जिल्लामै पहिलो पटक टर्की पालन

डडेल्धुरा- युवाको लहर विदेशतिर बढिरहेका बेला डडेल्धुका एक युवाले भने गाउँमै नयाँ कामको थालनी गरेका छन् । अमरगढी नगरपालिका मोरोडाका सुरेश भण्डारीले जिल्लामै पहिलो पटक टर्की जातको पन्छी पालन गरेका हुन् । गाउँमै बसेर सिर्जनशील काम गर्ने सोच राखेका भण्डारीले डेढ वर्षअघि धनगढीबाट १५० वटा चल्ला ल्याएर टर्की पाल्न सुरु गरेका हुन् ।
एक वर्षयता २ लाख रुपैयाँभन्दा बढीको टर्की र चल्ला बिक्री गरेको उनले बताए । भर्खर जन्मेको टर्कीको चल्लाको मूल्य ३ सयदेखि ४ सय रुपैयाँ तथा एक महिना पाल्दा १ हजार ५ सय रुपैयाँ पर्छ । चार महिनामा चल्ला दिन सुरु गर्ने टर्की ६ देखि ९ महिनासम्म मासु खानका लागि उपयुक्त हुन्छ ।
भाले टर्की १२ देखि १३ किलोग्राम तथा पोथी सातदेखि आठ किलोग्राम तौलको हुन्छ । एक किलो टर्कीको मासुको मूल्य ८ सय रुपैयाँ पर्छ । यतिखेर भण्डारी नमुना कृषकका रूपमा चिनिन थालेका छन् । सञ्चारमाध्यम र इन्टरनेटको माध्यमबाट टर्कीपालनसम्बन्धी जानकारी पाएपछि उहाँ यसतर्फ आकर्षित भएका हुन् । १ सय ५० वटा चल्ला ल्याएर केही बिक्री गरेका छन् भने केही बचत रहेको सुरेशबहादुर भण्डारीले बताए ।
अण्डा उत्पादनका लागि ५० लेयर्स जातका कुखुरा पालन गर्दै आएका भण्डारीले टर्कीको संख्या बढाउने र लोपोन्मुख स्थानीय साकिनी, घाँटीखुइले र उल्टे जातका कुखुरापालन गर्ने योजना बनाएका छन् ।
एक वर्षमा पूर्णरूपले तयार हुने पन्छी टर्कीलाई कुखुरालाई जस्तै दाना र हरियो घाँसको आहारा ख्वाउने गर्छन् । उच्च रक्तचाप, मधुमेह, एसिडजस्ता रोगका बिरामीलाई टर्कीको मासु उत्तम मानिन्छ । टर्कीको मासुमा चिल्लो तथा बोसोको मात्रा कम हुने हुँदा यसको मासुको माग बढिरहेको छ ।