सार्वजनिक गाडीमा ‘फोहोर मलाई’ अनिवार्य «

सार्वजनिक गाडीमा ‘फोहोर मलाई’ अनिवार्य

जुम्लामा छोटो दूरीमा चल्ने साना तथा ठूलो दूरीका गाडीमा ‘फोहोर मलाई’ डस्टबिनको व्यवस्था अनिवार्य गरिएको छ । जुम्ला बसपाकदेखि नाग्म र नाग्म हुँदै सिंजासम्म चल्ने गाडी, जिपमा डस्टबिनको व्यवस्था गरिएको हो । आरामदायी यात्राका लागि सफा गाडि अभियानका साथ प्रत्येक गाडीमा फोहोर मलाई राखिएको छ । सुन्दर, व्यवस्थित र स्वच्छ जुम्ला बनाउने अभियानअन्तर्गत गाडिमा ‘फोहोर मलाई’ को व्यवस्था गरिएको जिल्ला ट्राफिक कार्यालय जुम्लाले जनाएको छ ।
१० वटा साना तथा ठूला सवारीमा डस्टबिन राखिएको छ । सवारी चड्दा यात्रुलाई व्यवस्थित र फोहोररहित यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । कार्यालय प्रमुख माधव रावतका अनुसार साना गाडिमा डटस्बिन राखिएको छ । ठूला तथा लामो दूरीका सवारी साधनमा अनिवार्य डस्टबिन राख्नका लागि बस मालिक तथा ड्राइभरलाई निर्देशन दिइसकेको उनको भनाइ छ ।
निर्देशनको पालना नगरे सवारीलाई कारबाही समेत हुनेछ । उनले भने, “ठूला बसमा पनि छिट्टै डस्टबिनको व्यवस्था गरिएको छ । जिल्ला ट्राफिक कार्यालयको निर्देशनमा यातायात व्यवसायीले डस्टबिनको व्यवस्था आफैं गरेका छन् । यात्रुलाई यात्रामा सहजता र प्लास्टिकबाट हुने झन्झटबाट मुक्ति मिल्ने भएकाले यस्तो कार्यमा यातायात व्यवसायी नै उत्साहित देखिएका छन् ।
जुम्लामा अहिले तिला कर्णाली यातायात प्रालि र गो कर्णालीको मातहतमा सवारी सञ्चालनमा छन् । यस्तै साना व्यवसायमा झण्डै ६० वटा अटो रिक्सा चन्दननाथ नगरपालिका क्षेत्रमा सञ्चलनमा छन् । जुम्लामा सवारीमा रहेका बेथिति अन्त्यका लागि सक्रियताका साथ काम गर्दै आएको ट्राफिक प्रहरीले यातायातका क्षेत्रमा सुधारका कार्यक्रम अघि सारेको छ । ट्राफिक प्रहरीको यस्तो सकारात्मक कदमको जुम्लावासीले स्वागत गरेका छन् भने यातायात व्यवसायी पनि उत्साहित भएका छन् । ट्राफिक प्रहरीले यसको अगुवाइ गरेपछि सबै राख्न बाध्य भएको चालक उद्धभ बस्नेतले बताए । उनले भने, “यातायातका क्षेत्र ट्राफिक प्रहरीले नमुना गर्न खोज्दै छ । यात्रुलाई सहज सफा हुने कुरामा चालक, यातायात व्यवसायी, ट्राफिक प्रहरी लागेर यातायात क्षेत्रको विश्वसनियता बढाउनु पर्नेमा उनले जोड दिए । सोमबारदेखि जुम्लाका सबै छोटा दूरीका साना ठूला सवारीमा राखिएको छ भने लामो दूरीका काठमाडांै, नेपालगन्ज र सुर्खेतका लागि गुड्ने सवारीलाई पनि राख्न पत्रचार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्