गरिबलाई दसैंको पीडा

नेपालीहरूको महान् चाड बडादसैं नजिकिँदै छ । दसैं नजिकिएसँगै बजारमा चहलपहल निकै बढ्न थालेको छ । मानिसहरू दसैंका लागि किनमेल गर्न बजारमा ठेलमठेल गर्दै हिँडिरहेको हामी प्रत्यक्ष देख्न सक्छौं । त्यसैले बजार तात्न थालेको छ र रेमिट्यान्स प्रवाह बढ्न थालेको छ । व्यापारीहरूको व्यापार बढ्न थालेको छ । यस्तो समयमा उपभोक्ताहरू खर्च कम गर्ने प्रयासमा हुन्छन् भने व्यापारीहरू बढीभन्दा बढी नाफा कमाउने प्रयासमा हुन्छन् । किनकि हाम्रो सानो उमेरदेखिको मानसिकता यही रहेको छ कि दसैंमा नयाँ–नयाँ लुगा लगाउन पाइन्छ, खसीबोका काटेर मीठो–मीठो खान पाइन्छ, रातो अक्षता अनि जमरा लगाएर नयाँ–नयाँ नोट लिन पाइन्छ र पिङ तथा रोटेपिङ खेल्न पाइन्छ । स्वयम् म आफैंलाई अझै पनि दसैं नजिक आउँदा नयाँ लुगा लगाउन त पर्छ है भनेझैँ लाग्छ । त्यसमाथि साना–साना बालबालिकाको त झनै के कुरा गर्नु र ? आफ्नो टाढा–टाढा रहेका आफन्तहरू सबैलाई उक्त दिन भेट गर्न पाइन्छ । त्यसैले दसैं पर्वलाई हर्ष तथा उल्लासको पर्व मानिन्छ ।
आफूभन्दा ठूला तथा मान्यजन व्यक्तिहरूको हातबाट टीका तथा प्रसाद ग्रहण गर्न पाउनु सबैभन्दा ठूलो कुरा हो । तर, सबैको राम्रो अनि नराम्रो पक्ष हुन्छ भनेझैँ सबैलाई दसैं पर्व नजिकिँदा खुसी अनि हर्ष लाग्छ भन्ने हुँदैन । धनी तथा सम्पन्न वर्गका परिवारलाई दशैं मा खर्च गर्नु, किनमेल गर्नु नौलो कुरा भएन, तर जसलाई आफ्नो दैनिकी टार्न गाह्रो छ, ज्याला–मजदुरी गरेर साँझबिहानको खानाको जोहो गरिराखेका हुन्छन्, त्यस्ता व्यक्तिहरूलाई दसैं पनि दशा बन्न पुग्छ । किनकि सबैले दसैंमा नयाँ कपडा, घरमा खसी बोका ल्याएको देख्दा आफ्ना बालबालिकाले पनि ती चिजहरूको आस गरिराखेका हुन्छन् । त्यसमाथि बालबालिकाको मनस्थिति त्यति परिपक्व पनि भइसकेको हुँदैन कि मेरो आमबुबासँग पैसा छैन, हामीले हाम्रो माग राखेर दुःखी पार्न हुन्न भनेर । त्यसैले त आमाबुवाले दसैंमा किनिदिनुहुन्छ भनेर आस गरिराखेका हुन्छन् ।
सबैको घरघरमा खसीबोका काटेर मिष्ठान्न भोजनहरू पाक्दा आफ्नो घरमा एकछाक खानलाई धौधौ हुँदा ती अभिभावकहरूको मन कति पोल्दो होला भनेर हामी अनुमान लगाउन पनि सक्दैनौं । त्यसैले दसैंमा मानिसहरू ऋण काढेर भए पनि नानीबाबुहरूलाई लत्ताकपडादेखि खानेकुरासम्म किनेर खुवाउने गर्छन् । त्यसमाथि घरमा दसैंमा टीका लगाउन भनेर पाहुनाहरूसमेत आउने गर्छन्, उनीहरूलाई खुवाउनेदेखि लिएर टीका लगाएर धेरैथोरै भए पनि दक्षिना भए पनि दिनैपर्छ भन्ने हाम्रो चलनचल्ती रहेको छ । त्यसैले मध्यम तथा निम्न वर्गका उपभोक्ताहरू दसैंलाई किनमेलको एउटा मौकाका रूपमा पनि लिन्छन् । तर ‘आयो दशैं ढोल पिटाई, गयो दसैं ऋण बोकाई’ भन्ने पुरानो नेपाली उखान गरिब गुरुवाहरूको हकमा साँच्चै लागू हुन्छ । किन्न सक्ने र धान्न सक्नेले त दसैं राम्रै गरी मनाउलान् तर गरिब असहायहरूको हकमा दसैं अत्यन्त पीडादायक साबित हुने गरेको छ ।
दसैं त सबैका लागि उत्तिकै महत्वको चाड हो, तर यो वर्गका लागि समस्या भएर आइदिन्छ । किनकि कामको सिलसिलामा गाउँदेखि काठमाडौँ सहर पसेका मानिसहरू दसैंमा घर फर्किंदा ती घरमा बसेका आमाबुवा, भाइबहिनी, बालाबालिकाहरूमा आफ्ना आमाबुवाले दसैंका लागि नानाथरी लत्ताकपडा अनि खानेकुरा बोकेर लिएर आउनुहुन्छ भन्ने आसमा बसेका हुन्छन्, तर गरिबको पीडा यहाँ कसले बुझ्ने ? दिनभरि भारी बोकेर, अर्काको जुठो भाँडा माझेर अनि ज्याला–मजदुरी गरेर कमाएको पैसाले चलनचल्तीअनुसारको लवाइखवाइ गर्नलाई कति नै पुग्छ र ? त्यसमाथि त्यही काम पनि कहिले भूकम्प, कहिले बाढीपहिरो अनि अहिले कोरोनाको कारणले नियमित रूपमा गर्न सकिराखेका छैनन् भने कैयौं मानिसहरू अहिले बेरोजगार भएका छन् । यस्तो अवस्थामा खाली हात निराशा बोकी घर फर्किनुबाहेक अरू केही विकल्प छैन ।
यस्तै अवस्था अनि परिवेशको कारणले गर्दा पनि मानिसहरू ऋण काढेर भए पनि पर्व मनाउने गर्छन् । किनकि जीवनमा सबै दुःख झेल्न सकिन्छ, तर आफ्नो सन्तानको मुहारमा निराशा अनि आँखामा आसु आएको देख्न सकिन्न रहेछ ।