एमालेको पहिलो विधान महाधिवेशन आज सकिँदै «

एमालेको पहिलो विधान महाधिवेशन आज सकिँदै

नेकपा एमालेको विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजहरुमाथि समूहगत छलफल जारी छ । ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा जारी विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्धारा प्रस्तुत संगठनात्मक प्रस्ताव र उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलद्धारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल भइरहेको हो ।
महाधिवेशनमा देशभरका ६ हजार ३ सय ४७ जना प्रतिनिधिहरु सहभागी भएका छन । १० वटा समूह बनाएर तीन वटै प्रस्तावमाथि बिहान ८ बजेबाटै छलफल सुरु गरिएको पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
एमालेले पहिलो पटक पार्टीको नीति र विधि निर्माणका लागि छुट्टै विधान महाधिवेशनको आयोजना गरेको हो । आइतबार प्रस्तुत प्रतिवेदनहरुमाथि प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ दिएपछि सो महाधिवेशन समापन हुनेछ । अध्यक्ष ओलीले शुक्रबार सो महाधिवेशनको उद्घाटन गर्दै पार्टी विभाजनको मुख्य योजनाकार पुष्पकमल दाहाल र माधव नेपाल भएको आरोप लगाएका थिए । त्यसैगरी उनले सर्वोच्च अदालत, निर्वाचन आयोग र सभामुख अग्नीप्रसाद सापकोटाले पनि आफ्नो पार्टी विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै आपत्ति जनाएका थिए । १० औं राष्ट्रिय महाधिवेशन आगामी मंसीर दोस्रो साता हुने र त्यसले पार्टीको नेतृत्व चयन गर्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्