मेरो देश, मेरै उत्पादनको लोगो राष्ट्रपतिलाई हस्तान्तरण «

मेरो देश, मेरै उत्पादनको लोगो राष्ट्रपतिलाई हस्तान्तरण

विराटनगर-मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले प्रारम्भ गरेको मेरो देश, मेरै उत्पादनको अभियानअन्तर्गत तयार पारेको निमोनिक लोगो फ्रेम र प्रतिवद्धतापत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेको छ ।
स्वदेशी वस्तुहरुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर बनाउँदै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पु-याउने लक्ष्य लिई दुवै संस्थाले अभियान सञ्चालन गरेका छन् । सो अवसरमा राष्ट्रपति भण्डारीले प्रत्येक वर्ष मुलुकको व्यापार घाटा वृद्धि हुने क्रममा रहेको सन्दर्भमा मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले स्वदेशी उद्योग तथा वस्तुको बजार प्रवद्र्धनका लागि सञ्चालनमा ल्याएको यस अभियानमा आफ्नो पूर्ण साथ, सहयोग र समर्थन रहेको बताएको भेटमा सहभागी उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए ।
उनले अभियानमा ठूला उद्योगहरुका साथै स–साना स्तरमा सञ्चालनमा रही वस्तु उत्पादन गर्दै राष्ट्रिय अर्थतन्त्रमा सहयोग पु-याउँदै आएका कुटिर, लघु, घरेलु तथा साना एवं महिला उद्यमीहरुको उत्पादनलाई समेत समेटी देश व्यापीरुपमा यस अभियानलाई सार्थक तुल्याउनुपर्ने सुझाव दिएकी थिइन् ।
सो अवसरमा संगठनका अध्यक्ष प्याकुरेल, निवर्तमान अध्यक्ष भीम घिमिरे, संघका निवर्तमान अध्यक्ष पवन शारडा, संगठनका पूर्वअध्यक्ष किशोर प्रधान, संघका पूर्व अध्यक्ष महेश जाजु, संगठनका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका, संघका वरिष्ठ उपाध्यक्ष नविन रिजाल, संगठनका उपाध्यक्ष राजकुमार गोल्छा, नन्दकिशोर राठी, भोलेश्वर दुलाल र संघका उपाध्यक्ष अनुपम राठीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्