पर्यटन क्षेत्रमा सकारात्मक संकेत «

पर्यटन क्षेत्रमा सकारात्मक संकेत

कोरोना महामारीको संक्रमण जोखिमले २०७६ चैत ११ गतेदेखि बन्द भएको नेपाल भारत सीमा नाका २०७८ असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको एक हप्तापछि वीरगन्ज रक्सौल नाका औपचारिक रूपमा खुलेको छ । भन्सार कार्यालयको यात्रु शाखाका अनुसार नाका खुलेकै दिन शुक्रबार ४० वटा कार जिप भ्यान अस्थायी पैठारी, १७ वटा कार जिप नजिकको बजारका लागि र ४५५ वटा मोटरसाइकल सुविधामा दर्ता भएका छन् । यसैगरी शनिबार एक सय छ वटा कार, जीप, भ्यान तथा छ सय वटा मोटरसाइकल नेपाल भित्रिए । मुलुककै प्रमुख नाका वीरगन्ज–रक्सौलबाट सबै खाले भारतीय सवारी साधनले नेपाल प्रवेश पाएसँगै वीरगन्जलगायत नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्नेमा व्यवसायीहरू आशावादी छन् । यद्यपि विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूका लागि यात्रा व्यवस्थापन सम्बन्धमा नेपाल सरकार गृह मन्त्रालयले जारी गरेको आदेशमा तोकिएको स्वास्थ्य मापदण्डको पालनाको झन्झटिलो प्रक्रियाले सीमामा हुने व्यवस्थापन चुनौतीपूर्ण छ । भन्सार कार्यालयले भारतीय यात्रुका सवारी साधनलाई उपलब्ध गराउने अस्थायी प्रवेश पासका लागि पीसीआर रिपोर्ट, खोप लगाएको १४ दिन पूरा भएको हुनुपर्ने तथा तेस्रो मुलुकबाट आएकाहरूका लागि नेपालमा बस्ने होटलको समेत अनलाइन बुकिङ भएको हुनुपर्नेछ । यसले नाका खुले पनि सहज छैन भन्ने सन्देश प्रवाह भयो भने पर्यटन क्षेत्रमा अपेक्षाकृत सुधार हुन नसक्ला कि भन्ने शंका पैदा गरेको छ । भन्सार कार्यालयलाई स्वास्थ्य मापदण्डअनुसारको प्रक्रिया पु-याउनुपर्ने कानुनी जटिलता र स्थानीयताका आधारमा व्यावहारिक हुनुपर्ने परिस्थितिले केही चुनौती भन्सार नाकामा देखिएको छ । सीमा नाका खुला भएपछि नेपालको पर्यटन क्षेत्रमा पर्न प्रभाव र यसको फाइदाको विषयमा कारोबारकर्मीहरू नीरज पिठाकोटे, मुकेश चौधरी र मनोरञ्जन शर्माले गरेको कुराकानीको सार :

पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्नसक्छ
अनिल रुंगटा
सञ्चालक, होटल दियालो लर्ड्स

सीमा नाका सुचारु भयो । स्वाभाविक रूपमा पर्यटकहरू आउने क्रम सुरु भएको छ । यसले प्रत्यक्ष रूपमा सकारात्मक प्रभावहरू देखिनेछन् । नेपाल–भारतको सीमा क्षेत्रमा रोटीबेटीको पनि सम्बन्ध छ । यसले अनेक किसिमले सहज आवतजावत भइरहेको अवस्थामा साढे एक वर्ष सीमा नाका बन्द हुँदा असहज बनेको थियो । सीमा नाकामा सवारी आवतजावतमा पनि रोक लगाइएको अवस्थामा सीमाक्षेत्रका नेपाल–भारत दुवैतर्फका नागरिकलाई समस्या थियो । धेरै कठिनाइ थियो । सीमा नाकामा पैदल यात्रुहरूलाई खुला गरिएको भए पनि सवारी साधनको अनुमति पाएको थिएन । त्यसले व्यावसायिक कामका लागि आउनेहरूलाई पनि समस्या थियो । पर्यटकहरू त झन् आउने अवस्था नै थिएन ।
अब सीमा नाकामा भारतीय निजी सवारी आवागमन सहज भएपछि नेपाल आउने र नेपालबाट जाने क्रम पनि बढ्दो हुन्छ । पहिले आवागमन पातलो थियो । सीमा नाका खुला भएपछि भारतीय पर्यटकहरू मात्रै होइन, अन्य विभिन्न कामको सिलसिलामा आउने जाने क्रम बढ्दै जान्छ । यसले नेपालको पर्यटन क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्न सक्छ । त्यसकारण सीमा नाकामा सवारी आवागमन सहज हुनु भनेको स्वागतयोग्य छ । अर्को भारतमा पनि कोभिड–१९ संक्रमण कम हुँदै गएको छ । खोपको पूर्ण मात्रा पूरा हँुदै गएर विस्तारै सबै क्षेत्र सामान्य बन्दै गएको छ । नेपालमा पनि पछिल्लो अवस्थामा खोपको राम्रो व्यावस्थापन गरेको हुँदा वीरगन्जलगायत मुख्य सहरहरूमा पनि कोरोना प्रभाव घट्दो क्रममा छ । कोभिड नियन्त्रणका लागि पनि सरकारको चुस्त व्यवस्थापन भएको छ । यस कारणले गर्दा कोभिडको जुन जोखिम थियो, त्यो कम भएको छ । यस कारणले अब विवाह, व्रतबन्ध, उत्सव, महोत्सवहरूको पनि समय सुरु हुन्छ । यसमा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले अपनाएको स्वास्थ्य मापदण्ड चाहिँ सबैले पालना गर्नुपर्छ ।
धेरै भारतीय नागरिकले डेस्टिनेसन म्यारिजका लागि पनि नेपाललाई रोज्ने गरेका छन् । व्यावसायिक क्षेत्रबाट आउने, रोजगारीको क्षेत्रका, स्वास्थ्य उपचारका लागि आउने तथा पर्यटकहरूको पनि नेपालमा आवतजावत बढ्दै जान्छ । सीमा नाका बन्द हुँदा नेपालमा आउनेहरूको संख्या एकदमै न्यून थियो । अब सीमा खुला भयो । यसको व्यापक प्रचारप्रसार पनि भएको छ । यसले नेपाल अब पर्यटनको गन्तव्य बनेको छ । त्यसैले नेपालमा व्यावसायिक कामले आउनेहरू, रोजगारीका लागि आउनेहरू मात्रै होइन, नेपालमा स्वास्थ्य उपचारका लागि पनि आउने गरेका छन् । उनीहरूलाई पनि नाका खुला भएपछि सहज भएको छ । यसले नेपालको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्छ । पर्यटन क्षेत्रले पनि विस्तारै गति लिँदै जान्छ । त्यसैले पर्यटन क्षेत्रमा अब केही सकारात्मक सुधारहरू आउन सक्ने सम्भावनाहरू छन् । त्यसको परिणाम पनि चाँडै नै देखिन थाल्नेछ । यसले सीमाक्षेत्रका दुवै देशका नागरिक खुसी पनि भएका छन् । खासगरी मधेसका जनता सीमा खुला भएपछि निकै खुसी छन् । पर्यटन व्यवसायीहरू पनि उत्साहित छन् ।

पर्यटक आउने क्रमसँगै व्यवसाय चल्ने आशा छ
मायाप्रकाश भट्ट
पर्यटन व्यवसायी, धनगढी

सीमानाकाबाट गाडीहरूलाई पनि प्रवेश अनुमति दिएपछि भारतीयहरू आउन थालेका छन् । तर संख्या धेरै ठूलो बढेको छैन । गाडी नआउँदा पनि फाट्टफुट्ट त आइरहेका नै थिए । तर, पर्यटनका लागि भनेर आउनेहरू आएका थिएनन् । अहिले पनि घुम्नका लागि भनेर खासै त आएका छैनन् । तर आउलान् भन्ने आशामा छौं । केही दिन त उनीहरूलाई पनि प्रोसेस बुझ्न समय लाग्ला नै । गाडी आउन दिए पनि निर्वाध रूपमा आउने होइन । स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर मात्रै गाडीसहित आउन दिने गरी सीमा नाका खुला गरिएको छ । अहिले भारतीय पर्यटकका लागि पनि शुक्लाफाँटा खुलेको छ । दीपावलीको बिदा मनाउने समयमा भारतीय पर्यटक आउँछन् भन्ने आशामा छौं । सीमा नाका खुल्नेबित्तिकै ह्वात्तै पर्यटक आगमन बढेर हाम्रो बिजनेस बढोस् भन्ने चाहना त हाम्रो पनि होइन । तर, स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर आउने विषयमा दुवै देशतर्फको प्रशासन चनाखो हुनुपर्छ । विस्तारै पर्यटक आगमन बढ्दै जानुपर्छ ।
आउने पर्यटकले भ्याक्सिन लगाएको हो वा होइन र स्वस्थ छ वा छैन भन्ने विषयमा प्रशासनले चेकजाँच गर्नुपर्छ । तर, चेकजाँच गर्ने नाममा अनावश्यक दुःख दिनु हुँदैन भन्ने विषयमा हामीले प्रशासनलाई पहिलेदेखि नै सचेत गराइरहेकै छौं । पर्यटक आएनन् भनेर आतुरी गर्ने र आएपछि समस्या बल्झाउने काम पनि गर्नु हुँदैन । भारतबाट पर्यटक भित्र्याउने कुरा अब रोकिनु हुँदैन भन्ने हिसाबले व्यवस्थित गर्नुपर्छ । किनभने हाम्रो यहाँको पर्यटन व्यवसाय भारतीय पर्यटकहरूमै निर्भर छ । प्रशासनले पनि व्यवस्थित गर्ने गृहकार्य गरिरहेको हामीलाई जानकारी दिएको छ । दिनदिनै कोरोना महामारीबाट सुधार हुँदै गएको छ । हामी एक दिन निर्मूल हुन्छ र हाम्रो व्यवसाय अझै राम्रो र व्यवस्थित हुन्छ भन्ने आशावादी छौं । सीमा नाका खोल्ने कुराले पर्यटन व्यवसाय ह्वात्तै नबढ्ला, तर हाम्रो व्यवसाय चल्छ भन्ने हाम्रो आशा हो ।
सीमा नाका खोलेपछि भारतीय आउँछन्, कोरोना ल्याउँछन् भनेर कसैले पनि सोच्नु हुँदैन । उनीहरूलाई कसरी भिœयाउने भन्ने विषयमा हामी सबै जिम्मेवार हुनुपर्छ । हामी सबैका लागि यो कार्य उपयुक्त छ भनेर व्यवस्थित गर्नतिर लाग्नुपर्छ । यसले गर्दा हाम्रोमा भिजिटहरू अलिकति भए पनि बढ्दै जान्छ । सिमानामै भिजिटरहरूलाई खोप लगाएको र स्वस्थ रहेको प्रमाण लिएर ग्रिन कार्ड दिएर पर्यटकीय क्षेत्रमा पठाउने व्यवस्था गर्नुपर्छ । हामीले सिमानामै आवश्यक तयारी नगरेर पठायौं भने समस्या निम्तिन सक्छ । आफ्नै गाडी लिएर आउने भारतीयलाई ठाउँठाउँमा चेक जाँच गर्ने बहानामा पर्यटकलाई बाटोबाटोमा रोक्ने, दुःख दिने काम गर्नु हुँदैन । सिमानामै जेजे चेकजाँच गर्नु छ त्यहीं गरेको राम्रो हुन्छ । सकेसम्म प्रदेशभित्र घुम्ने पर्यटकलाई एकै ठाउँबाट जहाँ जहाँ जान चाहन्छ त्यहाँसम्म जान र फर्किनका लागि अनुमति पत्रजस्तै बनाएर कार्ड दिन सके राम्रो हुन्छ । पर्यटकलाई एक प्रदेशबाट अर्को प्रदेशमा लग्नका लागि समेत के व्यवस्था गर्न सकिन्छ पहिले नै सोच्न जरुरी छ ।

नेपाल–भारत दुवै पक्षबाट नाका पूर्णरूपमा खोल्नुपर्छ
भीष्मप्रसाद न्यौपाने
अध्यक्ष, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही

विगत १८ महिनादेखि कोरोना भाइरस संक्रमण र जोखिमका कारण नेपाल–भारतका सीमा नाकाहरू पूर्ण रूपमा बन्द रहेका थिए । खालि मालवाहक साधन, एम्बुलेन्सलाई मात्र दुवैतर्फ छुट थियो । तर, भारतीय सेनामा काम गर्ने नेपाली र अन्य कामदारहरू परिचयपत्रका आधारमा प्रवेश गर्थे भारतमा भने भारतीयहरू, जो नेपालमा कामका लागि आउने गर्थे, सम्बन्धित संस्थाको अनुरोध पत्र, पीसीआर रिपोर्ट र स्थानीय प्रशासन (रुपन्देही) को स्वीकृति पत्रपछि मात्र नेपाल आउन पाउने गर्थे । यो तरिकाले नाका खुला थियो या थिएन, थाहा नै हुँदैनथ्यो । त्यही पनि बेलाबेलामा भारतीय पक्षले पूर्णरूपमा ठप्प पार्थे नाका । लामो समय नाका बन्द हुँदा नेपालसँगै रुपन्देहीका पर्यटन क्षेत्र पूर्ण रूपमा प्रभावित भएका थिए । सबैभन्दा बढी प्रभावित यही क्षेत्र थियो । हामीले बारम्बार पर्यटन क्षेत्र जोगाउँदै अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल–भारत नाका पूर्ण रूपमा खोल्नुपर्छ भन्ने माग राख्दै विभिन्न फोरमहरूमा ध्यानाकर्षण गरायौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष समेत अनुरोधपत्र पठायौं । नेपालको विशेषगरी भैरहवाजस्ता सीमावर्ती सहरका पर्यटन क्षेत्र, होटल, रेस्टुराँ, बजारहरूका मुख्य ग्राहक भारतीय पनि हुन् । त्यसैले नाका खोलेर भारतीय पर्यटकलाई आउन दिए पर्यटनमार्फत अर्थतन्त्र चलायमान हुन्छ भन्ने हाम्रो मान्यता थियो । यही भैरहवा नाका हुँदै आउने भारतीय पर्यटकहरू लुम्बिनी क्षेत्र, पोखरा, चितवन, मुक्तिनाथ, काठमाडौं, पाल्पासम्म जान्छन् । त्यसैले पनि हामीले छिटोभन्दा छिटो स्वास्थ्य मापदण्ड अपनाई सीमावर्ती नाका खुल्नुपर्छ भन्ने माग राख्दै लबिङ गर्दै आएका थियौं ।
फलस्वरूप करिब दुई हप्ताअघि नेपाल सरकारले स्वास्थ्य मापदण्ड अपनाई खोेप लगाएका वा पीसीआर परीक्षण गरेको ७२ घण्टा नबितेका भारतीय पर्यटकलाई बिनासवारी नेपाल प्रवेश गर्न दिने निर्णय ग¥यो । यो निकै सकारात्मक र राम्रो निर्णय थियो । हामी व्यवसायीहरू निकै उत्साहित भयौं । तर, यो निर्णय कार्यान्वयन हुनै एक हप्ता लाग्यो । केन्द्रबाट परिपत्र आउनै हप्ता दिन लाग्दा निराशा छायो । कम्तीमा निर्णय भएको कुरा तत्काल अर्को दिन जिल्लामा पुगे कार्यान्वयनलाई सहजता हुने थियो । तर पछि निर्णय प्रतिलिपि र कार्यान्वयनका लागि पत्र आयो र भारतीय पर्यटकहरू भैरहवा नाका हुँदै प्रवेश गर्न थाले । पर्यटक आउँदा सबै खुसी भयौं । पहिलो दिन एक अमेरिकी नागरिक पनि स्थलमार्ग हुँदै नेपाल आए । उता दुई दिनअघि भारतीय पर्यटकहरू आफ्नो सवारी साधन लिएर नेपाल जान पाउने निर्णय सरकारले ग¥यो । पर्यटन व्यवसायीमा खुसी छायो ।
शुक्रबार बिहानैदेखि पर्यटक वाहनसहितको भारतीय पर्यटकहरूलाई स्वागत गर्न सीमा नाका बेलहियामा व्यवसायी पुगे । तर, भारतीय पक्षले कुनै पनि भारतीय पर्यटक सवारी साधनलाई नेपाल प्रवेश गर्न दिएन । भारतीय पर्यटक र नेपाली पर्यटन व्यवसायी निराश भए । भारतले आफ्ना नागरिकलाई यातायातका साधनसहित जान अनुमति नदिएको र नेपाल सरकारको निर्णयबारे सीमा नाकास्थित भारतीय पक्षलाई पनि कुनै जानकारी आफ्नो माथिल्लो निकायबाट नआएकाले रोकिएको भन्ने आयो । त्यसैले अब यस्ता निर्णयहरू दुवै पक्ष बसेर नाकालाई सहजतापूर्वक पूर्ण रूपमा खोल्नुपर्छ । अहिलेको निर्णय अपरिपक्व भयो । कम्तीमा सरकारले आफ्नो निर्णय दिल्लीस्थित नेपाली दूतावासमार्फत भारत सरकारलाई पठाएको भए भारतीय पक्षले पनि सहजतापूर्वक लिँदै केही निर्णय गर्न सक्थ्यो । तसर्थ तत्कालै यो विषयलाई मन्त्रीस्तरबाट भारतीय सरकारको ध्यानाकर्षण गराउँदै नेपाल–भारत दुवै पक्षले सीमा नाकाहरूमा कुनै पनि असहजता नहुने गरी पूर्ण रूपमा खोल्ने निर्णय गर्नुपर्छ । आजका दिनमा भारत सरकारले आफ्नो नाका पूर्ण रूपमा खोलेको छैन र आफ्ना नागरिकलाई नेपाल घुम्न जान भनेर अनुमति दिएको पनि छैन । तसर्थ गम्भीर हुँदै गरिएको निर्णय कार्यान्वयनतर्फ सरकार लाग्नुपर्छ । भारतीय पर्यटक सवारी साधनसहित आउन पाए केही भए पनि पर्यटन र अर्थतन्त्र चलायमान हुन्छ ।

प्रतिक्रिया दिनुहोस्