मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुनु दुखद् : निधि

सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझै पूर्णता नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उपसभापति निधिले छिटोभन्दा छिटो मन्त्रीपरिषदलाई पूर्णता दिन पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेताहरुलाई दबाब दिए ।
गान्धी जयन्ति तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ८१ दिन बित्दा समेत सरकारले पूर्णता नपाएकोमा दुःख व्यक्त गरे । उनले सरकारले अझै पूर्णता नपाउनु सिंगो देशकै लागि चिन्ता र दुःखको विषय भएको स्मरण समेत गराए ।
उपसभापति निधिले सरकारले पूर्णता पाउन अझै नसकेबाट सत्तारुढ गठबन्धन चुनावसँग मिलेर अघि बढ्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको टिप्पणी गरे । उनले गान्धीको अहिंसाको बाटोबाट अघि बढेर मात्रै हरेक राष्ट्रले शान्ति र समृद्ध प्राप्त गर्न सक्ने बताए । कांग्रेस नेता अर्जुननरसिंह केसीले हिंसालाई त्यागेर मात्रै गान्धीले देखाएको अहिंसाको बाटोमा अघि बढ्न सकिने स्पष्ट पारे ।