आर्थिक वृद्धिदरभन्दा करिब दोब्बर मुद्रास्फीति

नेपालको पछिल्लो एक दशकको आर्थिक वृद्धिदर हेर्ने हो भने महाभूकम्पपछिको आर्थिक वर्षबाहेक कुनै पनि वर्ष उल्लेख गर्न लायक आर्थिक वृद्धिदर भएको छैन । करिब दुईतिहाइको नेपालको इतिहासकै शक्तिशाली सरकारको पालाको आर्थिक वृद्धिदर पनि कुनै उल्लेख गर्न लायक भएको छैन भने पछि अन्य आर्थिक वर्षको त कुरै भएन । लगातार १० प्रतिशतको आर्थिक वृद्धिदरको सपना बाँड्ने सरकारहरू कुनैको समयमा पनि १० प्रतिशतको आर्थिक वृद्धिदर नेपालले देख्न पाएन । पछिल्लो एक दशकमा औसत आर्थिक वृद्धि ४ प्रतिशत रहेको देखिन्छ, जुन यसभन्दा अगाडिको राजनीतिक अस्थिरता तथा आन्तरिक द्वन्द्वको अवस्थामा पनि करिब करिब उस्तै थियो । अर्थात् अघिल्लो दशकको औसत आर्थिक वृद्धि पनि ४ प्रतिशत वरिपरि नै थियो । यसको अर्थ नेपालमा राजनीतिक स्थिरता तथा बलियो सरकारको कुनै सान्दर्भिकता छैन भन्ने तथ्यांकले देखाउँछ । किनकि सरकार बलियो हुँदा पनि आर्थिक नीतिले कुनै छलाङ मार्न सकेन । किनकि पुरानै नीतिको निरन्तरताबाट आर्थिक वृद्धि दोब्बर अंकमा हुने कुनै आधार छैन । दीगो आर्थिक वृद्धिका लागि चाहिने पुँजीगत खर्च बढाउन सरकारको क्षमता पनि छैन । जतिसुकै ठूलो आकारको बजेट ल्याए तापनि पछिल्ला सरकारहरूले आफ्नो खर्च गर्ने क्षमता गुमाउँदै गएका कारण यसले नजिकैको भविष्यमा पनि आर्थिक वृद्धिमा कुनै योगदान गर्ला भन्ने लक्षण देखिँदैन ।
तर, पछिल्ला वर्षहरूमा मुद्रास्फीति भने आर्थिक वृद्धिभन्दा बढी देखिन्छ । त्यसो त पछिल्ला १० वर्षमा धेरै पटक मुद्रास्फीतिभन्दा आर्थिक वृद्धिदर कम भएको देखिन्छ, तर बीचका केही वर्ष आर्थिक वृद्धिदर मुद्रास्फीतिभन्दा बढी भए पनि कोरोना महामारीका कारण पुनः मुद्रास्फीति बढ्ने देखिएको छ र आर्थिक वृद्धिदर भने घट्ने देखिएको छ । विगतका एक दशककै मुद्रास्फीति हेर्ने हो भने पनि करिब ७ प्रतिशतको हाराहारीमा देखिन्छ । कुनै–कुनै वर्ष आर्थिक वृद्धिदरभन्दा दोब्बर नै मुद्रास्फीति भएको छ भने कुनै–कुनै वर्षमात्र आर्थिक वृद्धिदरभन्दा मुद्रास्फीति कम देखिन्छ, होइन भने अधिकांश आर्थिक वर्षमा आर्थिक वृद्धिभन्दा मुद्रास्फीति बढी नै छ । यसरी आर्थिक वृद्धिदरभन्दा मुद्रास्फीति बढी हुँदा त्यसले खुद नाफामा प्रभाव पार्छ । आर्थिक वृद्धिदरभन्दा मुद्रास्फीति बढी हुनुले खुद नाफा कम हुँदै जाने र वृद्धि नै नकारात्मक हुन सक्छ । पछिल्ला महिनाहरूमा विश्वमा पेट्रोलियम पदार्थको भाउ बढ्न थालेपछि धेरै मुलुक यसबाट आक्रान्त भएका छन् । हाल चीन, बेलायतलगायतका धेरै देशको मुद्रास्फीति बढिरहेकाले नेपालको पनि बढ्ने देखिन्छ । पेट्रोलियम पदार्थको भाउ बढ्दै जाँदा यसले बजारमा नकारात्मक असर पार्दछ । नेपालजस्तो भूपरिवेष्टित मुलुकका लागि त पेट्रोलियम पदार्थको भाउ बढ्नासाथ यसको प्रत्यक्ष असर मुद्रास्फीतिमा पर्ने नै भयो । साथै, नेपाल राष्ट्र बैंकले प्रस्तुत गर्ने मुद्रास्फीतिको दरभन्दा बजारमा प्रत्यक्ष अनुभव गर्ने मुद्रास्फीति अझ फरक भएका कारण पनि नेपालमा बजारको भाउ बढिरहेका बेला पनि राष्ट्र बंैकको तथ्यांकमा कम देखिएको छ । किनकि मुद्रास्फीति निकाल्दा राष्ट्र बैंकले निर्धारित दरलाई लिन्छ । तर, बजारमा फरक हुन्छ । उपभोक्ताले बजारमा तोकिएको दरभन्दा बढी बजारमा तिरिरहेको हुन्छ, जुन केन्द्रीय बैंकको तथ्यांकमा आउँदैन । हुन त नेपालमा आर्थिक वृद्धिदरभन्दा मुद्रास्फीति दर बढी हुनु सामान्य मानिन्छ । किनकि नेपालमा ८ प्रतिशत वा १० प्रतिशतको आर्थिक वृद्धि भनेको भाषणमा मात्रै हुने हो । अन्यथा आर्थिक वृद्धिदरभन्दा मुद्रास्फीति बढी हुँदा अर्थतन्त्र ‘ओभर हिटिङ’ भएको मानिन्छ । तर, नेपालमा आर्थिक वृद्धि पनि औसतमा ४ प्रतिशतको हाराहारीमा हुने र मुद्रास्फीति पनि आर्थिक वृद्धिभन्दा औसतमा बढी ने रहने रोग धेरै वर्षदेखिको भएकाले सामान्य मानिएको हो । अन्यथा आर्थिक वृद्धिदरभन्दा करिब दोब्बर मुद्रास्फीति हुनु मुलुकको अर्थतन्त्रमा ठूलो समस्या छ भन्ने नै हो । जे होस्, नेपालको अर्थतन्त्रमा समस्या छ भन्ने कुनै शंका छैन, तर यस समस्याको समाधान गर्नमा कुनै सरकारको पनि ध्यान नजानु नेपालको भविष्यका लागि सुखद संकेत होइन ।