११ औं तोरन्ल गोल्डकप प्रतियोगिता बेनीमा

म्याग्दी – थकाली समुदायको सांस्कृति पहिचानका रुपमा रहेको तोरन्ल गोल्डकप ताराखेल प्रतियोगिताको ११ औं संस्करण शुक्रबारदेखि बेनीमा सञ्चालन भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र बेनी क्षेत्रको आतिथ्यतामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट १८ समूहका १ सय १८ खेलाडीले भाग लिएका छन् ।
गोल्डकप प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभाका सांसद प्रेमप्रसाद तुलाचनले थकाली समुदायको पहिचानका रुपमा रहेको ताराखेललाई नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रतियोगिताले सघाउ पु¥याउने बताए । थकाली समुदायको पौराणीक तारो हान्ने खेलको संरक्षण, खेल पर्यटनको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक तीन÷तीन वर्षमा प्रतियोगिता आयोजना हुने थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनले बताए ।
प्रतियोगिताको बिजेताले नगद एक लाख रुपैयाँ र पाँचतोला सुनको गोल्डकप, शिल्ड, प्रमाणपत्र र मेडल तथा दोस्रोले ५० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तृतीयहुनेलाई नगद २५ हजार, मेडल र प्रमणपत्र तथा चौथो, पाँचौं हुने समूहलाई १० हजार र ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
खेललाई दिगोरुपमा सञ्चालन गर्न अक्षयकोषको स्थापना गरिएको थकाली सेवा समितिका केन्द्रियअध्यक्ष सोम तुलाचनले बताए । प्रत्येक तीन÷तीनवर्षमा आयोजना हुने ‘तोरन्ल गोल्डकप’ तारा (आर्चरी) खेल प्रतियोगितालाई निरन्तरता दिन ५१ लख ५४ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।
सांसद तुलाचनले थकाली समुदायको भाषा, कला, संस्कृति र संस्कारको संरक्षणमा जोड दिए । थकाली सेवा समितिअन्तर्गतका क्षेत्रीय समितिले लोपोन्मुख भाषा, संस्कृति र संस्कारको संरक्षणका लागि गम्भीर भएर सोच्नुपर्ने बताए । प्रतियोगितामा थकाली समुदायको जातीय पहिचान झल्कने पोसाक तोरन्ल प्रतियोगितामा देखिन्छ ।