१९९२ सेयर घोटाला अर्थात् हर्सद मेहेता— दि बिग बुल «

१९९२ सेयर घोटाला अर्थात् हर्सद मेहेता— दि बिग बुल

बम्बे स्टक एक्सचेन्जको हर्सद मेहेता— बिग बुल नै अहिलेसम्मको सबैभन्दा ठूलो घोटाला हो ।

१९९१ सम्म आइपुग्दा हर्सद पब्लिकका लागि हिरो भइसकेका थिए, मिडियाले बिग बुल, सेयर बजारको अमिताभ बच्चन भनेर उनको गुणगान गाउन थालेको थियो ।

भारतमा १९९२ साललाई सेयर बजारका लागि कालो वर्षका रूपमा सम्झिने गरिन्छ । १९९२ भन्नेबित्तिकै काण्डकारी हर्सद मेहेताको नाम सबैले सम्झन्छन् । हर्सदले आफ्नो तीक्ष्ण दिमाग प्रयोग गरेर अकुत सम्पत्ति पनि कमाए र गुमाए पनि । भारतमा यो पहिलो सेयर घोटाला काण्ड थियो, जहाँ झन्डै ४ हजार करोडको घोटाला भएको थियो । मुख्य खेलाडी हर्सद थिए, तिनको पछाडि अरू खेलाडी पनि थिए, कतिपयले त्यो काण्डबाट राम्रै तर मारे र अहिले बम्बे स्टक एक्स्चेन्जमा किङ, मास्टर, खेलाडीजस्ता उपनाम पाएर सेयर कारोबार गरिराख्या छन् । करिब २६ वर्षअघिको यो काण्डको भण्डाफोर टाइम्स अफ इन्डियाकी वरिष्ठ पत्रकार सुचेता दलालले गरेकी थिइन् ।

को हुन् हर्सद मेहेता ?
हर्सद मेहेता भारतको राजकोटमा १९५४ मा जन्मेका थिए, उनका पिता मुम्बईमा एक कार्यालयमा पियनका रूपमा काम गर्थे । हर्सदले स्कुल र विश्वविद्यालयको शिक्षा मुम्बईबाट लिए । निकै सामान्य परिवार भएको हुँदा हर्सदलाई जागिर गर्नुपर्ने बाध्यता थियो, उनले आफ्नो कारियरको सुरुवात न्यू इन्डिया इन्स्युरेन्स कम्पनी लिमिटेडबाट गरेका थिए । उनले त्यहाँ जागिर छोडेर एउटा सेयर बजार दलाल कम्पनीमा जागिर गर्न थाले, उनले त्यहाँ सेयरबारे बुझेपछि बजारप्रति आकर्षित हुन थाले र ब्रोकर कम्पनीमा १० वर्ष काम गरे ।

हर्सदको रातो कार्पेट
हर्सदले १९८४ मा हर्सदले सेयर ब्रोकर लाइसेन्स लिलाम बढाबढ हुँदा प्राप्त गरे, अनि आफ्नै ब्रोकर कम्पनी ग्रो मोर रिसर्च एन्ड एयासेस्ट्स म्यानेजमेन्टमार्फत ट्रेडिङ गर्न थाले । त्यो बेला सेयर बजारमा कानुनी छिद्र धेरै थिए र हर्सदजस्तै अरू ब्रोकरलाई धेरै कुरो थाहा थियो । आफ्नो पालाको उनी नामी ब्रोकर भए र सानादेखि ठूलाले अब हर्सदले कहाँ पैसा लगाउँछ त्यहीँ पैसा लगाउने भन्ने खालको वातावरण थियो ।
१९९१ सम्म आइपुग्दा हर्सद पब्लिकका लागि हिरो भइसकेका थिए, मिडियाले बिग बुल, सेयर बजारको अमिताभ बच्चन भनेर उनको गुणगान गाउन थालेको थियो । ख्याति धेरै भएपछि हर्सदलाई विश्वाश नगर्ने र उनले भनेको सेयर खरिद नगर्ने कोही भएनन् । यतिसम्म भनिन्थ्यो, घोटाला पर्दाफास हुनुअघिसम्म हर्सदले जुन सेयर खरिद गर्थे, एकछिन आँखा चिम्म गरेर खोल्दासम्म नाफा भइसक्या हुन्थ्यो । त्यो बेला उनको जीवनस्तर धेरैका लागि एकादेशको सपनाजस्तो थियो— मुम्बईको सबैभन्दा महँगो ठाउँमा घर, नयाँ मोडलका गाडीहरू, ठूला लगानीकर्ताहरूको रोजाइको ब्रोकर कम्पनी ।

पैसा हेरफेर र घोटाला
त्यो बेला इन्डियन बैंकहरूले अनिवार्य रूपमा सरकारी बान्ड खरिद गर्नुपर्ने बाध्यकारी नियम थियो । कथम्कदाचित बैंकहरूलाई तरलताको समस्या प-यो भने त्यो बन्ड बेचेर भए पनि तरलता व्यवस्थापना होस् भन्ने हेतुले किन्न पर्ने हुन्थ्यो । यो कुरा हर्सदलाई थाहा नहुने कुरै भएन, उनी बजारमा ठूलो मात्रामा पैसा लगानी गरेर बढीभन्दा बढी नाफा आर्जन गर्न चाहन्थे । त्यसका लागि उनले साना बैंकहरूलाई हतियार बनाए । कुनै बैंकलाई अल्पकालीन कोष व्यवस्थापन गर्नुप-यो भने ब्रोकरमार्फत उनीहरूले अर्को बैंकको पैसा पाउँथे र त्यो अवधि १५ दिनसम्मको हुन्थ्यो ।
पैसा दिने बैंकले लिने बैंकको सरकारी बन्ड ग्यारेन्टीका रूपमा राख्थे, पछि पैसा लिएको बैंकले त्यो बन्ड १५ दिनभित्र फेरि खरिद गर्थे, वास्तवमा त्यो बन्ड खरिद गरेको भए पनि बन्ड धितोका रूपमा प्रयोग गरिएको थियो । अब हर्सदलाई आफ्नो ख्यातिको फाइदा लिएर कुनै दुई–तीनवटा बैंकलाई फसाएर बैंकको पैसा आफूले सीधै बजारमा लगानी गरेर अकुत नाफा कमाउनु थियो । त्यो बेलासम्म बैंकले सिधै सेयर बजारमा लगानी गर्न नपाउने नियम थियो ।
हर्सदले बैंक अफ कराड र मुम्बई मर्केन्टाइलको अप्रेटिभ बैंकलाई धेरै मुनाफा र ब्याजको लोभ देखाएर बैंकको चेकजति सिधै हर्सदको नाममा खिच्न थाले, त्यसरी आएको रकम हर्सदले सेयर बजारमा अल्पकालीन लगानी गर्दै नाफा बुक गर्दै बैंकको पैसा फिर्ता गर्न थाले । बैंकहरूलाई पनि उनीप्रति विश्वास हुँदै गयो, उनले पैसा पाउँदै गए ।
घोटालाको सुरुवात कसरी भयो भन्दा सरकारी बन्डबराबरको एउटा प्रमाणपत्र बैंकले ब्रोकरमार्फत दिने गर्छ, त्यसलाई बैंक रिसिप्ट भन्ने गरिन्थ्यो । त्यो प्रमाणपत्र भनेको सरकारी ऋण पत्र वा बन्डको ग्यारेन्टी भएको भनेर बुझिन्थ्यो र बेचेको बैंकलाई खरिद गरेको बैंकले रकम फिर्ता गर्न सकेन भने त्यही बैंक रिसिप्टमार्फत आफ्नो पैसा असुली गर्थे । हर्सदले त्यही कुराको फाइदा उठाएर नक्कली बैंक रिसिप्ट बनाएर जारी गर्दै पैसा लिन थाले, उनले पनि समय सकिनुअघि सेयर बेचेर बैंकको पैसा फिर्ता गर्दै गए । यो क्रम धेरै लामो समयसम्म चल्यो । यसरी चल्दै गर्दा नक्कली बैंक रिसिप्टमार्फत १ हजार ५ सय करोड रकम उनले बैंकमार्फत लगानी गरेका थिए । यो कुरो बैंकले पनि मेसो पाएन, सर्वसाधारणले पाउने कुरै भएन । जब पोल खोल्यो, हर्सदले जारी गरेका बैंक रिसिप्ट सबै नक्कली भन्ने थाहा भयो, त्यो सिवाय एउटा कागजको टुक्राबाहेक केही थिएन ।
यो फर्जी कार्य र अप्राकृतिक रूपमा बढेको बम्बे स्टक एक्स्चेन्जबारे टाइम्स अफ इन्डियाकी पत्रकार सुचेता दलालले पर्दाफास गरिन् र केही दिनमै बम्बे स्टक एक्सचेन्ज धराशायी भयो । बजार पूरै दुई वर्षसम्म झरेको झ-यै गयो, सम्हालिन सकेन । १ हजार इन्डेक्स भएको बजार हर्सद एक्लैले ४ हजार ५ सयसम्म पु-याइदिए । धेरैले आफ्नो बचत गुमाए र ऋण गरेर सेयरमा लगानी गरेकाले आत्महत्या पनि गरे । बजारबाट ४ हजार करोडबराबरको सम्पत्ति धूवाँजस्तै हरायो । मेहेतालाई ७२ वटा आपराधिक मुद्दा र ६ सयवटा देव्यानी मुद्दा लागेको थियो, आजीवन सेयर कारोबार गर्न प्रतिबन्धसहित मुद्दा चल्यो । सन् २००१ मा मेहेताको हर्ट अट्याकका कारण ४७ वर्षको उमेरमा मृत्यु भयो । त्यो बेलासम्म सेयर बजारमा पनि नियामक निकाय चाहिन्छ भन्ने कसैलाई लागेको थिएन, बजार पूरै ब्रोकरको नियन्त्रमा थियो, त्यो घोटालापछि मात्र नेपालको धितोपत्र बोर्ड भनेजस्तो ‘भारतीय प्रतिभूति और विनिमय बोर्ड’, जसलाई अग्रेजीमा ‘स्क्युरिटिज बोर्ड अफ इन्डिया’ भनिन्छ, अर्थात् छोटकरीमा ‘सेबी’ गठन भयो । बम्बे स्टक एक्सचेन्जको हर्सद मेहेता— बिग बुल नै अहिलेसम्मको सबैभन्दा ठूलो घोटाला हो ।

प्रतिक्रिया दिनुहोस्