मोबाइल एप्सले सूचना सहज «

मोबाइल एप्सले सूचना सहज

स्थानीय तहका योजना, कार्यविधि, गतिविधि, योजनाको सम्झौता र फस्र्यौट गर्दा आवश्यक पर्ने कागजातका बारेमा पनि एप्सबाट जानकारी पाउन सकिन्छ ।

गुल्मी-मोबाइलमार्फत हरेक जानकारी पाउन सकिने भएपछि गुल्मीका स्थानीय तह मोबाइल एप्लिकेसनतर्फ आकर्षित भएका छन् । २ नगरपालिका र १० गाँउपालिका रहेको गुल्मीका करिब आधा स्थानीय तहले मोबाइल एप्लिकेसन बनाइसकेका छन् ।
स्थानीय तहका महत्वपूर्ण सूचना सहज र सरल रूपमा नागरिकले मोबाइल एप्सबाट थाहा पाउँछन् । जिल्लाको रेसुंगा नगरपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । नगरपालिकाले माघदेखि मोबाइल एप्स सञ्चालनमा ल्याएको हो । एप्सबाट सर्वसाधारणले पनि घरमै बसेर स्थानीय तहका बारेमा कुनै पनि सूचना प्राप्त गर्न सक्ने रेसुंगा नगरपालिकाका सूचनाप्रविधि अधिकृत तपन पाण्डेले बताए । सूचना प्रविधि विभागको समन्वयमा निर्माण भएका एप्स गुगल प्ले स्टोरमा गई डाउनलोड गरी हेर्न सकिने पाण्डेले बताए ।
मलिका गाउँपालिका, धुर्कोट, मदाने र रुरुलगायतका गाउँपालिकाले पनि मोबाइल एप्स सञ्चालनमा ल्याएका छन् । स्थानीय तहका योजना, कार्यविधि, गतिविधि, योजनाको सम्झौता र फस्र्यौट गर्दा आवश्यक पर्ने कागजातका बारेमा पनि एप्सबाट जानकारी पाउन सकिन्छ । स्थानीय तहबाट प्रदान गरिने सेवा, कार्यक्रम तथा परियोजना, विभिन्न सूचना तथा जानकारी, सुझाव, गुनासा, समस्या दर्ता, वडाको विवरण, नागरिक वडापत्रलगायतका महत्वपूर्ण जानकारी तथा आपतकालीन फोन नम्बरलगायतका कुरा मोबाइल एप्समा हुने धुर्कोट गाउँपालिकाका सूचनाप्रविधि अधिकृत देवराज आचार्यले बताए ।
मुसिकोट नगरपालिकाले पनि यसै महिनाको अन्तिमसम्ममा मोबाइल एप्स सार्वजनिक गर्दैछ । घरमै बसी नगरपालिकाका सम्पूर्ण जानकारी सहज रूपमा पाउन सकिने भएका कारण जनतालाई सहज रूपमा सूचना पु-याउने उद्देश्यका साथ मोबाइल एप्स सार्वजनिक गर्न लागिएको नगरपालिकाका सूचनाप्रविधि शाखा प्रमुख समुद्रविक्रम रायमाझीले जानकारी दिए । गुल्मीदरबार गाउँपालिकाले पनि मोबाइल एप्स एक साताभित्रै सार्वजनिक गर्दैछ । केही दिनभित्रै पत्रकार सम्मेलन गरी मोबाइल एप्स सार्वजनिक गर्ने सूचना अधिकारी सुरेश खनालले जानकारी दिए । एप्स निर्माणको काम सबै सकिएको र केही प्राविधिक कुरा मिलाएपछि एप्स सार्वजनिक गर्ने उनले जानकारी दिए । इस्मा, छत्रकोट गाउँपालिकामा पनि मोबाइल एप्स सञ्चालन गर्ने तयारी छ । जसका लागि फारम भरेर केन्द्रमा पठाएको र त्यहाँबाट स्वीकृत भएर आएपछि एप्स सञ्चालनमा आउने छत्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले जानकारी दिए ।
पछिल्लो समय सबैका हात–हातमा मोबाइल फोन छ । नागरिकले सूचना समाचारहरू मिनेटमिनेटमा मोबाइलबाटै थाहा पाउन सक्ने भएका छन् । पछिल्लो समय प्रविधि क्षेत्रमा भएको विकासले गर्दा गाउँगाउँमा मोबाइल सेवा पुगेको छ । त्यतिमात्र होइन हरेकको घरघरमा इन्टरनेट जोडिएका छन् । नेपाल टेलिकम, एनसेललगायतले पनि इन्टरनेट सेवा चुस्त बनाएका कारण सबैले इन्टरनेटबाट सजिलै जानकारी पाउन सक्ने भएका हुन् । त्यसैले नागरिकलाई मोबाइल एप्सबारे जानकारी लिन पनि सहज भएको छ । “औपचारिक रूपबाट कुनै पनि जानकारी लिन खोज्दा समय बढी खर्चिन्छ ।” धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु घिमिरेले भने, “सबैको हात–हातमा मोबाइल फोन भएसँगै एप्स प्रयोगकर्ताको संख्या बढ्ने अनुमान छ ।”
गाउँपालिकाले गरेका गतिविधि, योजनालगायतका महत्वपूर्ण विषयवस्तु एप्समा समेटिएकाले नागरिकले सहज रूपमा सूचना प्राप्त गर्न सक्ने उनले बताए । त्यस्तै रुरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरिका अनुसार मोबाइल एप्सले स्थानीय तहमा सुशासन कायम गर्न सहयोग पुग्छ । गाउँपालिकाले गरेका काम तथा आगामी योजनासमेत समावेस गरिएकाले सर्वसाधारणले त्यसको अवलोकन गरी आवश्यक सुझावसमेत दिनसक्ने भएकाले बढी लाभदायक भएको उनले दाबी गरे । सजिलै जानकारी र सूचना पाउन सकिने भएको स्थानीय तह मोबाइल एप्सम आकर्षित भएका हुन् भने नागरिकले पनि एप्स डाउनलोड गर्ने र सूचना लिने क्रम बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्