कारोबारकर्मी पूर्णिमा धौलागिरि आरोहण गर्ने पहिलो नेपाली महिला

संसारको सातौं र नेपालको छैटौं अग्लो धौलागिरि प्रथम हिमालको चुचुरामा पहिलोपटक नेपाली महिलाले पाइला राखेका छन् । ८ हजार १ सय ६७ मिटर अग्लो उक्त हिमालको आरोहण कारोबार दैनिककी फोटो पत्रकार पूर्णिमा श्रेष्ठ र पासाङ ल्हामु शेर्पाले गरेका हुन् । उनीहरुले शुक्रबार बिहान ५ः३० बजे आरोहण गरी कीर्तिमान बनाएको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले बताए ।
गत चैतमा ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेकी पूर्णिमाले पाँच महिनापछि धौलागिरि आरोहण गरेकी हुन् । उनी दुवै हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी छन् । उनले सगरमाथा र अमादब्लम पनि आरोहण गरिसकेकी छन् । धौलागिरि प्रथम सन् १९६० मा पहिलो पटक निमा दोर्जे र नवाङ दोर्जेको सहयोगमा स्वीस तथा अस्ट्रेलियाली टोलीका प्रमुख कुर्ट डिम्बरगरलगायत ८ जनाले आरोहण गरेका नेपाल पर्वातारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले बताए ।
पर्यटन विभागले जारी सिजनमा धौलागिरि हिमाल आरोहणका लागि ४ आरोहण दलका लागि १२ महिला र २८ पुरुष गरी ४० जनालाई आरोहण अनुमति प्रदान गरेको थियो ।
धौलागिरि ८ हजार मिटर अग्ला हिमालमध्ये आरोहणका हिसाबले सबैभन्दा कान्छो हिमालका रूपमा चिनिन्छ । धौलागिरिमा हालसम्म पाँच सयभन्दा बढी आरोहीले सफल आरोहण गरेको तथ्यांक छ ।