Logo

जमिनमा मोबाइल नेट्‍वर्क नटिपेपछि रुखमा चढे मन्त्री

नेपालमा अझै धेरै गाउँमा मोबाइल नेट्वर्क राम्ररी टिप्दैन । यहाँ पनि मानिसले रुखमा, घरको छतमा चढेर मोबाइल नेट्वर्क टिपाउन खोजेको समाचार पढेका छौँ, तस्बिर हेरेका छौँ ।

भारतमा भने एकजना केन्द्रीय मन्त्री नै मोबाइल नेट्वर्क नटिपेपछि रुखमा चढेका छन् । राजस्थानको बीकानेरस्थित धोलिया गाउँमा पुगेका केन्द्रीय मन्त्री अर्जुन राम मेघवालले मोबाइल नेट्वर्क टिपाउन रुख नै चढ्नु परेको छ । 

भारतका कयौँ शहर तथा गावउँमा मोबाइल नेटवर्कलाई लिएर मानिसहरु हैरान हुँदै आएका छन् । फोन आएपछि उपभोक्तालाई पटक पटक यता र उत दौडिरहनुपर्छ । 

भारतमा मानिसहरु फोन आएपछि आँगन, सडक र र नेटवर्क आउने ठाउँको खोजीमा भौतारिइरहन्छन् । भारतमै केन्द्री वित्त तथार कर्पोरेट मामिलाका राज्य मन्त्री अर्जुन राम मेघवालले मोबाइल नेट्वर्क खोज्दै रुखमा चढेको तस्बिर अहिले भाइरल भएको छ।

आइतवार अर्जुन राम मेघवाल आफ्नो संसदीय क्षेत्र बिकानेरमा श्रीडून्गरगढस्थित धोलिया गाउँ गएका थिए । जहाँ उनलाई गाउँलेले त्यहाँका समस्याबारेमा अवगत गराइरहेका थिए । गाउँलेले आफूहरुका समस्याबारे जिल्लाका अधिकारीले कुनै वास्ता नगरेको गुनासो गरेका थिए । 

गाउँलेको समस्या सुनेपछि केन्द्रीय मन्त्री अर्जुन राम मेघवालले उनीहरुकै सामुन्ने सम्बन्धित अधिकारीलाई फोनमा कुरा गर्न कोशिश गरे तर राम्ररी मोबाइल नेट्वर्क आइरहेको थिएन । 

गाउँलेले उनलाई गाउँमा मोबाइल नेटवर्क पनि सजिलै नमिल्ने र त्यसका लागि घरको छतमा चढ्नुपर्न सुझाएका थिए । 

त्यसपछि मन्त्रीका लागि मोबाइल नेट्वर्क टिपाउन रुदमा भर्‍याङ लगाइयो अनि उनले प्रमुख मेडिकल अधिकृतलाई फोनबाट निर्देशन दिँदै भोलिबाटै गाउँमा नर्स सेन्टर बनाउन निर्देशन दिए । 

बिकानेरको श्री डून्गरगढ निवासी सुशील आसोपाले बीबीसीलाई बताए अनुसार यो क्षेत्र बिकानेर मुख्यालयबाट ७० किलोमिटर टाढा रहेको छ । र, यहाँ मोबाइलको खराब नेट्वर्कको समस्याले गाउँले दिक्क छन् । 

“भुइँमा त नेट्वर्क टिप्दै टिप्दैन”, उनले भनेका छन्, ”राम्ररी कुरा गर्न हामीले छतमै पुग्नुपर्ने बाध्यता छ ।’ यसैकारण मन्त्री मेघावल फोनमा कुरा गर्न रुखमा चढ्नुलाई त्यहाँका गाउँलेले कुनै आश्चर्यकारुपमा लिएका छैनन् । 

मोबाइलमा बोल्न आफैँ रुखमा चढ्नुपरेपछि मन्त्री मेघावलले गाउँलेलाई अबको तीन महिनामा मोबाइल टावर निर्माण गर्ने आश्वासन दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्