८८ दलले बुझाए समानुपातिक उम्मेदवारको सूची «

८८ दलले बुझाए समानुपातिक उम्मेदवारको सूची

प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि ८८ वटा राजनीतिक दलले समानुपातिकतर्फका उम्मेदवारको नामावली निर्वाचन आयोगमा बुझाएका छन् । समानुपातिकको सूची बुझाउने अन्तिम दिन आइतबार निर्वाचन आयोगमा उनीहरूले सो सूची पेश गरेका हुन् । 

निर्वाचन आयोगमा पेस गरेको सूची सच्याउन परेमा कात्तिक १२ गतेसम्म दलहरूले समय पाउनेछन् । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आयोगमा दर्ता भएका ८८ वटै राजनीतिक दलहरूले सूची बुझाएको बताए ।

“प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा उहाँहरूले बुझाउनुभएको छ,” उनले भने, “केही ढिलाइ गरेर भए पनि सबै राजनीतिक दलहरूले उत्साहका साथ धैर्यतापूर्वक समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउनुभयो ।”

निर्वाचन आयोगले समानुपातिकतर्फको उमेदवारको सूची बुझाउन आइतबार बिहान १० बजदेखि अपरान्ह ५ बजेसम्मको समय तय गरे पनि केही ढिला समम पनि दलहरूले सूची बुझाए । मंसिर १० र २१ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।

दलहरूले समानुपातिकतर्फको कम्तिमा ५० प्रतिशत महिला हुनुपर्ने कानुनी व्यवस्थाअनुसार नै सूची आयोगमा बुझाएका हुन् । प्रदेश सभातर्फ २ सय २० र प्रतिनिधि सभाका लागि १ सय १० गरी ३३० जना समानुपातिक सांसद हुनेछन् । समानुपातिकतर्फको सूची बुझाउन दिनभर आयोगमा दलका नेताहरूको भीड लागेको थियो । 

यस्तो छ तालिका 
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज ३० गतेदेखि कात्तिक ५ गतेसम्म दलहरूले समानुपातिकको बन्दसूची सच्याउन पाउने छन् । सच्याइएको बन्दसूची दलहरूले कात्तिक ६ गतेदेखि १२ गतेभित्रमा निर्वाचन आयोगमा पेश गर्नुपर्नेछ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार १२ गतेभित्र बुझाइएको बन्दसूचीमा पनि संशोधन गर्न सकिने छ । कात्तिक १३ गते सूचीमा भएका व्यक्तिले नाम फिर्ता लिन सक्नेछन् । त्यसरी फिर्ता लिएपछि रिक्त हुने सूचीमा अर्को व्यक्तिको नाम थप्न कात्तिक १४ र १५ गतको समय तोकिएको छ । यसरी बुझाइएको बन्दसूची निर्वाचन आयोगले कात्तिक १७ गते सार्वजनिक गर्नेछ ।

कात्तिक १७ गते सार्वजनिक गरिएको नाममा दाबी विरोधका लागि कात्तिक १८ देखि २४ गतेसम्म समय निर्धारण गरिएको छ । त्यसरी भएको दाबी विरोधमा आयोगले छानविन गर्न कात्तिक २५ देखि मंसिर १ गतेसम्म समय राखेको छ । दाबी विरोधपछि नाम हटेको सूचना मंसिर २ गते प्रकाशित गरिनेछ । मंसिर ३ गते समानुपातिक उम्मदेवारहरूको बन्दसूचीको अन्तिम नामावली प्रकाशित हुने आयोगको कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्