कांग्रेसमा नेतृत्व परिवर्तन जरुरी भइसक्यो : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन गर्न जरुरी रहेको बताएका छन् ।
कांग्रेस नेता सिंहले सभापति शेरबहादुर देउवालाई अवसर पाएर पनि काम गर्न नसक्ने नेताको रुपमा चित्रण गर्दै पार्टी नेतृत्वलाई परिवर्तन गरेर कांग्रेसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए । शनिबार पार्टीको काठमाडौं महानगरपालिका अधिवेशनको उद्घाटन गर्दै उनले अवसर पाएर काम गर्न नसक्ने नेतृत्वलाई अव पनि निरन्तरता दिए सिंगो देशलाई नै नराम्रो हुने तर्क समेत गरे ।
नेता सिंहले पार्टी सभापतिमा आफ्नो दावी रहेको पनि बताए । उनले सभापतिमा आफू कुन कारणले अयोग्य छु भनेर कन्भिन्स गर्न पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग प्रश्न गरे ।
कार्यक्रममा बोल्दै कांग्रेस युवा नेता गगन थापाले आगामी निर्वाचनमा कम्युनिष्टहरुसँग एक्लै चुनाव लडेर जित्ने तागतका साथ अघि बढन पनि काँग्रेस नेतृत्व परिवर्तन हुनुपर्ने आवश्यक्ता औंल्याए । उनले कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउन, कोहीसँग मिलेर होइन एक्लै सात कम्युनिष्टहरु एक भएर आएपनि आगामी निर्वाचनमा जित्नुपर्ने अवस्था कांग्रेसको रहेकाले सोही अनुसार कांग्रेसलाई शुद्ध र सुदृढ बनाउन आफूहरु लागि परेको बताए । नेता थापाले नेपाली जनताले भरोसायोग्य कांग्रेसको नेतृत्व चाहिरहेको दावी समेत गरे । उनले मुलुकलाई कम्युनिष्टहरुको कहरबाट बचाउन पनि नेपाली कांग्रेसको पार्टी जीवनमा आमूल परिवर्तन गर्न आवश्यक रहेको दोहो-याए ।