाका मानव अधिकार अधिकृत किरण बरामले संविधानमा जेष्ठनागरिकका हक अधिकार, ज्येष्ठ नागरिकको अवस्था, समस्या तथा आगामी दिनमा गर्नुपर्ने कार्यका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
छलफलमा जुम्लाका जेष्ठनागरिक स्वास्थ्य क्षेत्र र यातायात क्षेत्रबाट पीडित भएकाले यी समस्या समाधानका लागि ठोस नीति बनाउनुपर्नेमा प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंको जोड छ ।
चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले जेष्ठनागरिकको भवन निर्माण,दिवा सेवा सञ्चालन गर्न, कोरोनाका बेला भ्याक्सिन लगाउनेलगायत विभिन्न समस्या समधानका लागि स्रोतले भ्याए सम्म सहयोग गरेको बताइन् ।
यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा.राजिव शाहले प्रतिष्ठानमा पछिल्लो आवमा १ सय १४ जना ज्येष्ठ नागरिकले निःशुल्क उपचार पाएको बताए । वडाको सिफारिस,उमेर खुल्ने प्रमाण, गरिब विपन्नको सिफारिस भएपछि निःशुल्क उपचारदेखि स्वास्थ्य बिमा हुने समेत डा.शाहले जानकारी दिए ।
ज्येष्ठ नागरिकले यातायातमा पाउने ५० प्रतिशत छुटदेखि निःशुल्क उपचार, निःशुल्क स्वाास्थ्य बिमा सहज बैंकिङ सेवा लगायतका कानुनी प्रक्रियालाई व्यवहारमा कार्यान्वयन गर्ने विषयमा सरोकारवाला एकजुट हुनुपर्नेमा राष्ट्यि मानव अधिकार आयोगका मानव अधिकार अधिकृत धनराज शाहीले जोड दिए । बिहीबार आज जुम्लामा ३१ औं ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

प्रतिक्रिया दिनुहोस्