बजारमा छैन रौनक, सामानको मूल्य भने बढ्दै «

बजारमा छैन रौनक, सामानको मूल्य भने बढ्दै

दशैं नजिकिँदै गर्दा पनि बजारमा सामान किनमेल गर्नेको रौनक बढ्न सकेको छैन तर सामानको मूल्य भने बढ्न थालेको छ ।
दशैं सुरु हुनुभन्दा एक महिना अघिदेखि नै भीडभाड लाग्ने उपत्यकामा मुख्य बजार पसलमा दशैं सुरु हुन एक साता बाँकी रहँदा पनि त्यति रौनक नदेखिएको व्यापारीहरु बताउँछन् । कोभिडका कारणले गर्दा आम उपभोक्तासँग आम्दानी कम हुँदा अत्यावश्यक सामानबाहेक अन्य सामान खरिद गर्ने संख्या कम हुँदा व्यापार बढ्न नसकेको उनीहरुको ठहर छ ।
सधैं भीडभाड हुने न्युरोड, असन, भोटाहिटी, इन्द्रचोक, लगनखेल, भृकुटीमण्डलगायतका बजारमा सामान किनमेल गर्ने ग्राहकको भीडभाड अझै बढेको छैन । दशैं आउन लाग्दासमेत खासै व्यापार बढ्न नसकेको व्यापारीहरू बताउँछन् । न्युरोडस्थित कपडा पसलका सञ्चालक राजेन्द्र खड्काले यो वर्ष खासै लत्ताकपडाको कारोबार बढ्न नसकेको बताए । “ दशैं को बेला अन्य सिजनको तुलनामा दोब्बर÷तेब्बर कारोबार हुने गरेको थियो,” उनले भने, “यो वर्ष नयाँ कपडा नआएको र कोभिडका कारणले गर्दा आममानिससँग आम्दानी कम हुँदा आवश्यक पर्नेले मात्र सामान किन्ने गरेकाले पनि व्यापार राम्रो छैन ।”
व्यवसायीका अनुसार एक वर्षमा हुने कारोबारमध्ये दसैंमा मात्र करिब ४० प्रतिशत कारोबार हुन्छ । दसैंमा मीठो खाने, नयाँ लुगा लगाउने चलन भएकाले पनि यही समयमा व्यापार ह्वात्तै बढने गर्दथ्यो । तर यो वर्ष व्यापार सामान्य भए पनि विगतका वर्षको अनुपातमा हुन नसकेको ख्डकाले जानकारी दिए ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार उपत्यकामा साढे चार लाखदेखि पाँच लाख पसल दर्ता भएका छन् । चाडपर्वको बेला खाद्यवस्तु, सवारी साधनदेखि लत्ताकपडाको व्यापार यतिबेला बढी हुनेगर्छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघ अध्यक्ष नरेश कटुवाल पनि यो वर्ष दशैं को सामान किनमेल गर्नेको खासै चहलपहल नबढेको बताउँछन् । पुराना सामान सकिएको र नयाँ सामान नाकामै रोकिएकाले पनि व्यवसायीले व्यापार गर्न नपाएको उनको भनाइ छ । “पुरानो स्टक भएको सामान सवै बिक्री भइसक्यो,” उनले भने, “दसैंलाई लक्षित गरेर अर्डर गरेको सामान बजारमा आइनपुग्दा सामान बिक्री गर्न नपाएर व्यवसायीले ठूलो घाटा बेहोरनुपरेको छ ।”
दसंैमा सबैले नयाँ कपडा लगाउने भएकाले लत्ताकपडाको मात्रै करिब ७५ प्रतिशत कारोबार हुने कटुवालले बताए । कोभिडका कारण गत वर्ष चाडबाडका बेला बजार ठप्प भए पनि यसपालि भने केही व्यापार भइरहेको व्यवसायी बताउँछन् । चाडबाडमा कारोबार राम्रो हुने भए पनि कपडाको भाउ महँगिएको व्यवसायीको भनाइ छ । गत वर्ष दुई हजार हाराहारीमा पाइने कपडा यस पटक २५ सय रुपैयाँसम्म पर्ने न्युरोडकै अर्का व्यवसायी दिपेश झाले जानकारी दिए । यो वर्ष बजारमा अधिकांश सामानको मूल्य बढेको उनी बताउँछन् । समयमै सामान आइनपुगेको र लागत मूल्य नै महँगो परेकाले मूल्य बढ्न गएको उनको भनाइ छ ।
बजार सहज भए पनि दसैंका लागि आउनुपर्ने कतिपय सामान रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी नाकामा अड्किएका छन् । जसका कारण बजारमा सामानको अभाव भएको व्यवसायी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्